sabita sapkota. Powered by Blogger.
नाकाबन्दीको यात्रा र डबल भाडा


जीवनमा बोल्न जति सहज हुन्छ, व्यवहारमा लागु गर्न निकै कठिन हुँदोरहेछ । बाध्यताले डो¥याउँदा त्यसको डोरी चुडाउन नसकिने रहेछ । साथीहरुले डबल भाडा तिरेर आए भन्दा म उनीहरुलाई गाली गर्दथेँ तर आजा आफैँ डबल भाडा तिरेर यात्रा गर्ने बाध्य भएँ । बाध्यता थियो, परिस्थितिले निम्त्याएको अवस्था थियो ।

कलेजबाट प्राक्टिकल छिट्टै हुन्छ भन्ने सूचना आएको थियो । घर जान पाउने आशामा प्राक्टिकलका केही काम छिटो सकेकी थिएँ । राजधानीमा हुने भिडभाड र त्यहीँमाथि नाकाबन्दीले दिएको सास्तीले कहिले घर जाउँ जस्तो भएको थियो । प्राक्टिकल बुझाउने भन्दा अघिल्लो दिनमै सामान प्याक गरिसकेका थियौँ । सालेी त झन जाँच सकिएको दिनमै प्याकिङ गरिसकेकी थिइन् । मनमा छुट्टै उत्साह थियो । घर जान पाइन्छ भनेर मन फुरुङ्ग थियो ।

कलेजमा प्राक्टिकल बुझाएर आएपछि प्याकिङ गरेको झोला बोकेर हामी लगनखेल गयौँ । कुपन्डोलदेखि नयाँ बसपार्कसम्म बस लाग्थ्यो तरपनि कलंकी गए छिटो जान पाइन्छ भनेर त्यता हानियौँ । कलंकीमा धेरै गाडी पेट्रोल पाउने आशामा लस्करै लाइनमा बसेका थिए । हिँड्न लागेको बस त एउटा पनि थिएन । सधैँ कता जानुहुन्छ भन्दै झोला तान्नेहरु एकजना पनि थिएनन् ।

 अरु समयमा त्यो बाटो हिँड्दा समेत कोही चितवन जाने हो भन्दै झोला तान्थे भने कोही पोखरा जाने हो भन्दै तान्ने गर्दथे । केही मानिस झोला बोकेर यता उता गर्दै थिए । एकछिन हामी त्यहीँ उभियौँ, बल्लतल्ल एउटा बस आयो । पुरै प्याक । केही मानिस ट्रकमै चढेर यात्रा गरिरहेका थिए ।

कलंकीदेखि बस नपाइने प्रष्ट भयो र हामी माइक्रो चढेर बसपार्क गयौँ । बसपार्कमा पनि हिँड्न लागेको बस थिएन । साथीलाई ब्याग हेर्ने आग्रह गरी टिकट काउन्टर गएँ । त्यहाँ पनि पोखराको लागि कुनै टिकट बाँकी थिएन । त्यसपछि हामी बसपार्क बाहिर आयौँ । एउटा माइक्रो छुट्न लागेको थियो । प्याक थियो । घर जान आतुर भएको यो मनको आशा पातलो भइसकेको थियो । कन्डक्टरले एउटा लास्ट सिटमा बसेको मानिसलाई मुडामा राखेर हामीलाई सिट मिलाइदिने प्रस्ताव राख्यो । एक जनाको सिटमा हामी पातला भएकाले दुइजना नै अट्यौँ । आफू पातलो भएकोमा दुःख लाग्ने यो मनलाई त्यो दिन रमाइलो लाग्यो ।

जीवनमा पहिलो पटक पातलो भएका मानिसहरुको फाइदा भेटेँ र आफूले आफैँलाई पातलो भएकामा धन्यवाद व्यक्त गरेँ । बसमा चढ्न नपाउदै कन्डकटरले भाडा उठाउन थाल्यो । सबैले हजारका नोट निकालेर दिन थाले । ल बहिनीहरु हजार हजार निकाल भने । डबल भाडा दिउँ या नदिउँ मन दोधार भयो । हामी त डबल भाडा दिन्नौँ भनेको त, दिने भए दिनुस् नत्र बसबाट झर्नुस भनेर कन्डक्टर करायो । हामी आफनो पर्सबाट हजार हजार निकालेर दिन बाध्य भयौँ । 

एकमनले झरेर भोलि जाउँ जस्तो भएको थिएँ अर्को मनले घर जान हतार गरिरहेको थियो । भोलि फेरि तेही डबल भाडाको बस पनि नपाइने हो कि जस्तो लाग्यो । बल्लबल्ल ४ दिन लाइनमा बसेर तेल हालेको भनेर कन्डक्टर गन्गनाउँदै थियो । डबल भाडा लिनेलाई कारबाही हुन्छ भन्ने त सुनेकी थिएँ । थाहा हुँदाहुँदै पनि केही गर्न सकिनँ ।



एकछिनसम्म मन खिन्न भयो । मनमा विविध प्रश्नको बाढी आउन थाल्यो । आज त पैसा भएर दिएँ, पैसा नभएको भए के गर्थेँ होला ? दुई छाक खान धौधौ पर्ने गरिबले के गर्छन् होला ? के उनीहरुले यात्रा नै नगर्ने ? आखिर नाकाबन्दी हुनुमा हाम्रो के दोष ? के डबल भाडा लिन माथिबाट नै नियम बनाइएको हो ? यि प्रश्नहरुको जवाफ खोज्न असफल छु । सबैको भाडा उठाइसकेपछि मात्र ड्राइभरले बस कुदाउन सुरु गरे । बस कहिँ पनि जाम नपरी सररररररररररर गुड्न थाल्यो । एकजना यात्रुले थानकोटको बाटो नेपालगन्जको जस्तै देखिएको छ भन्दै थिए ।

सधैँ माथिबाट एक दर्जन भन्दा बढी गाडी देखिने थानकोटको बाटोमा त्यो दिन एउटा गाडी पनि थिएन । जामको त के कुरा, बाटोमा बिरलै एउटा दुई वटा गाडी भेटिएको थियो । बसमा मानिस विविध कुरा गर्दै थिए । कोही छिमेकी राष्ट्रलाई गाली गर्दै थिए भने कोही हाम्रो देशका नेताहरुप्रति आक्रोश व्यक्त गर्दै थिए ।

चुपचाप उनीहरुको कुरा सुन्दै यात्रा गर्दै थिएँ । एकजना महिला भन्दै थिइन्, अब हामीले भारतको केही चिज पनि प्रयोग गर्नु हुँदैन, अब हामी आफैँ आत्मनिर्भर बन्नुपर्दछ । के उनले भनेजस्तै सहज छ, आत्मानिर्भर बन्न ? के नेपाल भारतबिना नै बाँच्न सक्छ ? 

एउटा सियोसमेत बन्न नसक्ने देश, खोई कहिले आत्मानिर्भर बन्ला ? अर्को महिलाले थपिन् । यस्तै कुरा सुन्दै र अरुलाई दोषारोपण गर्ने नेपालीको प्रवृति औल्याउँदै हामी पोखरा आइपुगेका थियौँ । सिटमा असहज भए पनि मानिसहरुका विविध कुराकानीले सहज महसुस भएको थियो ।