sabita sapkota. Powered by Blogger.
नारीले खेप्ने यो यातना पुरुषले खेप्नुपर्याे भने के होला ?



एकातिर च्या च्या गर्दै रोईरहेकी छोरी अनि जाड खाएर आएका श्रीमान । जाडको सुरमा बाझेर के के भन्दै थिए । पुरुषमा हुने आडम्बर र सानैदेखि समाजले पहिरिदिएको सम्पत्तिको मालिक हुँ भन्ने आशयले चिच्याईरहेका थिए ।
 उनी दिउँसै रक्सी पिएर रमिता देखाउँछन् । खाए तेरो बाउको खाए मैले कमाएको पैसामा रक्सी खाए । यस्तै यस्तै भन्दै थिए ति पुरुष । १,२ वर्ष विदेश बसेर २,४ लाख कमाएको उडाउँदै थिए रक्सी अनि चुरोटमा । मेरो आपति उनले पिएको कोदोको झोलमा होईन् । 

उनकी श्रीमतिले पाएको कष्टमा हो । स्नातक तेस्रो वर्षको परिक्षा दिएपछि उनको बिहे भयो । बिहे पहिले एउटा स्कुलमा पढाउँथिन । ३ विषयमा लागेको ब्याक गर्भमा बच्चा हुनाले दिन पाइनन् । जागिर पनि बिहेपछि छोड्ने हुकुम आयो श्रीमानको । 

आफन्तीले केटो असल छ , जाड ,रक्सी केही खादैँन भनेर भिडाए । बाबुआमा सानैमा बितेका टुहुरो केटो हो राम्रोसँग घर गरी खाएस भनेर लगन गाठो बाधिदिए । या भनौ आफन्तीले झुट बोलेर जहडिया पोई भिराए ।  यो दृश्य मेरो घरको झ्यालबाट देखिने पल्लो घरको हो । सयौँ नेपाली समाजको घरको झ्यालबाट यस्तै दृश्यहरु देखिन्छन् । जहाँ श्रीमान रक्सी पिएर आउँछ , श्रीमतीले यातना खेप्नुपर्छ ।

यो दृशय देखिरहँदा मेरो मनमा अर्काे दृश्य घुम्न थाल्यो । आफ्नो माईतीलाई त्यागेर सर्वस्व सुम्पी आएकी नारीले खेप्ने यो यातना पुरुषले खेप्नुपर्याे भने के होला ? के हाम्रो समाजमा यस्तो यातना खेपेर बसेका पुरुष छन् ? छन् भने तपाई पनि कलम चलाउनु होला । 

श्रीमानको सट्टा श्रीमतीले रक्सी खाएर आई नानाथरी होच्याउने र सुन्नै लाज लाग्ने शब्द बोले के होला ?के यो समाजले उनलाई स्वकार्ला ? यो दृश्य कल्पना पनि गर्न सक्दैनन् पुरुषहरु । त्यसैले त जे गर्छु आफूले मात्र गर्न सक्छु भन्ने तरिकाले होच्याउछन् नारीलाई, आफ्नी श्रीमतीलाई , दिदिलाई अनि बहिनीलाई ।

उसलाई छोडेर अर्काे बिहे गर्दा पनि यो समाजले घर खान नसकेर अर्काे खोजेर गइ भन्छ । साथमा रहेकी छोरीको चिन्ता पनि उनलाई छ । २ पटक सुधार गृहमा राख्दा समेत उसको रक्सी पिउने बानी सुधरेको छैन् ।
टोल समाजका मान्छे बसेर सम्झाउँदा पनि केही दिनपछि रक्सी पिउन सुरु गरिहाल्छ उ । कठैबरा! भाग्य पनि कस्तो रहेछ , छरछिमेकी नातागोता यस्तै बाएक केही भन्न र गर्न सक्दैनन् । एकदिन आउँछन् जाड खानेलाई सम्झाउँछन् तर दिनहुँ यातना खेप्ने त उनी हुन् । हेर्दा सामान्य लाग्ने तर समाजमा रहेका यस्ता दृश्यहरुले दमन , अत्याचार र पीडितकै वर्गमा राख्छ नारीलाई ।

नारी सक्षमता नै एउटै विकल्प होला कि । तर सक्षम हुदाँपनि बच्चा जन्माउने र हुर्काउने शारिरिक कष्ट नारीकै भागमा छ ।  बिहे गर्नुपूर्व गतिलो केटा छान्न पनि आवश्यक देखिन्छ यस्ता घटनाले । देखेकै भरमा बिहे गर्न भन्दा पनि केही समय बुझेर जीवनको सहयात्री छान्न पर्ने भयो । मन लागे सहजै अर्काेसँग विहे गर्न पाउने छुट पनि यो समाजले दिनुपर्छ । मन नपरेको खण्डमा श्रिमानलाई छोडेर एकल जीवन बाँच्ने क्षमता र आत्मनिर्भर बन्न निकै नै आवश्यक देखिन्छ ।