sabita sapkota. Powered by Blogger.
कुरा काटेरै दिन काट्न नपरोस्, लोग्नेको कमाइ थाप्न नपरोस् !




‘ओहो ! हेर त त्यो केटीको पारा । छोरी मान्छे भएर नी कपाल छाटेकी छे, तिघ्रा देखिने गरी छोटो कट्टु लगाएकी । हेर्न नी लाज लाग्ने । हाम्रो गाउँघरमा रोपाइँ गर्न जाँदा लाउँथे यस्ता कट्टु त ।’

‘यो पनि रोपाइँ गर्न जान आँटिछ क्यारे !’ ‘हा.हा.. के रोपाइँ गर्न हुन्थ्यो, जान लागी होला नी डेटिङ ।’

एक बिहान मेरो टोलको एउटा पसलमा बसेर एक हुल महिलाहरु यस्तै–यस्तै टिप्पणी गर्दै थिए । उनीहरुको दैनिकी नै यही हो । दिनदिनै भेला भएर यसरी नै कुरा काट्छन उनीहरु । बिहान–बेलुका खाना पकाउँछन्, छोराछोरी स्कुल पठाउँछन् अनि तासको खाल जमे झैँ जम्छन् । बिदेशबाट श्रीमानले कहिले पैसा पठाउला भन्दै दिन गनेर बस्छन् ।

जागिर गर्नका लागि उनीहरुसँग पढाइ छैन । कामको लागि शिप छैन । एकठाउँमा भेला भयो, अरुको कुरा काटी दिन बितायो । मेरो टोल मात्रै होइन, नेपालका गाउँ, सहर र हरेक कुना काप्चामा समस्या यही हो । ससाना महत्वहिन कुरामा गन्थन गरेरै दिन बिताउनु आम नेपाली महिलाको नियती नै बनेको छ ।

स्थानीय तहको निर्वाचन नजिकिँदै छ । निर्वाचनपछि महिलाहरुले धेरै अवसर प्राप्त गर्छन् भनेर ठाउँ ठाउँमा सुनेकी छु । स्थानीय तहमा महिलाको अनिवार्य उपस्थिति गरिएको छ ।

स्थानीय निकायको चुनावमा उठ्ने प्रमुख र उपप्रमुखमध्ये एक महिला अनिवार्य रूपमा हुनैपर्ने बाध्यकारी प्रावधान संसदले ल्याएको छ । घर धन्दामा मात्र सिमित यस्ता महिलाहरुले कस्तो अवसर पाउलान त ? तिनिहरुको अवस्था कसरी सुध्रिएला ? यो एउटा बहसको विषय बनेको छ ।

अर्थात् दिनभर गन्थन मन्थन गर्दै बस्ने महिलाहरु राज्यले उपलब्ध गराएको सुविधा लिन कहिले तयार हुने ?

साच्चैँ परिवर्तन होला त समाज ? कति महिला काम गर्ने चाहाना हुदाँहुदै पनि अवसरबाट बन्चित छन् । घरयासी काममा सिमित महिलाहरुको दिनचर्यामा केही परिवर्तन होस् भन्ने मेरो चाहाना हो ।

तर मनमा खुलदुली रहिरहन्छ । ठाउँठाउँमा शिपमुलक तालिम दिइएको होला । तर ति तालिमको बारेमा कति महिला सचेत छन् भन्ने कुरा पनि ध्यान गर्न जरुरी छ । गन्थन गररेरै दिन काट्ने महिलाहरुलाई ति तालिम लिनुपर्छ भन्ने जागरण कहिले आउने ?

खासगरी शिक्षित महिलाहरुले त्यस्ता महिलालाई सँगै अघि बढाउन सक्छन् भन्ने मेरो विश्वास हो । राज्यको दायित्वसँगै शिक्षित महिलाहरुले समाजका हरेक तहका महिलाको आर्थिक, सामाजिक स्तरलाई बढाउनुपर्छ ।

स्थानीय तहको निर्वाचनमा महिलाले पाएको अवसरको सही सदुपयोग होस् । घरमा दिन काट्न गाह्रो परिरहेकी मेरी आमा, काकी, ठूली आमा, हजुरआमा सबैले अवसर पाउन भन्ने मेरो चाहाना हो । पदमा पुगेपछि पहिलो ध्यानाकर्षण उनीहरुमा परोस् ।

साना–साना कुरामा टिप्पणी गरीबस्ने, ‘कसले छोटा लुगा लगायो’ ‘कुन युवतिको कससँग प्रेम बस्यो’ जस्ता कुरामा चिन्ता गरी बस्ने महिलाहरुको जीवनशैली र चिन्तनमा परिवर्तन आउनै पर्छ ।

कसैले ‘ति कुरौटे महिलामै समस्या छ ।’ भनी टिप्पणी गर्छन् । तर ति महिला पनि यही समाजका उत्पादन हुन् । तिनीहरुको चिन्तन निर्माण हुनुमा हाम्रै पुरुषसत्तात्मक समाज जिम्मेवार छ ।
महिलाहरु खुलेर राजनीतिक, सामाजिक बिषयमा बहस गर्नुपर्नेमा, फराकिलो उद्धेश्य बनाउनुपर्नेमा भान्सामै बाँधिनुपर्ने भयो । त्यसैले पनि साना र महत्वहिन कुरामा दैनिकी काट्नु पर्ने बाध्यता बन्यो ।

आशा गरौँ, स्थानीय तहमा महिलाको अनिवार्य उपस्थितिले केही स्तर बढाउला । आगामी दिनमा पनि अरुको कुरा काटेरै दिन काट्न नपरोस् । लोग्नेको कमाइमा २ हात थाप्न नपरोस् ।