sabita sapkota. Powered by Blogger.
इज्जतको ट्याग




श्रीमान के गर्नुहुन्छ ? साथमा रहेको छोरो देख्नासाथ सबैको पहिलो प्रश्न यहि नै हुन्छ । बिहे भएकी नारीको पहिचान र परिचय श्रीमानको नामसँग नै जोडेर हुने गर्छ । किन नारीको आफ्नै पहिचानले सम्बोधन गरिदैँन ? बिहे भएपछि पूर्ण रुपले श्रीमानकी कहलिन्छे नारी । आफ्नो थर समेत परिवर्तन गर्नुपर्छ । आफ्नो नामको पछाडि दुईटा थर झुन्ड्याउनु आवश्यक छ र ? तर आवश्यकता थान्छन् नेपाली समाजका जलकुम्भी झारहरु । बिहे गरेपछि अर्काे नागरिकताको आवश्यक पर्छ यहाँ ।

कठै! नारी आफ्नो पहिचान दिने नागरिकता समेत दुईपटक बनाउनुपर्छ । माईति घरको त्यागसँगै सर्वस्व त्याग गर्नुुपर्ने नारीको जीवन देखेर हरेक दिन कहाली लाग्छ । नारी भएकोमा गर्भभन्दा पनि पुरुषले पाएको अधिकार र पुरुषत्वमा ईष्या भावका फलामहरु उम्रिन्छन् । साचिनै हारेको जिन्दगी हो नारी जातिको । एउटा सानो गल्तिले इज्जत लुटिन्छ , तिरस्कार र बेईज्जतको खेती रोपिन्छ । सानै गल्तिमा पौडि खेल्न खोज्छन् आफन्त र यो समाजका वुद्दिजिवीहरु ।

उमेर परिपक्क थिएन , पढाई पनि त्यति धेरै कहाँ थियो र ? यो दिमाखले सहि गलत छुट्याउन कहाँ सक्थ्यो । को आफ्नो को बिरानो , सुर्यले सबैलाई राप दिएजस्तै थिए म पनि । सानो परिवार , खान , लगाउनको दुःख थिएन् । बाआमाले पढ्नलाई स्कुल पठाएकै थिए । बर्षको एकजोर कपडा भएपनि फाटेको कपडा लगाउनुपरेको थिएन् ।  खोई किन चन्चल भो मन? किन प्यारो लाग्यो पराईको साथ ? बाआमा पछि सम्म पनि भन्ने गर्नुहुन्थ्यो रे , मेरी छोरीलाई मोहनी लगाएर लग्यो त्यो मोराले , छोरी त सोजी थिई । हुन त कुन बाबु आमालाई आफ्नो सन्तान सोझो लाग्दैन र ? छुट्टाएर लाने कोसिस पनि गरेकै हुन् । तर स्थीर रहन सकेन मन । गाउँको मास्टर भएकोले सबैले पुज्ने गर्थे बालाई । छोरी पनि पढेर मास्टरनी बन्नुपर्छ भन्नुहुन्थ्यो सँधै ।

जातीय भेदभाव यथावत नै थियो । मास्टरकी छोरी कामीसँग भागी भन्थे रे सबैजना । नाक काटेर गहि भन्नुहुन्थ्यो रे हजुरबाबा । समाजको बहिष्कार , पराईको घर , सहज वातावरण कहाँ थियो र ।बाआमा पराई भएका थिए । बिचरी आमा साथिहरुसँग लुकाएर पैसा पठाउने गर्नुहुन्थ्यो  । आमाको मन न हो , छोरी जतिसुकै बिग्रिएर हिडेपनि माया त लाग्दो हो नि ।

तल्लो जात भनेर उनलाई हाम्रो घरमा पस्न निषेध थियो तर उनको घरमा सजिलै पस्न पाए म । खाना पकाउने अगेनो माथि भारमा राखेको भैसीँको मासु देख्दा घिन लाग्थ्यो । माईति छदाँ भैसीँको मासु चाखेकी  पनि थिईन । सुरुसुरुमा त मुखमा भैसीँको  मासु हाल्दा बोमिट होलाजस्तै हुन्थ्यो तर विस्तारै अभयस्त हुदैँ गए । आफैँले खनेको खाल्टोमा पुरिनु सिवाय अरु के नै विकल्प थियो र ?

आखिर म आफैँले रोजेको बाटो थियो । जस्तोसुकै परिस्थीती भएपनि म एक्लैले सामना गर्नुपथ्र्यो । पढाई छोडेर आफैँले निम्ताएको जीवनको ठूलो परीक्षा थियो । माईति फर्केर जानलाई ईज्जत लुटिएकी चेली थिए । अवश्य नै बाआमाले कामीको घरमा छिरेकी भनेर घरमा पस्न दिदैनथे । फर्केर जाने आटँका टुसाहरु नै पलाएका थिएनन् ।

भागेर बिहे गरेको  एकवर्षपश्चात श्रीमान खाडी मुलुकतिर आफ्नो भविष्य खोज्न हिडे । सँगै जीवन काटौला भनि गरेको बाचा , केबल बोलीमा सिमित रह्यो । जीवनको यात्रामा गरेका सबै बाचा पूरा नहुँदा रहेछन् । मायाको अंगालोमा सपना सजाउनु र वास्तवीक जीवनमा त्यो सपनालाई साकार रुप दिन सजिलो रहेनछ् । लाग्यो यो संसारमा आफ्नो भन्नु कोहि छैन । २ महिनाको छोरो काखमा छोडेर पैसा कमाउन उनी बिदेश होमीएका थिए ।

उनी बिदेश गएकोले त्यो घर सुन्य लाग्न थाल्यो । दिनहुँ बाआमा सम्झिन्थे । तर सम्झानाले के नै गर्याे र केबल यो मनमा पीडा दिएर फर्काेन्थ्यो , चोटको भारी बाधेर फर्काेन्थ्यो । दुई चार महिना लगातार पैसा पठाएका थिए । घर बस्न मन नलागेर सहरतिर डेरा लिएर बस्न थाले । गएको ६ महिना पच्चात उनी बेखबर भए । फोनको घण्टि बज्नासाथ  झस्किन्थे तर ति घण्टि अरुको नै हुन्थ्यो । धेरै दिन अनि रात उनकै यादमा बितेको थियो । बाआमा त्यागेर उनलाई नै सर्वस्व ठानेर आएकी थिए । उनी नै नभएपछि बाँच्ने आधार नै के रहयो र ।जीवनको यात्रालाई त्यहि बिट मारुजस्तो लाग्थ्यो । तर परालको गुन्द्रिमा बिच मारेजस्तो सजिलो थिएन जीवनको यात्रामा बिच मार्न । उनको नासो थियो , जसले बाँच्ने आशा थपिदिन्थ्यो ।

बिस्तारै हुर्कदै थियो उनको नासो  । घर सफा गर्ने काम गरेर भएपनि जीवीका निर्वाह गरेकै थिए । उनलाई खोज्ने प्रयास गरे । स्वदेशमा त हराएको मान्छे भेट्न कठिन हुन्छ उनी त धन कमाउन विदेश गएका थिए । धेरै पैसा कमाएर ठूलो घर बनाउने सपना लिएर जहाजमा उडेका थिए । अहिले त छोरो पनि चार कक्षामा पढ्ने भईसक्यो । छोरो साथमा देख्नासाथ सबैले सोध्छन् । श्रीमान के गर्नुहुन्छ ?

  खोई के जबाफ दिउ ? पैसा कमाउन विदेश गएका बेखबर छन् भनु कि यो धर्ताेमा नै छैनन् भनु , उत्तर आफैँसँग छैन । एकल महिला हुँ म अनि मेरो छोरो हो यो । कहिलेकाही यस्तै भनेर चिच्याउन मन लाग्छ । मेरो आफ्नै पहिचानले उसलाई चिनाउन मन लाग्छ तर बाउको नाम र कामलेनै उसको परिचय खोज्छन् सबै ।

त्यो उमेरको सानाो गल्ति अनि चन्चले सोचले परिवार, आफन्त र समाजदेखि ईज्जत लुटिएकी नारी कहलिएकी छु म । सहि गलत छुट्याउन नसक्नुले नै म अपमानित भए । पढ्ने उमेरमा राम्रोसँग पढेको भए सायद आज अरुको घरको काम गरेर दुई छाक जोहो गर्नुपर्दैनथ्यो ।

जब मानव सत्य (असत्य मार्गमा भिन्नता ठम्याउन सक्दैन,पीडा र दर्द्सिवाय केहि भेटिँदैन यात्रामा । सायद नीलम कार्काे निहारिकाले चीरहरणमा लेखेको यो वाक्य मेरै लागि हो जस्तो लाग्यो ।

हुनत अब अतिततर्फ कोल्टे फर्काेर स्वयम्लाई दुखी तुल्याउनु मात्र हो । अबको बाँकी जीवन एक्लै जिएर छोराको पहिचान बनाउनु छ । मेरो जस्तो गल्ति कसैले नगरोस भन्ने पाठ पढाउन मन छ । यो समाजबाट मैलेजस्तो अपमानित जीवन अरुले भोग्न नपरोस भन्ने मेरो कामना छ । मजस्तै उमेर नपुग्दै बिहे गर्ने सोच कसैको मनमा नपलाओस भन्ने शिक्षा मेरो जीवनबाट सबैले सिकुन भन्ने अपेक्षा छ । मैले भोगेको दुःख र तिरस्कारको जीवन अरु कसैले पनि भोग्न नपरनेस।