
कलेज ६ बजेदेखि सुरु भएपनि ४ः३० मै उठेर कलेज जाने तर्खर गर्नुपथ्र्यो । ढिला उठेको दिन कहिले एउटा आँखामा मात्र गाजल लगाउन भ्याउथेँ । कहिले लिपिष्टिक लगाउनै बिर्सन्थेँ, कहिले कपाल बाँध्ने लेबेन्टी नभेटेर हैरान हुन्थ्यो । घरदेखि कलेज टाढा भएको र एउटा बस छुटेपछि अर्काे नपाउने हुनाले सधै हतार हुन्थ्यो ।
काठमाडौँमा जस्तो छिनछिनमा बस पाइँदैन पोखरामा । एउटा स्टेसनमा बस नरोकी घरैपिच्छे रोक्ने हुनाले आधा घण्टाको बाटो पनि एक घण्टा लगाइदिन्छ । एउटा फाइदा छ, यहाँ काठमाडौँ जस्तो जाम भने हँुदैन ।
बिच बाटोबाट चढ्ने हुनाले बसमा सिट कहिल्यै पाइदैनथ्यो, काठमाडौंमा जस्तै ।
उ सधै सिटमा हुन्थ्यो । उ भएतिरै नजरहरु डुलाउँदै हुन्थेँ । भर्खर सुरु भएको कलेज लाइफ । कहिले बिहान होला र बस चढ्न पाउँला भन्ने लाग्थ्यो । उसलाई हेरेपछि छुट्टै आनन्द भेट्थेँ । प्यासीहरुले आफ्नो प्यास मेटाएजस्तै, महिनौँ दिन खाना खान नपाएर भेट्दाको खानाजस्तै । बसमा धेरै युवकहरु हुन्थे तर पनि उ केही विशेष लाग्थ्यो । उसकै काखमा बसौँजस्तै । कहिलेकाहीँ उसको साइडमा कोही केटी बसे भने मनमा जलन हुन्थ्यो । आफू पनि बस्न पाए भन्ने लाग्थ्यो । म उसलाई सधैँ हेर्दथेँ । तर उसले मतिर हेरेको कहिल्यै देखिनँ ।
म काली थिएँ, उ गोरो । मेरो मुखमा डन्डीफोरका दागहरु थिए । उसको मुख दुधले धोएजस्तो सफा, सेतो अनि मुलायम । मेरो कपाल गुन्द्रुके थियो, उसको सिधा स्ट्रेट । म कुर्ता सुरवाल लगाउँथे, सायद मिनी स्कट लाउनेतिर उ नजर डोर्याउँथ्यो ।
पढ्ने कलेज एउटै थिएन । सायद लेभल पनि फरक थियो । म धेरै बोलिरहने, हाँसिरहने चुलबुले खालकी थिएँ । उ मौन खालको अनुशासित देखिन्थ्यो । केबल एउटै थियो बिहान कलेज जाँदा चड्ने बस ।
सधैँ उसलाई हेरेर चित्त बुझाउँथे । उ को हो ? कहाँ बस्छ ? कतिमा पढ्दै छ ? केही कुरा थाहा थिएन । तर पनि उ मेरो आँखामा बसेको थियो । उसँगै सिटमा बस्ने मौका मैले कहिल्यै पाइनँ । २ वर्षभर उसलाई टाढैबाट हेरिरहेँ । बोलाउन पनि सकिन । खै त्यो माया थियो या आकर्षण ? अहिले सम्झँदा मनमनै हाँसोका छालहरु छुट्छन् । उसको मुहार फेसबुकमा हेर्दै एक्लै हाँस्छु । कुनैदिन मेरा नयनहरु उसलाई खोज्थे । उसलाई हेर्दामात्रै आनन्द भेट्थेँ । तर म कायर थिएँ, भन्न डराउँथे ।
आज उ विदेशी भूमिमा पैसा कमाउन गएको छ । खै कताबाट फेसबुकले उसँग सम्बन्ध जोडिदियो । अनि चिनेँ, उ को रहेछ । त्यतिबेला कुन लेभल पढ्दै रहेछ । अनि काली केटीलाई याद पनि गर्दाेरहेछ । तर उसकी गलफ्रेन्ड भएकोले अन्यतिर आँखा नलगाउने रहेछ । या भनौँ उ एउटा सच्चा प्रेमी रहेछ ।
केही महिनायता उसँग लगातार म्यासेन्जर र भाइबरमा कुरा हुन्छ । उ राम्रो भएकोले आउने प्रेम प्रस्तावकोबारे सुनाउँछ ।
हाँसी मजाकमै मैले पनि प्रेम प्रताव राखिदिन्छु । उतिबेला भन्न नसकेको प्रस्ताव । उ केबल इमोको साइनहरुले मेरो प्रस्ताव टार्न खोज्छ । १२ कक्षा पास गरेपछि उ विदेश गएछ । डिग्री पढ्नेसँग माया प्रेम जोड्दिन भन्छ । म तिमीलाई पनि पढाउँछु नि भन्छु । पढ्ने उमेर विदेशमा दासी हुँदै वितेका दुखद दिनहरु सुनाउँछ । मैले ठट्टा गरेकी भन्दै टारिदिन्छु । तर पनि असल साथी भने बनाउँछु भन्छ ।
अब उसैको मुखबाट सुनौं,उसको प्रेमकथा ।
सानैदेखि गोरो भएकोले सबैले गोरे भन्थेँ । स्कुल पढ्दा पनि धेरै शिक्षकहरुले कति राम्रो चकलेटी भन्दै काखमा लिन्थेँ । अरुले राम्रो भनिदिँदा खुशी लाग्थ्यो । समयसँग बढ्दै गएँ, पढ्दै गएँ । आठ कक्षा पढ्दा कक्षामा सधैँ प्रथम हुने सुशीलासँग प्रेम भयो । लभ लेटर आदानप्रदान हुन थाले । त्यतिबेला मिग चलाउने ट्रेन्ड थियो । हामी त्यसमै गफ गर्दथ्यौं ।
म पढ्नमा त्यति जान्ने थिइनँ । बल्ल बल्ल पास हुन्थँे । उनी मलाई गणितका हिसाबहरु सिकाउँथिन् । म आज्ञाकारी बनेर सिक्थँे । ब्रेकमा सबै साथीहरु हामी दुईलाई मात्र क्लासमा छोडिदिन्थे । रमाईलो मान्दै हामी गफिन्थ्यौ । भविष्यका कहानीहरु बुन्थ्याैँ । सपनाहरु सजाउँथ्यौ । काखमा सुत्ने, चुम्बन गर्ने कहिल्यै भएन । त्यो बेलाको अनौठो खालको प्रेम थियो । उनले सिकाउँदा कहिलेकाहीँ हात ठोकिँदा पनि करेन्ट लागेझैँ हुन्थ्यो ।
उनकी आमा हाम्रै विद्यालयमा शिक्षिका थिइन् । कुरा एक कान दुई कान हुँदै स्कुलभर फैलियो । सानासाना भाइबहिनीहरु यो दाइको त्यो दिदीसँग लभ परेको छ रे भनेर कानेखुशी गर्न थाले । शिक्षकहरु पढाउँदा हामीतिरै सटाएर हान्थे ।
९ कक्षा पढ्दा हेडसरले हामी दुईलाई अफिसमा बोलाएर सम्झाउनु भयो । यो समय रामोसँग पढ्ने भएकोले अन्त मन नडुलाउन आग्रह गर्नुभयो । उनकी आमाले पनि एकदिन नमज्जासँग हकारिन् । मानांै मैले ठूलै गल्ती गरेजस्तै । जबरजस्ती उनकी छोरीलाई आफ्नो वसमा पारेजस्तै ।
आमाले दिनहुँ गाली गरेको खबर उनले सुनाउँथिन् । १० कक्षा पुगेपछि विनाकारण उनीसँग बोलचाल बन्द भयो ।
कक्षाकै अर्काे केटीसँग म फेरि प्रेममा बाधिएँ । उसलाई देखाउनकै निम्ति भएपनि मायाको नाटक गरेँ । १० कक्षामा होस्टल बस्दा निकै रमाईलो भयो । उनी थोरै खान्थिन् र आफ्नो भाग खाजा पनि मलाई नै दिन्थिन् । लुकीलुकी गफगाफ र भेटघाट हुन्थ्यो ।
एसएलसीमा उनी प्रथम श्रेणीमा पास भइन् र म दोस्रो श्रेणीमा । हामी एउटै कलेजमा भर्ना भयाैँ । कलेजमा आएपछि केही स्वतन्त्र भइयो । सँगै घुम्न गईयो । धेरै समयसँगै बिताइयो । उनी मेरी पहिलो प्रेमिका थिइन् । जोसँग मैले पहिलो पटक हात समातेँ । कलिलो ओठमा चुम्बन गरेँ । अँगालोमा बेरेँ । मलाई बाले जति जिद्दी गरेपनि बाईक किनिदिएनन् । घरमा समस्या नै थियो । म पछि साना २ बहिनी र १ भाइ पढ्दै थिएँ ।
१२ कक्षा पढ्दादेखि काम गर्न थालेँ । दिउँसो म कपडा पसलमा जागिर गर्थाे र बिहानमा पढ्थेँ । उनी अलि सम्पन्न परिवारकी थिइन् । अलि स्टाईलिष्ट, नयाँ नयाँ फेसन गर्नुपर्ने खालकी । जागिर र पढाई दुवै गर्ने भएकोले मैले उनलाई समय दिन सकिनँ । एउटै कलेज भएपनि कहिलेकाहीँ मात्र भेट हुन थाल्यो । १२ कक्षाको अन्तिम दिनमा आएर थाहा भयो । उनको अर्कै केटासँग प्रेम बसेको कुरा । त्यसपछि रिजल्ट नआउँदै पासपोर्ट बनाएर म विदेश आएँ । आजकल माया प्रेममा खासै विश्वास लाग्दैन र मन पनि जाँदैन ।
तपाईंलाई कस्तो लाग्यो उसको प्रेम कथा । म त मौन बसेर सुनिरहेँ । केही प्रतिक्रिया दिनै सकिनँ । आफूले मन पराएको मान्छेको प्रेम कहानी सुन्दा खै किन म मौन रहे ? के सबै एकतर्फी प्रेम गर्नेहरुलाई आफूले मन पराएको मान्छेको प्रेम कथा सुन्दा यस्तै हुन्छ ?

एकातिर च्या च्या गर्दै रोईरहेकी छोरी अनि जाड खाएर आएका श्रीमान । जाडको सुरमा बाझेर के के भन्दै थिए । पुरुषमा हुने आडम्बर र सानैदेखि समाजले पहिरिदिएको सम्पत्तिको मालिक हुँ भन्ने आशयले चिच्याईरहेका थिए ।
उनी दिउँसै रक्सी पिएर रमिता देखाउँछन् । खाए तेरो बाउको खाए मैले कमाएको पैसामा रक्सी खाए । यस्तै यस्तै भन्दै थिए ति पुरुष । १,२ वर्ष विदेश बसेर २,४ लाख कमाएको उडाउँदै थिए रक्सी अनि चुरोटमा । मेरो आपति उनले पिएको कोदोको झोलमा होईन् ।
उनकी श्रीमतिले पाएको कष्टमा हो । स्नातक तेस्रो वर्षको परिक्षा दिएपछि उनको बिहे भयो । बिहे पहिले एउटा स्कुलमा पढाउँथिन । ३ विषयमा लागेको ब्याक गर्भमा बच्चा हुनाले दिन पाइनन् । जागिर पनि बिहेपछि छोड्ने हुकुम आयो श्रीमानको ।
आफन्तीले केटो असल छ , जाड ,रक्सी केही खादैँन भनेर भिडाए । बाबुआमा सानैमा बितेका टुहुरो केटो हो राम्रोसँग घर गरी खाएस भनेर लगन गाठो बाधिदिए । या भनौ आफन्तीले झुट बोलेर जहडिया पोई भिराए । यो दृश्य मेरो घरको झ्यालबाट देखिने पल्लो घरको हो । सयौँ नेपाली समाजको घरको झ्यालबाट यस्तै दृश्यहरु देखिन्छन् । जहाँ श्रीमान रक्सी पिएर आउँछ , श्रीमतीले यातना खेप्नुपर्छ ।
यो दृशय देखिरहँदा मेरो मनमा अर्काे दृश्य घुम्न थाल्यो । आफ्नो माईतीलाई त्यागेर सर्वस्व सुम्पी आएकी नारीले खेप्ने यो यातना पुरुषले खेप्नुपर्याे भने के होला ? के हाम्रो समाजमा यस्तो यातना खेपेर बसेका पुरुष छन् ? छन् भने तपाई पनि कलम चलाउनु होला ।
श्रीमानको सट्टा श्रीमतीले रक्सी खाएर आई नानाथरी होच्याउने र सुन्नै लाज लाग्ने शब्द बोले के होला ?के यो समाजले उनलाई स्वकार्ला ? यो दृश्य कल्पना पनि गर्न सक्दैनन् पुरुषहरु । त्यसैले त जे गर्छु आफूले मात्र गर्न सक्छु भन्ने तरिकाले होच्याउछन् नारीलाई, आफ्नी श्रीमतीलाई , दिदिलाई अनि बहिनीलाई ।
उसलाई छोडेर अर्काे बिहे गर्दा पनि यो समाजले घर खान नसकेर अर्काे खोजेर गइ भन्छ । साथमा रहेकी छोरीको चिन्ता पनि उनलाई छ । २ पटक सुधार गृहमा राख्दा समेत उसको रक्सी पिउने बानी सुधरेको छैन् ।
टोल समाजका मान्छे बसेर सम्झाउँदा पनि केही दिनपछि रक्सी पिउन सुरु गरिहाल्छ उ । कठैबरा! भाग्य पनि कस्तो रहेछ , छरछिमेकी नातागोता यस्तै बाएक केही भन्न र गर्न सक्दैनन् । एकदिन आउँछन् जाड खानेलाई सम्झाउँछन् तर दिनहुँ यातना खेप्ने त उनी हुन् । हेर्दा सामान्य लाग्ने तर समाजमा रहेका यस्ता दृश्यहरुले दमन , अत्याचार र पीडितकै वर्गमा राख्छ नारीलाई ।
नारी सक्षमता नै एउटै विकल्प होला कि । तर सक्षम हुदाँपनि बच्चा जन्माउने र हुर्काउने शारिरिक कष्ट नारीकै भागमा छ । बिहे गर्नुपूर्व गतिलो केटा छान्न पनि आवश्यक देखिन्छ यस्ता घटनाले । देखेकै भरमा बिहे गर्न भन्दा पनि केही समय बुझेर जीवनको सहयात्री छान्न पर्ने भयो । मन लागे सहजै अर्काेसँग विहे गर्न पाउने छुट पनि यो समाजले दिनुपर्छ । मन नपरेको खण्डमा श्रिमानलाई छोडेर एकल जीवन बाँच्ने क्षमता र आत्मनिर्भर बन्न निकै नै आवश्यक देखिन्छ ।

कस्तो होला ऊ ! को होला ! कस्ता होलान् रुची ! त्यस दिनदेखि खुल्दुली बढ्यो जुन दिन आमाले घरबाट फोन गरेर भन्नुभयो, ‘छोरी तिमीलाई एउटा केटाको घरबाट कुरा आएको छ । केटो मास्टर्स सकेर जागिर गर्दै रहेछ । खानदानी परिवार नै हुन् रे । जम्मा २ दाजुभाई ।’
यससँगै आमाले मेरो पढाइ कस्तो चलिरहेछ भनेर चासो राख्नुभयो । पढाइमा असर नपर्ने भए कुरा अगाडि बढाउने आमाको मनशाय थियो । आमाको कुरासँगै कता–कता मन डराए झैँ भयो । आमाको कुरा सुन्दा अब विहे गर्ने उमेर पुग्यो की जस्तो लाग्यो ।
तर ‘विहे’ भन्ने चिज सम्झने बित्तिकै काहाली लाग्थ्यो । म आफ्नो पढाई सम्झिन्थे, आफ्ना ईच्छा आंकाक्षा सम्झन्थे । आफ्नो कमाइ बा–आमालाई खुवाउने मेरो सपना कतै अपुरै हुन्छ की लाग्थ्यो । चलिरहेको पढाइ बिचमै रोकिन्छ की झैँ लाग्थ्यो । प्रसिद्धी कमाउने मेरा चाहानाले यहीँ कतै बिश्राम मार्छन् की झैँ लाग्थ्यो । विहे आखिर बन्धन नै लाग्थ्यो । बन्धन नै भए पनि ‘बन्धन’ भनेर म कहिलेसम्म भागिरहने ?
घरकी जेठी छोरी र हजुरबाकी जेठी नातिनी । एउटा गतिलो केटो पाए हात थमाईदिने आमाको सोच केही समयअघि घर जाँदा नै सुनिसकेकी थिए । हजुरबालाई नातिनीको लगनगाँठो बाँधिदिने ठूलो रहर थियो ।
यसअघि पनि विहेका कुरा धेरै घरबाट आएका हुन् तर मलाई मन नभएपछि कुरा अगाडि बढेन । केटो हेर्ने कामै भएन । त्यसपछि पढ्नका लागि म काठमाडौँ आएँ । विहेको कुराबारे अत्तोपत्तो थिएन । ब्याचलर सकिन लाग्यो भनेपछि विहेको कुरालाई लिएर सक्रिय बन्न थाले आफन्त र परिवार । परिक्षा नजिकै आएकोले परिक्षा सकिएपछि केटो हेरौँला नी एकपटक भनेँ आमालाई ।
परिक्षा त सकियो तर विहेको लागि आएको कुरा सकिएन । केटो काठमाडौँ आउँदैछ भन्ने खबर एकाबिहानै बजेको फोनको घन्टी उठाउँदा आमाले दिनुभयो । एक मनले सोच्यो, ‘कति हतार भएको केटालाई !’ अर्काे मनले सोच्यो, ‘ठीकै भयो हुन्छ–हुन्न भन्ने कुरा भेटेपछि टुङ्गो लाईहाल्छ ।’
फोन गरेर सुन्धाराको एउटा क्याफेमा भेट्ने सल्लाह भयो । जिन्स पाईन्टमै गएँ । केही बेरको पर्खाइपछि उसको कल आयो, मैले देखेर हात उठाएँ । क्याफेको एउटा टेबलमा बसेर म कफी पिउँदै थिएँ । ऊ आयो र अपोजिट साइडको कुर्सीमा बस्यो । ‘काठमाडौँ नआएको धेरै भयो, परिवर्तन भइसकेछ ।’ उसले कुरा सुरु गर्याे । ‘उम्म्’ मात्र भनेँ मैले । उसले मेरो नाम सहित केही औपचारिक प्रश्न सोध्यो, सामान्य परिचय भयो ।
‘अनि के गर्दै आजकल ?’ उसले सोध्यो । ‘भर्खर परिक्षा सकियो । खाने, बस्ने, डुल्ने’ मैले उत्तर दिएँ । काठमाडौँ आउने काम भएकाले त्यही मेसोमा मलाई भेट्न खोजेको उसले भन्यो । सरकारी हाईस्कुलको मास्टर रहेछ ऊ ।
मलाई मेरो ‘प्लान’ बारे सोध्यो । आफ्नो योजना हत्तपत्त अरुलाई सुनाउन मन लाग्दैन । कामको बारेमा भन्न उचित ठानिनँ । भनिदिएँ, ‘बाबा आमा बिहे गर भन्छन् आफ्नो त यसरी नै डुलेर बाँच्ने योजना छ ।’
मेरो अनौठो जवाफ सुनेपछि उसको ओठबाट हाँसो फुस्कियो । हाँस्दा उसका सेता दाँत टल्किए । ‘खाना पकाउन आउँछ ?’ उसले सोध्यो । ‘पहिला त आउँथ्यो, ३ वर्ष भो होस्टल बस्या बिर्सिएँ, आजकल त पकाउने बानी हरायो ।’ मैले भनेँ । ‘अनि कपडा धुन नी ?’ ‘घरमा हुँदा आमाले धोईदिनुहुन्थ्यो, होस्टलमा धुनै पर्दैन ।’ मैले जवाफ दिएँ । मैले प्रतिप्रश्न गरेँ ,‘आफ्नी श्रीमतिले तपाईँका कपडा धोइदियोस् भन्ने अपेक्षा राख्नुहुन्छ हो ?’ ‘म डेरामा एक्लै बस्छु । ट्यूसन पनि पढाउँछु, त्यसैले फुर्सद हुँदैन । खाना पकाउने, लुगा धुने समय नै हुँदैन ।’ उसले भन्यो ।
‘नोक्कर हुन जान लाग्या हो र ?’ भन्न मन थियो, तर थामिएँ म । बाबा आमाकी एक्ली छोरी, सुखमै हुर्किएँ कुनै दिन केही कुराको अभाव भएन । कुनै दिन आमाले केही काममा लगाउनु भएन । छोरी हुँदैमा घरका सबै कामकाज जान्नैपर्छ र ? मनमनै प्रश्न गरेँ ।
विहे गरेपछि भोगेका दुखका राम कहानी सुनाउँथिन् आमा । कतै म पनि दुःख भोग्ने बाटो रोज्दै त छैन ? होस्टलमा बसेर अर्काले पकाएको खान, मन लागेको ठाउँमा हिँड्न र साथी भाईसँग घुम्न नै रमाईलो छ जीवन ।
एकछिन सोचमा हराएछु । ‘के ल्याउँ तपाईँहरुलाई ?’ वेयटरले मछेउ आएर सोधेपछि झसङ्ग भएँ । उसलाई सोधेँ र २ कफ कफी अर्डर गरेँ । नारीले विहे गरेको भोलिपल्टदेखि बिहानै उठेर घर सफा गर्ने, बेलुकी खाना खाएको भाँडा माझ्नुपर्ने ! सम्झँदा पनि दिक्क लागेर आउँछ । यही काम पुरुषले गर्ने भए कस्तो हुँदो हो ? पुरुषले कल्पना गर्न सक्लान् त यस्तो ?
म आफ्नो श्रीमानलाई महिलाले गर्ने काम गरिदेओस् भन्ने अपेक्षा राख्दिन । तर कम्तिमा उसले महिलाले गर्ने काम भन्दै भागबन्डा नगरोस् । आफू ठालू बनेर पुरुष हुनुको घमण्ड नदेखाओस् । बस् । हाम्रो समाजमा कति पुरुषले बिहान उठेर श्रीमतीको गोडाको पानी खान्छन् ? मानसपटलमा प्रश्न नाच्न थाल्यो । यो प्रश्न केही समय अघिदेखि नै मस्तिष्कमा घुमिरहेको थियो, रोहोटेपीङ जस्तै ।
आमाले बिहे हुनासाथ बाबाको खुट्टाको जल नखाई मुखमा पानी पनि हाल्नु हुदैनथ्यो रे । पछि बाबा विदेश जानुभयो, आजकल ब्रत हुँदा मात्र खुट्टाको जल खानुहुन्छ । बाबाको खुट्टाको जल खाएर आमा कति पवित्र हुनुभयो होला ? अनि बाबाहरु चाहीँ पवित्र हुनुपर्दैन ?
कफीको चुस्कीसँगै प्रश्न गरेँ, ‘तपाईँको रुची कस्ता छन् ?’ ‘अध्यन, अध्यापन, गुमफिर यस्तै’ उसले भन्यो । ‘मेरो एउटा सर्त छ,’ मैले भनेँ, ‘भन न, के हो त्यस्तो !’ धेरै दिनदेखि मानस्पटलमा दौडिरहेको एउटै कुरा सोधेँ, ‘बिहान उठेर तपाईँ मेरो खुट्टाको जल खानुहुन्छ ? मैले तपाईँको घरको सम्पूर्ण काम गर्नुपर्छ भने के तपाईँ मेरा लागि यती काम गर्न सक्नुहुन्न ?’
नवपुरुष दंग पर्यो । हतास देखियो । उसको अनुहारको भाव पूरै बदलियो । केहीबेर निशब्द बन्यो र सोध्यो, ‘आजसम्म कुनै पुरुषले आफ्नी श्रीमतीको खुट्टाको जल खाएको सुनेकी छौ ?’ मैले हाँसेरै फेरि भनेँ, ‘नसुने के भो ! तपाईँ पहिलो पुरुष बनिदिनुस् न ।’
आजकल त यस्तो छैन । पहिले हजुरआमाले हजुरबाको खुट्टाको जल खानुहुन्थ्यो । अब हामी शिक्षित वर्गले त्यही परम्परालाई छुटै प्रकारले अँगालौँ न त । ठीक उल्टोगरी । उसको मनले के सोच्यो पत्ता लगाउने वैज्ञानिक उपकरण मसँग थिएन । तर पनि ऊ शब्दविहीन भयो ।
‘केटी कति उत्ताउली रहिछे’ सोच्यो होला ! चाहिने– नचाहिने सर्त राख्छे सोच्यो होला । पुरुषले केटी हेर्न जाँदा सर्तहरु राख्छन् भने नारीले राख्न किन नहुने ? सबै नारीले विहेअघि आफ्ना सर्तहरु राख्नैपर्छ भन्छु म ।
एकछिन सन्नाटा छायो । अब जानुपर्छ मेरो काम बाँकी नै छ उसले भन्यो । हुन्छ भनेर कफीको बिल मैले आफैँ तिरेँ । ‘शर्त मन्जुर भए फेरि भेटौँला’ भन्दै बिदाइका हात हल्लाएँ मैले । उसको अनुहारमा रुन्चे हाँसो मात्रै देखियो ।
बेलुकी आमाको फोन आयो, हेल्लो भन्न नपाउँदै ‘किन उत्ताउली बनेकी’ भन्दै कराउनुभयो आमा । ‘कहाँ, कहिले ?’ ‘केटोले त केटी उत्ताउली रहिछे भन्यो रे ।’ आमालाई मेरो शर्त सुनाईदिएँ । उहाँ पनि हाँस्नुभयो । एक लहरको हाँसो फुट्यो । मेरो नजिकका साथीहरुले पनि मेरो यो शर्त थाहा पाइसकेका थिए । उनीहरु पनि यस्तो सुनेर हाँस्छन् । तर साहस गर्न सक्दैनन् ।
ठीक छः बोल्दैन भने कति म्यासेज गरिरहुँ ? छोडिदिन्छु अबदेखि मोबाईल चलाउँन, ब्लक गर्छु फेसबुक, टुईटर र भाइबरका सबै एकाउन्टहरु । पागल बनेर कति दिन कुहिरहनु रिप्लाई । मरेको भए सडिसक्थेँ । सास मात्र बाँकी रहेर आशा रह्यो ।
छिनछिनमा फेसबुक खोल्दै स्मिता मनमनै वात गर्थी । सम्बन्ध जोडिने र फुटिने खेल खेल्नुअघि खेलाडीले विचार पुर्याउनु पर्ने हो । तर समयमै पुर्याउन नसकेको विचारले धेरै दिन मानसपटलमा घुमिरह्यो वितेको पल । चाहाना र बाहानाले हरेक कुरा पुरा हुने भए उ संसारमा खुशीलाई मात्र आफ्नो बनाउन चाहान्थी ।

मिलन मात्र अंगालेर विछोडलाई उडाउन चाहान्थी, बेलुनमा हावा भरेर उडाएजस्तै गरी । भाग्य आफ्नै मुठ्ठीमा भएको भए परिजस्तै सजिएर उसकै साथ हुन्थी स्मिता, अंगालोमा बेरिएर चुम्थी आफूले चाहेकै साकारलाई । भाग्यमा नलेखेको कुरा जतिनै प्रयत्न गरेपनि आफ्नो मुठ्ठीमा आउँदैन । न त आफ्नो बनेर वरिपरि सजिन्छ । हो, यस्तैयस्तै भयो स्मिताको जीवनमा ।
जीवनको दौडानमा धेरै मान्छेसँग सम्बन्ध जोडिन्छ । तन, मन र शरीरकै निकट सम्बन्ध केहीसँग मात्र जोडिन्छ । भावना साट्ने धेरै भेटिन्छन् तर अन्तरहृदयकै भावना साट्ने कम मात्र भेटिन्छन् । ईच्छा, चाहाना र आंकाक्षाहरु मेल खाने कम नै भेटिन्छन् ।
दुःखमा सहयोग र सद्भावको भावना देखाउने कम नै भेटिन्छन् । विश्वाश्सको हतकडी बाधेर सँगै डुल्ने सम्बन्ध थोरैसँग गासिन्छ । बोलीमा चिल्लो घस्ने धेरै भेटिए पनि, पगाल्न सक्ने क्षमता कमैमा हुन्छ । तर पगालेका मनहरु नै आफूदेखि टाढा हुँदा त्यो पग्लिएको मन छचल्किँदो रहेछ, पोखिन नसकेर ।
पेसाले स्मिता नर्स हो । नर्सिङ सकेर पोखरामा बसेर जागिर खादँैछे, सरकारी अस्पतालमा । समयको दौडानमा फेवाताल घुम्न जाँदा साकारसँग उसको चिनजान भएको थियो । पोखराको सहरमै घर भएको एक धनाड्य बाउको छोरो । ईन्जिनियर ईन्ट्रान्सको तयारी गर्दै गरेको । पहिलो भेटले सम्बन्धमा बिउ रोप्यो । विस्तारै विरुवा उमँ्रदै गयो ।
स्मिताको नर्सिङ कलेज नजिक साकारको घर । यति भएपछि भर्खर विरुवा रोप्न लागेका पे्रमिल जोडिहरुलाई अरु के चाहियो ? भेट्ने बहाना बन्यो हस्पिटलको चौर । जहाँ स्मिताको प्राक्टिकल हुन्थ्यो । प्रस्तावबिना नै सम्बन्ध अगाडि बढ्यो । भेटको सिलसिला जारी रहयो । घुम्ने ठाउँ बने पोखराका रमणीय स्थलहरु । प्रकृतिको सुन्दतामा एउटा सुन्दर साथ भेटेको आभाष हुन थाल्यो । उसका अगाडि सबै चिज फिक्का लाग्थ्यो उनलाई । मीठो हाँसो, गालाको डिम्पल । गोरो वर्ण । शब्दमा वर्णन गर्न नसक्ने उसको मधुर बोल्ने कला । खाना खाए÷नखाएको ख्याल गर्ने उसको बानी । संसारकै भाग्यमानी ठान्थी आफूलाई ।
एकदिनको कुरा हो साकारको नम्बरबाट स्मितालाई कल आयो । ‘उ्म बेबी भन..’ उसले फोन उठाउँदै भनी । तर फोनमा कोही केटीको आवाज सुनियो । ‘साकार दादा एकसिडेन्डमा पर्नुभयो । अहिले हस्पिटलमा हुनुहुन्छ । तपाईलाई बोलाउन भनेर कल गरेकी ।’ उसकी बहिनीले फोन गरेकी थिई । स्मिता हतारिदैँ हस्पिटल पुगी । मन डरायो । कति छिटो हस्पिटल पुगी थाहा भएन । हस्पिटलमा उसका केही साथीहरु र बहिनी मात्र थिए । हातमा सामान्य चोट लागेको रहेछ । सामान्य चेकजाजपछि उनीहरु घर फर्किए ।
स्मिता कोठामा एक्लै बस्थी । साकार कोठामै आउन थाल्यो । घरभेटी घरमा नभएको खबर गरेपछि आउँथ्यो साकार । प्रेम बन्धनमा बाँधिएको ६ महिनामा आफ्नो कुमारित्व गुमाएकी थिई स्मिताले । पहिलो प्रेम, सहमतिमै भएको थियो– त्यो यौन सम्बन्ध ।
त्यो रात साकारले जिद्दी गरेर स्मिताकै कोठामा रात विताएको थियो । पहिलोपटक एकअर्काले दुवैलाई अंग÷अंग चुमेका थिए । आफू बुझ्ने भएपछि पहिलोपटक एक जवान युवकको नाङगो ज्यानमा प्रत्यक्ष आँखाले हेरेकी थिई । एकछिन त उसलाई कुनै अंग्रेजी फिल्मको दृश्यजस्तै लागेको थियो ।
यतिका वर्ष साँचेर राखेका यौनका कुण्ठाहरु फुकाएका थिए दुवैले । यसरी नै साकार उसको कोठामा आउने जाने क्रम चलिरह्यो । साकारको घरमा कोही नभएको दिन स्मितालाई उसकै घरमा बोलाउँथ्यो ।
चल्ने बहानामा कहिले साकारले उसको कानमा टोकिदिन्थ्यो । रोएको बहाना गरेपछि उ आफैँ फकाउँथ्यो । आउने जाने क्रम चलिरह्यो । दुवैको घरमा उनीहरुको प्रेम सम्बन्धबारे थाहा थियो । जवानी भरिदै गएका पे्रमीपे्रमीका स्वतन्त्र थिए । समय समयमा दुवै यौनको छालमा डुबिरहेँ । सम्बन्ध ५ वर्षसम्म चलिरह्यो ।
ईन्जिनियरिङ सकेर साकार अष्ट्रेलिया होमियो । केही समयपछि आएर स्मृतिलाई बेहुली बनाउने सपना देखाएर उड्यो जहाजमा । साकार गएदेखि हरेकदिन आफूलाई बेहुली भएर उसकै अंगालोमा बेरीएको कल्पना गर्दै निदाउँथी । कहिलेकाहीँ उ कोठामै भएको कल्पना गर्थी । उसँग राखेका शारीरिक सम्बन्ध, विताएका रातहरु, घुम्न गएका पलहरु सबै याद आउँथ्यो । गएको १ वर्षसम्म सम्पर्कमै थियो । भिडियो कलमै छेटौँ प्रेमको एनीभर्सरी मनाए ।
बितेको १ महिनादेखि उ सम्पर्कबिहीन भएको थियो । त्यो समय निकै कठोर बनेको थियो । आज अचानक उसकी साथीले साकारको विदेशमै बिहे गरेको फोटो देखाउँदा स्मिता छाँगाबाट खसेजस्तै भएकी छ ।
लामो समयको प्रेम सम्बन्धमा आएको भूँईचालो सहन नसकेर उसको रिप्लाई पर्खदै बसेकी छे तर साकारको रिप्लाई आएको छैन । उसलाई एउटै कुराको जवाफ चाहिएको छ । आखिर किन खेलबाड गर्याे उसले कोमल मनसँग र किन दियो धोका ?

सानीले नयाँ लुगा देखाउँदै सोधी, ‘यो मेरो बाबुको लागि किनिदिएको लुगा कस्तो छ ?’ ‘राम्रो छ’को संकेतमा मुन्टो हल्लाएँ । २ वर्षको छोरो च्यापेर उ माइत आएकी छ । यस वर्ष आफ्नो घरमा ससुरा बितेर टीका लगाउन नहुने हुनाले छिटै माइत आएकी रहिछे । एक महिनाको लामो बसाई लिएर ।
‘यसले त पोहोरकै लुगा लगाएकी । यि हेर, हाम्रो त नयाँ कपडा छन् । बाबाले लाहुरबाट आउँदा ल्याइदिएको ।’ रातो फ्रक र मिलिक÷मिलिक रातो बत्ती बल्ने जुत्ता देखाउँदै म भन्थे । ‘छ्या ! छ्या ! गोबरको टाटो लागेको पुरानो कपडा !’ अर्काे साथीले थप्थी ।
भित्रबाट जुर्मुराउँदै काकी आउँथिन् । ‘तिमीहरुका पो बाउ लाउरे छन्, एउटी छोरी मात्र पाएर छोरो नजन्माई बस्याछन् । बुढेसकालमा चेत पाउँछन् । मेरी छोरीलाई केही नभनाओ है !’ बल्लबल्ल फकाएर यो लुगा लगाएकी छे ।
‘ओहो ! मेरा बा त लाहुरे रहेछन् ।’ बढो मज्जा लाग्थ्यो । आफू त निकै भाग्यमानी सम्झन्थेँ । हुन त म भाग्यमानी नै हुँ । कुनैदिन अभावको महशुस गर्न परेन । घाँस, दाउरा, मेलापात, चुलो चौका केही नगरी हुर्किएँ । सानैबाट बोर्डिङमा पढ्न पाएँ ।
जुत्तामा बत्ती बाल्नकै निम्ती वल्लो घर र पल्लो घर गथ्र्यौं । काकीले गाली गरेपछि उनको घरबाट टाप कसेम । बिचरी काकाकी छोरी सानी हाम्रो पछिपछि आउँथी । निन्याउरो मुख लगाएर भन्थी, ‘यसपालि जेठी र माहिली दिदीको नयाँ लुगा लगाउने पालो । अर्काे साल त म पनि बाबालाई यस्तै बत्ती बल्ने जुत्ता किन्दिनु भन्छु ।’ ५ वटी वर्षाेटे दिदी बहिनी थिए । बिचरा, खेती किसान गरेको भरमा काका काकीले सबैलाई नयाँ लुगा कहाँ किनिदिन सक्थे र !
‘अर्काे साल हामी अर्कै किन्छम्’ उसलाई गिजाइ हाल्थ्यौँ । सधैं दसैंमा नयाँ कपडा लगाउन पाइन्थ्यो । जाँच सकिने दिन त निकै रमाईलो लाग्थ्यो । त्यसपछि १ महिना भन्दा बढीको छुट्टी । ५ दिनमा रटिएर होमवर्क सक्थेँ । अनिपछि मस्ती हुन्थ्यो । कहिले गाउँ गएर नयाँ कपडा देखाउझैं लाग्ने । घरको आँगनमा हजुरबाले बनाइदिएको पिङ आहा ! सम्झिँदा पनि आनन्द लाग्छ । दसैं आयो त त्यही बालापनमा आयो ।
दसैंको दिन दिएको पैसा एकएक गनेर आमालाई राख्न दिन्थँ । कति पुग्यो आमा पैसा ? भनेर आमालाई नै झर्को लाग्ने गरी सोधिरहन्थेँ । मामाघरमा फुरुफुरु पर्दै जान्थेँ । झन मामा घरमा धेरै पैसा जम्मा हुन्थ्यो । मामाहरुकी एक्ली भान्जी थिएँ ।
सानीका दिदीहरुको ८ कक्षा पढ्दै बिहे भो । सानीले पनि एउटा छोरो पाईसकी । सानैदेखि दुःख भोगेका उनीहरु बिहेपछि पनि दःुखमै छन् । तिनै सन्तान हुर्काउँन, सासू, ससुराको स्याहार गर्न र श्रीमान्लाई खाना पकाउँदै ठिक्क छ । उनीहरुका बा आमाले धेरै सन्तान जन्माएर दसैंमा नयाँ लुगा किनिदिन नसके पनि सानीले भने आफ्नो छोरालाई नयाँ कपडा किनिदिएको देख्दा खुशी लाग्यो ।
सानीको छोराको नयाँ कपडा हेर्ने दौडानमा म त विगतमा पुगेछु । सानीलाई पनि ती यादहरु सुनाएँ । मज्जाले हाँसी । अनि भनी, ‘हो साँच्चै बालापन नै रमाइलो । तल्ला घरे काकाको घरमा लिचि चोर्न जाँदा लौरी लिएर खेदाएको सम्झि । म पनि मज्जाले हासेँ । यसरी आउँदै गरेको दशैँको याद बालापनले दिलायो । मलाई भने अझै पनि दसैं आएको जस्तो लागेको छैन । के साँचै ! दसैं आएकै हो त ?
थाहा छ ! अब त्यो बालापनको दसैँ कहिल्यै आउने छैन । तर पनि कहिलेकाहीँ आमासँग जिस्किएर बच्चा बन्न मन लाग्छ । साथीहरुलाई भेट्दा बच्चापन देखाउन मन लाग्छ । सधैँ बच्चै भएर जिउँन मन लाग्छ । दसैंलाई सधैं बच्चा नै भएर मनाउन मन लाग्छ र नयाँ लुगा किन्न मन लाग्छ । घरमा सेल रोटी पाक्छ, खसी ढालिन्छ । सबैजना भेला हुन्छन् । यस्तै यस्तै कुराले मनमा हर्षको फूलहरु फुलाउँछ । सबैलाई दसैंको शुभकामना ।

समाजमा महिला मात्रै दुखी छैनन् । महिलाका बारेमा लेखिरहँदा केही साथीहरुले सुझाव दिए की, ‘पुरुषका पनि आफ्नै दुख छन् । उनीहरुका बारेमा पनि लेख ।’
महिला बढी पीडित त छन् नै, पुरुषलाई पनि यो सहरिया दुनियाले खुसी बन्न दिएको छैन । महंगी र अनियन्त्रित व्यवस्थाकै कारण सहरका थुप्रै पुरुषको पीडा पनि यस्तै त छ स् समयले नेटो काट्यो, सबै चिज फेरिए ।
देशमा संविधान बन्यो । सरकार परिवर्तनको परम्परा चलिरह्यो । तर सरकारी कर्मचारीहरुको तलब कछुवाको गति झैँ भयो । गाउँको घर पनि भूकम्पले ढलायो ।श्रीमती दिनहुँ नयाँ गरगहना र कपडा लगाउन पाइन भनेर किचकिच गर्छे । मन्टेश्वरीमा पढ्दै गरेकी छोरीको फी महिनाको १० हजार भन्दा बढी आउँछ ।
‘सरकारी जागिर छ’ भन्दा सबैले ‘भाग्यमानी रहेछस्’ भन्छन् । कतै घुम्न जानुपर्याे नयाँ फेसन् । बिबाह, ब्रतबन्ध, पार्टी्पिच्छे नयाँ डिजाइनका गहना चाहिन्छ श्रीमतिलाई । घरमा बिरामी बूढी आमा पनि हुनुहुन्छ । उहाँको चेकजाँच पनि समय समयमा गरिरहनुपर्छ ।
‘यसपटक पहिलेकै कपडा लगाउ न त भन्दा’ श्रीमति विदेश गएका आफ्ना साथिहरुको तस्वीर देखाउँछिन् । उनीहरुलाई कति मोज छ कति घुम्न जान्छन्, नयाँ नयाँ कपडा लगाउँछन् । आफू भने सँधै घरमा कुवाको भ्यागुतो जस्तो बूढी आमाको स्याहार गरेर बस्नुपर्ने भन्न थाल्छिन् । केही बोल्नै हुदैन ।
एक शब्द बोलेँ भने, ‘तिमि पनि जाउ न त विदेश’ भन्न सुरु हुन्छ । ‘पाल्छु भनेर ल्याएको होईन, आवश्यकता पूरा गर्न नसक्नेले दिनभर अफिस गएर के जागिर खान्छौ !’ बिडम्बना भनौँ या के, हामी नेपालीहरुको हातमा डिग्री पास गरेको सर्टि्फिकेट र दिनभर मरिमेटी काम गर्दा पनि दैनिक आवश्यकता पूर्ति गर्न मुस्किल छ । जागिर छैन भनौँ भने छ, छ भनौँ भने तलबले श्रीमतिको लवाइ–खवाइ पनि पुग्दैन ।
‘ गाउँमा भत्किएको घर बनाउन मन छ । सहरमा डेरा गरेर बस्दै आएको छु । बूढी आमासँगै छोरी र श्रीमतिका आवश्यकताहरु पूर्ति गर्न मन छ । अफिसर लेभल भए पनि अन्य आम्दानीका स्रोत नभएपछि शुद्ध तलबले नपुग्ने रहेछ । साथीको बुद्धिमा लागेको भए बेलैमा करोडपति बनिसक्थेँ ।
विदेश होमिएको भए पनि घरको तला थपिन्थ्यो । आज भत्किएको घर पनि बनाउन नसक्ने अवस्था आएको छ ।
भ्रष्टाचार गरेरै भए पनि साथिले ३ वटा घर ठडाई सक्यो । अहिले मस्त घर भाडाले खान पुग्छ । उसले त भनेकै थियो, ‘सोझो पारामा जिन्दगी चल्दैन ।’ सायद उसलाई पनि मलाई जस्तै समस्या आईलागेर भ्रष्टाचारको बाटो रोज्यो की । उ बेलामा एक्लो ज्यान ‘यति तलब भए पुगिहाल्छ नि भन्ने लाग्यो । तर परिवार भएपछि त्यति तलब छेउ न टुप्पो हुँदो रहेछ ।’
भ्रष्टाचार गरेरै भए पनि साथिले ३ वटा घर ठडाई सक्यो । अहिले मस्त घर भाडाले खान पुग्छ । उसले त भनेकै थियो, ‘सोझो पारामा जिन्दगी चल्दैन ।’ सायद उसलाई पनि मलाई जस्तै समस्या आईलागेर भ्रष्टाचारको बाटो रोज्यो की । उ बेलामा एक्लो ज्यान ‘यति तलब भए पुगिहाल्छ नि भन्ने लाग्यो । तर परिवार भएपछि त्यति तलब छेउ न टुप्पो हुँदो रहेछ ।’
‘ जतिसुकै कडा नियम बने पनि भ्रष्टाचार गर्नेको संख्या घटेको छैन । यसरी आवश्यकताहरु पूर्ति गर्न नसकेर नै मानिस भ्रष्टाचारको खेतिमा लाग्छन् र विदेसिन्छन् भन्ने कुरा आज आफ्नै अनुभवले प्रष्ट पार्दै छ । साँचै सोझो औँलाले घिउ नआउँदो रहेछ ।
२ छाक भए पनि परिवारसँग बसेर खाना खाएको छु । बाहिरी मानिसले मेरो जीवन सुखी देख्छन् तर म भने दुःखी छु । कहिलेकाहीँ सोच्ने गर्छु जीवन के हो ? भौतिक दुनियाँमा मात्र रमाउनु जीवन हो र ! यस्तै पीडाबचि पनि पुरुषलाई यही समाजले भन्ने गर्छ, ‘एउटी श्रीमतिको इच्छा पनि पूरा गर्न नसक्ने सरकारी जागिरे !’

‘फोर जी’को जमनामा ब्रत बसेर भर्जिन पत्नि पाइन्छ भनेर कोही भगवान आएर मेरो कानमा सुनाए भने राम–राम म एक महिनासम्म पानी पनि नपिइ ब्रत बस्ने थिएँ ।’एकजना युवकको यो स्टाटस पढेर मनमा धेरै कुरा उम्रिए । दिमागमा कुरा खेलेपछि कलमको साहारा लिन बाध्य भएँ । मनमा कुरा खेलेपछि केही नलेखी बस्नै सकिएन ।
एउटी केटीले पुरुषलाई होच्चाएर केही शब्द लेख्यो भने बुरुक्क उफ्रिने जमात, पुरुषकै यस्ता कुरामा ‘हो मा हो’ जनाउँछ । आजका केटी भर्जिन् छैनन् भन्ने आशय राख्नु भन्दा पहिले आजसम्म तिमीले कतिवटा केटी खेलायौ भन्ने कुराको हेक्का राख्न जरुरी ठान्ने कि । तिम्रा साथीहरुले कतिवटी केटीको भर्जि्निटीमा र्याल काढे र लुटे भन्ने हेक्का राख्ने कि !
जसरी आगोविना प्लाष्टिक जल्न सक्दैन त्यसरी नै कुनै पनि केटाको साथविना केटीले आफ्नो भर्जि्निटी अरुलाई सुम्पिन सक्दिन । “ एउटा गल्फ्रेन्ड हुँदा हुँदै अर्कीलाई प्रेम प्रस्ताव राख्ने पुरुषहरु नै समाजमा यस्ता ढोंगी गफ दिन्छन् ।
घरमा श्रीमती हुँदाहुँदै गर्लफ्रेन्ड बनाएर डुल्ने को ? अरुकी राम्री श्रीमति देखे उसैसँग जिस्किन खोज्ने को हो ? बाटोमा हिँड्दा ‘ओ मैया कता हो’ खिसी गर्दै युवतिहरुलाई जिस्क्याउने को हो ? भर्जिन श्रीमती पाउन ब्रत बस्न सक्ने पुरुष आफू भर्जिन हुन जरुरी छ कि छैन ?
हुन त समाज नै यस्तै छ । सानैदेखि छोरा खोलामा पौडी खेल्न जान्छ र छोरीले कुचो लिएर घर बढार्नुपर्छ । छोरी घरभित्र डाडु पनियोसँग खेलीरहँदा छोरा घरबाहिर फुटबल खेलिरहन्छ । छोरी कोही केटासँग फोनमा बोल्दा ‘लौ अब छोरी बिग्रि’ भनेर बिहेको लागि केटा खोज्ने समाज, छोरा बोल्दा कोही उसका साथी होलान् भनेर सुनिरहन्छ । परिवर्तनको खाका बोकेर जतिसुकै आधुनिकताको गीत गाए पनि महिलालाई हेर्ने पुरुषको सोच निच नै छ भन्ने कुराको पुष्टि सामाजिक संजालमा देखिने यस्तै कमेन्ट र स्टाटसबाट पनि प्रष्ट हुन्छ ।
‘ दुख लाग्छ, महिला जतिसुकै शिक्षित भए पनि, समृद्ध भए पनि पुरुषहरुले महिलालाई हेर्ने आँखा नै ‘सेक्सिस्ट’ बनिदिएपछि परिवर्तन सम्भव छैन । ती पुरुष साथीको स्टाटसमै केन्द्रित बनौँ, पुरुष भर्जिन श्रीमति खोज्छन् । यही निच चिन्तनका कारण पुरुषप्रति महिला सधैँ सशंकित रहन्छन् ।
उनी त नेपाली समाजका पुरुषहरुका प्रतिनिधि पात्र हुन् । भर्जिन युवति खोज्ने पुरुषहरु नै धेरै वेश्यालय धाउँछन् । किनकी, श्रमितिमा भर्जि्निटी खोज्नु आफैँमा कुण्ठा र ढोंग हो । सामाजिक संजालमा दैनिक रुपमा सार्वजनिक भइरहने यस्तै प्रतिक्रियाले महिला–पुरुषको दूरी बढाउनुका साथै समाजलाई असहिष्णु बनाउँदै लैजान्छ । तर महिलालाई सम्मान गर्न नजान्ने ‘सेक्सिस्ट’ पुरुषहरु यस्ता गम्भीर विषयमा कहिल्यै उदार भएर सघन बहस गर्दैनन् । बरु कुण्ठा र ढोंगले भरिएका बिचार फेसवुकमा पोख्छन् ।
पुरुषले झैँ कुनै युवतिले पनि आफ्नो श्रीमान विहेअघि भर्जिन होस् भन्ने सर्त राखी भने के हुन्छ ? भर्जि्निटीबारे पुरुष जे सोच्छन् त्यो सोच नै निकृष्ट लाग्छ । अत्याधुनिक दुनियामा भर्जि्निटीबारे सोच बनाउने कुरामा सबै उदार बन्नैपर्छ । ति पुरुषलाई सोध्नुछ, ‘ओ सेक्सिस्ट पुरुष ! तिमीले विहेको लागि भर्जिन युवति खोजे झैँ, म पनि भर्जिन पुरुष खोजौँ ?’ के जवाफ दिन्छौ यस्तो सोध्दा ?
तर यस्तो सस्तो कुरामा बिचार अल्झाउनु छैन मलाई । प्रेम, यौन, विवाह जस्ता प्रकृतिक र सांस्कृतिक पक्षहरुबारे अलि फराकिलो दायरा बनाएर हेर्नुपर्छ । पक्कै पनि समाज बदलिँदैछ । यस्ता विषयमा हेरिने दृष्टिकोण फेरिएको अवस्य छ । यद्यपी कुण्ठाले भरिएका ‘सेक्सिस्ट’ पुरुषहरुको सोचले गर्दा पुरुषसत्तालाई थप मलजल पुर्याएको तितो यथार्थ अझै छ ।
https://www.youtube.com/watch?v=wICMz0jABfs&feature=youtu.be

नेपाली नारीहरुको महान चाड तीज । तीजसँगै माईती गाउँ आउने चेली । सासूको रुखो वचन, नन्दको होच्याउने प्रबृत्ति, जेठानीको हेपाहा बोली, यस्तै पीर मर्का फुकाउने जमघट बन्दैआएको छ तीज । “ आफूलाई आकर्षक देखाउन पहिरिने साडी, चोली, निधारमा रातो टीका, छमछम बज्ने हातभरी चुरा ।
वर्षैपिच्छे आउने तीजले घर–आँगन, समाज अनि देशमै उमङ्ग बोकेर आउँछ । पछिल्लो समय हुनेखानेलाई गहना र नयाँ पहिरन देखाउने पर्व पनि बन्न थालेको छ तीज । हुँदा खानेलाई सधैँको चिन्ता । तीजको नाममा केही बिसङ्गति पनि भित्रँदै आएका छन् । तीजको दिन भन्दा महिनादिन पहिलेदेखि दरको नाममा देखाउने तडकभडकले हाम्रो समाजमा जरा गाड्न थालेको छ । विशेषगरी तीज पर्वलाई लक्षित गरी बनाइएका गीतमा नारीका पीडा भन्दा पनि बढी स्वच्छन्दता देख्न सकिन्छ ।
नारी स्वतन्त्रताका कुरा केही गीतमा झुल्किएको पाइन्छ । समाज, राजनीति, सम्बन्धमा आउने उतार–चडाव यस्तै गीतहरु पनि बजारमा आएका छन् । रक, पपको शैलीमा पनि गीत बजेका छन् । छोटो पहिरन लगाउनु, जाँड, रक्सी पिउनु मात्र नारी स्वतन्त्रता हो र ? ती गीतहरुबाट यस्तै प्रश्नहरु जन्मिएका छन् । नेपाली समाजको कुना–कन्दरामा आफ्नै सासूले बुहारी माथि दमन गरिरहेका छन् । पतिले पत्नीलाई, जेठानी र देउरानीबीच मनमुटाबको द्धन्द्ध चलिरहेको देखिन्छ ।
सासूका कारण बुहारीहरु घरबाट निस्किन सकेका छैनन् । तर हाम्रा तीजका गीतमा यस्ता विषय अझै उनिन सकेका छैनन् । सहरी भूभागका नारीहरुलाई लक्षित गरी बनाइएका गीतमा खोई ति गाउँमा नारीका पीडा ? सासूले बुहारीलाई गरेको अत्याचार ? जेठानीले देउरानीलाई दिएको दुःख ? नारीले नारीमाथी गरेको दमन र अत्याचारका दृश्य ? के अब त्यस्ता पीर–मर्का भरिएका गीतहरु सुन्न पाउँदैन ?
अचेल गीतहरु सुन्दा लागछ अब गाउँका महिलाका दुख हराए । तर वास्तविकता त्यस्तो होइन । दुख छन् अझै पनि हाम्रा गीतमा मात्रै नअटाएका हुन् । गीत सृजना गर्नेहरुले यस्तोमा ख्याल पुर्याउनु पर्ने हो । तीजको गीतमा छमछमी नाच्नेहरुलाई भन्नुछ, गाउँमा मनाइने वास्तविक तीज अचेल सहरियाले आफूअनुकुल मनाइदिनाले तीजकै गरिमा हराएको छ ।
‘ के अचेल मनाउने जस्तै हो त तीजको वास्तविक रुप ? होइन । यसको सौन्दर्य नै बिग्रेको छ । यसको मुख्य दोष आधुनिक भनिने महिलाहरुलाई जान्छ । वास्तविक तीजको गरिमा बिगार्ने काम पनि उनै आधुनिक भनिने सहरीया महिलाहरुले नै बिगारेका हुन् । तीजमा त गाउँका महिलाका पीडा, दुख गरिबी र दैनिक भोगाइ समेटिनुपथ्र्यो ।
तीजको आफ्नै महत्व छ । यस पर्व मनाउनुमा केही ऐतिहासिक कारणहरु पनि छन् । परापूर्व कालमा सानै उमेरदेखि महादेव स्वामी पाउँ भनी आरधना गरिहेकी हिमालय पर्वतकी छोरी पार्वतीलाई उनका बाबु हिमालय पर्वतले श्री महादेवसँग नभई विष्णुसँग विवाह गरिदिन लागेपछि पार्वतीले आफ्नो इच्छा अनुरुप महादेव पति नपाउने भएको थाहा पाएपछि उनले आफ्ना साथीहरु डाकी आफुलाई लुकाएर राखी दिन अनुरोध गरिन् र उनको अनुरोध अनुसार साथीहरुले पार्वतीलाई एउटा जंगलमा लगी लुकाएर आए । ‘ तत्पश्चात पार्वतीले त्यही जंगलमा बसी महादेवको नाममा शिवलिङ्ग स्थापना गराई पूजा आराधना गरिरहिन् ।
पछि उनी सफल भइन् अर्थात् उनले महादेव पति पाइन् । यही साथीहरुद्वारा हरण गरी एकान्तमा राखेको बेला गरेको व्रत हुनाले उक्त व्रतको नाम हरितालिका रहन गयो । फलस्वरुप त्यही दिनदेखि प्रत्येक नेपाली चेलीहरुले भाद्र शुल्क द्वाद्धशीदेखि ऋषि पञ्चमीसम्म तीज पर्व भनेर हरितालिका मनाउने थाले भन्ने किम्बदन्ती पाइन्छ । हरितालिकाको अघिल्लो दिन राती चेलीहरु जम्मा भएर माइतिघरमा दर खाएपछि सुरु हुने तीजको दिन प्रायजसो चेलीहरु निराहार पानी समेत पनि नखाई व्रत बसी महादेवको मन्दिरमा पूजाआजा गर्ने परम्परा छ । नाचगान गरी नारी हृदयका भावनालाई गीत संगीतबाट उजागर गर्ने गर्छन् नारीहरु ।
यसरी यो दिन व्रत बसेर विवाहित महिलाहरुले श्रीमानको गोडाको पानी खाएर ढोगेमा आयु लामो हुने विश्वास छ भने अविवाहितहरुले सुयोग्य, लगनशिल र शिवजस्तै पति पाउन भनी तीजको व्रत बस्ने गरेको पाइन्छ । यसैगरी बिहानै उठेर खोलामा गइ दतिउन खाने चलन पनि रहेको छ ।
दतिउन खाएर आएपछि ऋषि पञ्चमीको पूजा गर्नाले वर्षभरी गरेका सम्पूर्ण पापहरु नाश हुन्छन् भन्ने मान्यता पनि रहिआएको छ । आफ्नो क्षमता अनुसार तीज मनाउनु होला । तडक भडक, देखावटीपन भन्दा पनि आफ्नोपनमा बाँच्न सिक्नुहोला । हाम्रो घर–आँगनमा आएको तीजको सबैलाई शुभकामना ।

‘साउन लाग्यो केटी हिँड् हरिया चुरा लाउन जाम ।’ आवाज मेरै कानमा ठोक्कियो । किनकी मैले हरियो चुरा र मेहेन्दी लगाउँदिन भन्ने थाहा हुँदाहुँदै जिस्काउँथे साथीहरु । ‘ओहो ! यस्को त मेहेन्दी कति गाढा बसेको, बुढाले धेरै माया गर्ने भयो !’ ‘हा हा हा’ यस्तै कुराहरुमा रमाए मेरा साथीहरु ।
‘खोई तेरो हात !,’ मेरो हात हेर्दै एउटीले भनी, ‘यसलाई त बुढाले माया नै नगर्ने रैछ । खोई तेरो हातमा चुरा ?’ मलाई चुराको आवाज झर्को लाग्छ, मेहेन्दीको रङ्गसँग जलन हुन्छ । बस् यति भनेँ । साउन लाग्नासाथ हरियो पहिरन लगाउने देखि हातमा चुरा अनि मेहेन्दी लगाउने प्रचलन बढ्दो छ । पछिल्लो समय फेसनकै रुपमा बढदै गएको यो प्रचलमा केही किंवदन्तीहरु जोडिएका छन् ।
प्राचीन किंवदन्ती अनुसार मेहेन्दी, हरियो चुरा र ब्रत बस्दा विवाहित महिलाका श्रीमानको आयु बढ्छ भन्ने मान्यता छ । श्रीमतिको लागि श्रीमानले ब्रत बस्न आवश्यक छ कि छैन् ? विवाहित महिलाले यसरी चुरा मेहेन्दी लगाउँदा उनीहरुको सुन्दरता सामान्य भन्दा बढ्ने गर्छ जसले श्रीमानमा श्रीमतीको आकर्षण कायम राख्छ । श्रीमती मात्र श्रीमानको अगाडि राम्री बन्नुपर्ने यो कस्तो मान्यता !
श्रीमतिले ब्रत बस्दा स्वास्थ राम्रो हुनुका साथै श्रीमति प्रति श्रीमानको सम्बन्ध प्रगाढ हुने गर्दछ भन्ने मान्यता पनि जनमानसमा छ । मेहेन्दीले पनि स्वास्थमा फाइदा पुर्याउँछ । मेहेन्दीको शीतलताले तनाव, टाउको दुखाई र ज्वरोबाट राहत प्रदान गर्ने मान्यता रहिआएको छ ।
हातमा मेहेन्दीले नाम लेख्दैमा कोही आफ्नो हुन्छ र ? मेहेन्दी गाढा बस्दैमा माया प्रेम प्रगाड बस्छ र ? स्कुल पढ्दा साथीहरुको लहलहैमा म पनि हातमा चुरा र मेहेन्दी लगाउथेँ । केही दिनमा हातै नराम्रो बनाउने गरी मेटिने मेहेन्दी र फुटेर जाने चुराहरुले मेरो हातै रित्याएर गएझैँ लाग्थ्यो । आजकल यस्तो लाग्छ, जीवनमा सम्बन्धहरु पनि मेहेन्दी र चुरा जस्तै हुन् केही दिन रङ्ग दिन आउँछन् तर आफैँलाई रित्याएर जान्छन् ।
पछिल्लो समय फेसनकै रुपमा यो प्रचलन बढिरहेको छ । एउटी नारीले हरियो चुरा र मेहेन्दी लगाएर पुरुषको स्वास्थ्य लाभ हुन्छ भने नारीको स्वस्थ्य लाभका लागि पुरुषले के गर्ने ? वर्षै्पिच्छे ब्रत बसेर हातमा मेहेन्दी र हरियो चुरा लगाउने पल्लो घरकी दिदिका श्रीमानले अर्को श्रीमती लिएर टाप कसे ।
ब्वाइफ्रेन्डको नाम लेखेर उसकै लागि हातमा मेहेन्दी लगाउने मेरा साथीहरुका ब्वाइफ्रेन्डहरुले ब्रेकअप दिए । कुनै समय म पनि उसका लागि मेहेन्दी र चुरा लगाउँथे । उसले त अर्कैसँग बिहे गर्यो । आजकल मलाई यी सब चिज भ्रम लाग्छन् र म केही पनि लगाउँदिन म । “ हो । मलाई चुराको आवाज सुनेर झर्को लाग्छ ।
मेहेन्दीको रङ्ग देखेरै जलन हुन्छ । अचेल बजारमा चलेका अनेक रङ्ग छानी छानी लगाउने चलन जो छ, थरीथरीका चुरा किनेर लगाउने चलन जो छ, ति सबै फिका लाग्छन् । साउने सक्रान्ति एक संस्कृति हो भन्नेमा सन्देह छैन । तर यस्ता चाडसँगै झुन्डिएर आउँछ बजार । जसले आम मानिसका रुची आफैँ सृजना गर्छ र भब्य ब्यापार बढाउँछ । हामी तिनै बजारीया वस्तुको रामरमितामा मक्ख पर्छौँ र सृजनशिल कामबाट बन्चित बनेको पत्तो हुँदैन । यस्ता मननयोग्य तर्क धेरै महिलावादीहरुको छ ।
मेरो सन्दर्भ फरक छ । मैले यसलाई सैद्धान्तिक तहबाट हेरिन । जतिबेला म सोच्थेँ, यी रङ्गहरुले जीवनमा खुसी र समृद्धि थप्नेछन् । अनेकथरी झिलिमिली चुरा र रंगिबिरंगी मेहेन्दीले प्रेमिल जीवनमा पक्कै नयाँ उर्जा दिएलान् भन्ने लाग्थ्यो । तर मेरो सोझो अनुभवको कुनै पनि कोणबाट त्यस्तो देखिएन । मैले सैद्धान्तिक तहबाट बहस नछेडे पनि यस्ता कुराहरुप्रति कुनै विश्वास रहेन ।
‘ आफैँले असाध्यै प्रेम गर्ने मान्छेले त जीवनलाई रङ्गिन बनाउन सकेन, दुई दिनमै उँडिजाने बजारीया रङ्गहरुले कसको जीवन रङ्गिन बनाउन सक्ला र ! लाग्छ की, हामी मान्छे र तिनका व्यवहारमा विश्वास गर्न छोड्छौँ । तिनका व्यवहारलाई बुझ्न सक्दैनौँ तर मान्छेले बनाएका चुरा र रङ्गहरुमा विश्वास गर्छौँ ।
यो आफैँमा एक भयंकर अन्योलता हैन र ? सोध्नुछ, थुप्रै युवतिहरुलाई जो आफ्नो प्रेमीलाई खुसी बनाउन चुरा छान्दैछन्, रातभर जाग्राम बसेरै हात रंग्याउँदैछन् । तिनका प्रेमीहरु पनि तिनिहरुप्रति प्रतिबद्ध छन् त ? मैले थुप्रै साथीहरु देखेको छु, जो हरेक साउने सक्रान्तिमा प्रेमीलाई खुसी पार्न हात रंग्याउँछन्, चुरा लगाउँछन् । तर अर्को साउन लाग्नुअघि नै तिनिहरु प्रेमीले धोका दिएको काहानी सुनाएर रुन्छन् ।
यस्तो सुन्दा मलाई तिनिहरुप्रति माया लाग्दैन, बरु दया लाग्छ । ‘ हरितालिका तीज, कृष्णाष्टमी, औंशी, साउने सक्रान्ति । यस्ता थुप्रै चाडले संस्कृति मात्रै बोक्दैनन् । युवतिहरुलाई सृजनशिल हुने बाटो पनि रोक्छन् । कहिलेकाहीँ त सोच्छु, महिलाहरु लोग्नेलाई खुसी पार्नकै लागि जन्मिएका हुन् त ? आफ्नो आयु घटेको पत्तो छैन, लोग्नेलाई खुसी पार्न उद्यत महिलाहरु देख्दा उदेक लाग्छ ।

एसएलसी पछिको कलेज लाईफ, रमाईलो नै थियो । बिहानीको कलेज र दिनभर फुर्सदको समय कहिले चाईनिज गुम्बा त कहिले पोखराका सुन्दर तालहरु । कलेजबाट भागेका ती दिन अनि कहिलेकाहीँ नक्कली हस्ताक्षर गर्दै गेटमा बस्ने ‘मामा’लाई समेत झुक्यएका ती पल ।
स्कुले जीवन सकिएपछि आफूलाई पिँजडाबाट निस्केको सुगा जस्तै लाग्थ्यो । चारजनाको ग्याङ, सबै उस्तै प्रबृत्तिका हाँसोमजाक अनि खेल ठट्टामा रमाउने । सबैको हात–हातमा मोबाइल हुन्थ्यो । मुख बङ्ग्याउदै खिचेको सेल्फी । फेसबुकमा लेखेको क्याप्सन, आज सम्झँदा असिम आन्नद आउँछ साइनालाइ। उर्लँदै गरेको बैँशसँगै झ्याङ्गिदै गरेका अनगिन्ती रहरहरु । रहरै रहरमा ब्वाईफ्रेन्ड बनाउने सोच आउँथ्यो । आफ्नो ग्याङमा सबैको ब्वाईफ्रेन्ड हुँदा साईनालाई पनि एक्लो महशुस हुन्थ्यो ।
‘मेरो ब्वाईफ्रेन्डले आज मलाई बाईकमा कलेज ल्याईदियो’, ‘मेरो ब्वाईफ्रेन्डले टेडी र लुगा किनिदियो’ भन्दा उसलाई पनि आफ्नो कोही भएको भए म पनि त्यसरी नै सुनाउँथे भन्ने मनमा लाग्थ्यो । स्ट्रेट गरेको सिल्की कपाल, गोरो वर्ण, कुहिरा आँखा अनि लोभ्याउँदो उचाई । कलेजमा उसलाई प्रपोज दिनेको कमी थिएन । मनले रोजेको र खोजेजस्तो केटा नपाएर या आमाबाबाको डरले उसलाई ब्वाईफ्रेन्ड बनाउने बारे असहज थियो । बाबा आमाकी एक्ली र जेठी छोरी छोरी ।
घरमा रहेको भाई, दिनहुँ मोबाइल चेक गर्ने उसको बानी । यिनै कुराले पनि उ ब्वाइफ्रेन्ड बनाउन डराउँथि । ब्वाईफ्रेन्ड भएपछि फोनकल, म्यासेज भईहाल्छ अनि भाईले गाली गर्ला, आमालाई भनिदिएला ! अनि कुटाई खाने त पक्का थियो । परिवारकै बेइज्जत हुने कुराप्रति पनि उनी चिन्तित थिइ । केही समय मन बुझाएरै बसेकी थिइ तर दिनहुँ तिनै साथीहरुसँगको भेट अनि केटाहरुको लभ प्रपोजहरु । फेसबुकमा च्याट गरेर ‘हाई’, ‘हेल्लो’ गर्ने अनि ‘तिमी कति राम्री’ भन्नेको कमी थिएन ।
उमेरको प्रभाव न त हो कसले कस्तो नजरले राम्रो भनेको छ भन्ने सोच कहाँ आउँछ र ? सबैको नजरमा राम्री देखिन मन लाग्छ, सबैले आफैँलाई नै हेरुन् भन्ने लाग्छ । झयाउँकिरीले पनि तँ धेरै राम्री छेस् भन्दै गीत गाए झैँ लाग्थ्यो । एउटा साथीको दाईसँग फेसबुकमा च्याट हुन थाल्यो । कहिलेकाहीँ साथीको घर जाँदा अक्कल झुक्कल देखिने गथ्र्यो । काले भए पनि हिस्सी परेको । साइन्समा १२ कक्षा सकाएको थियो । ‘तपाईँ’ सम्बोधन देखि सुरु भएको त्यो सम्बन्ध ‘तिमी’मा पुग्यो । एकतिर एघार कक्षको परिक्षा नजिकिँदै थियो भने अर्कोतिर मनको रहरले मायाको डेरा जमाउँदै थियो । फेसबुकमा च्याट गरेर घण्टौ बितेको पत्तै हुँदैनथ्यो ।
भाईले मोबाइल हेर्छ की भनेर उसको च्याट डिलिट गर्ने बानी थियो । फोनकल खासै हुँदैनथ्यो । परिक्षा भन्दा पनि उसँगको सामिप्यता प्यारो लाग्न थालेको थियो । किताब अगाडि राखेर मोबाइल चलाउने बानी परेको थियो । जति कुरा गरे पनि अपुग नै लाग्थ्यो । “ घण्टौ च्याट गर्दा पनि अझैँ बोलिरहुँ जस्तो लाग्थ्यो । उसलाई मन पराउँछु भनेर भन्न नसक्ने ।
उसले पनि केही भन्दैनथ्यो । प्राय केटाहरु केटी आफूसँग बोलेपछि अब आफनै हो भन्ने सोच राख्छन् रे । खोई उसले मनमा के सोच्यो । बिस्तारै फोनकल हुन थाल्यो । घरमा हुँदा बोल्न डर लाग्थ्यो । कलेज जाँदा आउँदा बाटोमा कुरा हुन्थ्यो । आमासँग कपी किन्नु छ भनेर पैसा मागी रिचार्ज कार्ड हाल्ने गर्थे । ‘केटाहरुलाई कति मोज है ? जतिबेला जहाँ हिँडे पनि जोसँग बोले पनि कसैले केही नभन्ने ।’ एकदिन साइनाले सोधी । ‘केटी हुनु मोज छ नी । विदेश जाने केटा खोजेर बिहे गरे भैहाल्यो ।
आफूले केही नगरे पनि हुने’, उसले भन्यो । ‘आजकल त केटीहरु पनि पढेर जागिर खान थालेका छन् । सबै केटी त्यस्तो सोचका हुँदैनन् ।’ साइनाले उत्तर दिइ । उसले पनि मौका छोपेर भन्यो, ‘सबै केटाहरुलाई पनि फ्रिडम हुँदैन नि ।’ यस्तै कुरा हुन्थ्यो । धेरैजसो च्याटमा नै करा हुन्थ्यो । च्याटबाट नै उसले प्रपोज राखेको थियो । साइनाको मनमा मायाको खिल बसिसकेको थियो । ‘लभ यु टु’ भन्न धेरै सोच्नुपरेन । साथीको घरमा जान्छु भनी घरमा ढाँटेर पहिलो डेट जाने सल्लाह भएको थियो ।
उनीहरुको पहिलो डेटिङ चाइनिज गुम्बा थियो । ‘ थोरै लाज अनि धेरै माया व्यक्त गर्न ओठहरु आतुर रहे पनि दुवैले व्यक्त गर्न सकेनन् । उसले हात समाउँदा समेत साइनाको मनमा डरका काँडाहरु उम्रिए । हात समातेर जीवनका उकालाहरु उक्लने बाचाका साथ सँगै उक्लिए । बिस्तारै उ आफना हातहरु साइनाको केसमा ल्याउँदै थियो । उ परपर सरेजस्तो गर्थि । यत्तिकैमा एक दिन सकियो । साइनाभन्दा उ एक वर्ष सिनियर थियो । ब्याचलर्स गर्न काठमाडौँ गयो । फेसबुकमा च्याट हुँदै थियो । साइना पनि १२ कक्षाको परिक्षा दिएर बसेकी थिई । काठमाडौँ गएर पढ्छु भन्दा परिवारबाट अनुमति मिलेन उासलाई ।
माया व्यक्त गर्ने केबल एउटा फेसबुक थियो । उसले काठमाडौँमा एक्लै बस्दाको दुःख सुनाउथ्यो ।बिहे गर न सुख हुन्छ भनिदिन्थी साइना । अहिले कहाँ बिहे गर्नु अझै १० वर्ष गर्दिन भन्थ्यो उ । पढाई सकेर जागिर खाई आफ्नै खुट्टामा उभिएपछि बल्ल बिहे गर्ने हो भन्थ्यो । यता साइनाको घरमा आफन्तहरु बिहेको कुरा दिएर आउँथे । विदेशमा पिआर पाएको गतिलो केटा छ भन्थे कोही, कोही डाक्टर सकेर जागिर खाँदै छ भन्थे । ‘अहिले बिहे गर्ने मनसाय छैन’ भन्दा ‘तेरो कोही छ भने भन्’ भन्थे । मनमा कोही त थियो तर उसको बिहे गर्ने मनसाय थिएन ।
चिना हेराउन जाँदा पनि ज्योतिषले तिम्रो चिनामा लगन जुरेको छ जसरी पनि अहिले बिहे गर्नुपर्छ नत्र ३५ वर्ष नकटी गर्न हुँदैन भनेका थिए । ‘ साइना दोधारमा थिई, घर परिवारलाई ‘म कसैलाई माया गर्छु’ भन्न पनि सक्दिनथी र माया गरेको व्यक्तिलाई ‘भगाएर लैजाउ’ भन्न पनि सक्दिनथी । उ भर्खर पढ्दै थियो । यो कुरा आफनो प्रेमीलाई सुनाउँदा ‘तिमी खुसी छौ भने बिहे गर भन्यो ।’ दोधारकै बिचमा अष्ट्रेलियामा पिआर भाको केटासँग उसको बिहे भयो । धुमधामसँग लगनगाँठो बाँधियो । सइना अहिले अष्ट्रेलियामा छे । ब्लक गरेको पहिलो प्रेमीलाई अनब्लक गरेकी छे र बेलाबेलामा उसको वालमा गएर नयाँ गतिविधिहरु हेर्ने गर्छे । उसले चाहीँ अहिलेसम्म बिहे गरेको छैन ।

पत्रकारितामा अब्बल, सामाजिक संजालमा चर्चित नाम हो अक्षर काका । उनैले लेखेको उपन्यास देउती । समाजमा बाँच्नका लागि नारीले भोगेको दुःख । यात्रामा भोगेका कठिनाई । हाम्रो हजुरआमाको पुस्ताको भोगाइलाई सजिव शब्दमा उतारेका छन् लेखकले ।
उपन्यासकी प्रमुख पात्र देउती, जसले वास्तविक दुःखको गहिराइमा पुगेर जीवन यापन गरेकी छिन् । उनीजस्तै हजारौँ देउतीहरु अझै पनि समाजमा थुप्रै छन् । उपन्यास ‘देउती’ले उनको कहानी मार्फत हजारौँ देउतीको पीडा ओकेलेको छ ।
सानै उमेरको बिहे अनि घरधन्दामा फसेको उनको जीवन । बन्धनबाट उम्कन नदिने पुरुष अनि नारी भएर नारीकै मर्म नबुझ्ने समाजका काँडाहरु । सानै उमेरमा बिहे हुने प्रचलमा केही सुधार आए पनि अझै नारीहरु पुरुषकै पैतालामा दबिएर बस्न बाध्य छन् । ‘नारीले यो गर्न हुन्छ , त्यो गर्न हुदैन, यो खान हुन्छ त्यो खान हुँदैन’ । सबै पर्खाल नारीमा मात्र किन ? परापूर्व कालदेखि चल्दै आएका कुसंस्कारको घेराबाट अझै नारीहरु बाहिर निस्कन सकेका छैनन् ।
भारतको धार्मिक स्थल काशी गएका श्रिमानको पर्खाइमा बितेको देउतीको जीवन, भरभराउँदो बैँस, फूल्दै गरेकोे उनको यौवन । त्यही यौवन र जवानीमा आँखा लगाउने बलत्कारी यही समाजमा छन् । विदेशीएको श्रिमानको पर्खाइमा आफ्नो जवानी धेरैले रित्याएका छन् । तिरस्कार खेपेर एकल जीवन धेरैले यापन गरिरहेका छन् ।
बिहेपछि सासुलाई कोसेली लगेर खाममा पैसा हाली ढोग्ने चलन । बुहारीले जेठाजुलाई छुन नहुने प्रचलन, छोराछोरी पाउना साथ माइती बसेर आउँदा कोसेली र लुगाफाटा दिने चलन अझै पनि हाम्रो समाजमा बिध्यमान छ ।
माइतीले एकपटक सुम्पिएपछि लोग्ने चोर, फटाहा, आवरा, गुन्डा, जँड्याहा जस्तो भए पनि खपेरै बस्नुपर्ने सामाजिक मान्यता अझै छ । आफ्नो ईच्छा भन्दा पनि समाजले के भन्ला भन्ने मानसिकताबाट ग्रसित छन् नारीहरु । हिँड्दा, बस्दा, खाँदा सजग हुनुपर्ने बन्धन त समाजले लगाइदिएको नै छ । कठै ! पानि कुवामा उभाउँदा पनि बिचार पुर्याउनुपर्ने नारीको जीवन । त्यस्ता अनगिन्ति पीडालाई उपन्यास ‘देउती’ मा लेखक अक्षर काकाले कालत्मक रुपमा उतारेका छन् । प्रश्न उठ्छ की, अझै कतिसम्म गुज्रिने यस्तै पीडामा नारीहरु ? जब एउटा नारी नै अर्काे नारीको बिरोधमा लाग्छन् भने कसले मुक्तिको अपेक्षा राख्ने ?
देउतीलाई ‘बौसी’ भन्ने जिम्मल्नीजस्तै पात्र समाजमा कहिलेसम्म प्रभावशाली बन्दै जालान् ? यस्तो चिन्ताबारे पनि लेखकको चिन्तन पुगेको छ । महिलाहरु शिक्षित र आत्मानिर्भर बन्नु नै अन्तिम बिकल्प हो ? यो समाज र पुरुषले महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन कति आवश्यक छ ? यो प्रश्न महिलामाथि अत्याचार र दमनको राज गर्ने सबै पुरुषहरुलाई ।
सन्तान जन्मँदा नारीले खप्ने प्रसव पीडा र सन्तान नहुँदा समाजले दिने तिरस्कार । त्यही तिरस्कारले अन्तिम मृत्युको बाटो रोज्ने माइली । जसले समाजमा सन्तानविहिन नारीहरुको प्रतिनिधित्व गरेकी छिन् । कुरा काटेकै भरमा उनको मृत्यु हुनुले अझै पनि नारीहरुमा ज्ञानको अभाव छ भन्ने प्रष्ट छ पुस्तकमा । ‘पटक–पटक मर्नुभन्दा एकैपटक मर्न जाती’ भनेर मृत्युको साथ लिएका खबरहरु बेला बेलामा पढ्न पाइन्छ । किन यस्तो मृत्युको शिकार पुरुष हुदैनन् या सधैँ नारी नै हुने गर्छन् ?
छोरीको बिहे गरिसकेपछि पनि छोरो पाउने मोह । शिवप्रसादको तुच्छ बोली । महामरीले चिहानसम्म पुर्याएको रुकुको ज्यान । रुकुको मृत्युपश्चात छोराको मुख हेरेर अर्काे स्वास्नी नभित्र्याएका शिवप्रसाद । छोराको साट्टो अर्काे पनि छोरी भएकी भए उनले अर्काे बिहे गर्थाे होलान् या गर्दैनथे ? पढ्दै जाँदा मनमा उठेको जिज्ञासा ।
इराल्नी बजैले बुहारीमा देखाएको स्नेहभाव । यो उपन्यासको सकरात्मक पाटो हो । सासुले बुहारीलाई हेला गर्ने, होचाएर बोल्ने प्रवृतीमा अपेक्षा गरिएको सुधार हो । यस्तै व्यवहार सबै सासुले गर्दिए बिहेपछि पनि पढ्न र जागिर खानबाट नारीहरु बन्चित हुदैँनथे भन्ने एउटा उदाहरण हो ।
साइँलादाईलाई गाउँका महिलाहरुसँग बोल्यो र सहयोग गर्याे भनेर त्यो सँग पल्कियो भनेर लगाइएको आरोप । समाजमा एकल महिला मात्र होइन एकल पुरुष पनि घृणाको पात्र बन्दा रहेछन् भन्ने चित्रण छ । श्रिमती मरेपछि बिहे नगरी बसेका उनीमाथि पनि बारम्बार आरोप लगाइएको छ ।
उपन्यासका अन्य पात्र तोयानाथ, हरे, गोविन्ध, विष्णू, आदिको भुमिका पनि पठनीय छ पुस्तकमा । उपन्यासमा लेखकले विम्व र प्रतिकको राम्रै प्रयोग गरेका छन् । उखान, टुक्का पनि कलात्मक ढंगले मिसाएका छन् । प्रकृतिप्रेमलाई राम्रोसँग उतारेका छन् । पुस्तक पढिरहँदा कथाको वास्तविक स्थान सिन्धुपाल्चोक नै पुगेको भान हुन्छ ।
उपन्यासमा प्रयोग भएका केही शब्द जस्तै घाल्चा, आट, रउँ, खोरिया, गाँती, खाक, निट्यान जस्ता शब्दले पढ्दा केही असहज महशुस हुन्छ । तर ति शब्दको सही प्रयोग भएको पाइन्छ । स्थानीय परिवेशमा बोलिने कथ्य भाषा लेखकले जस्ताको त्यस्तै टिपेर बुन्दा उपन्यास थप आकर्षक बनेको छ । उपन्यासका पात्रको नाम चयन गर्दा उपन्यासकारले केही कन्जुस्यार्इँ गरेको भान भयो, कान्छा र कान्छी नामका दुई भन्दा बढी पात्र भएकोले पढ्दै जाँदा अन्योलमा परिन्छ ।
