sabita sapkota. Powered by Blogger.
मिस यु पोखरा

जुनदिनदेखि तिम्रो साथ त्यागेर आएँ, त्यो दिनदेखि खुशी छैन म । देखावटी हाँसो सजाएर बाँचेकी छु । हजारौ सपना काँधमा बोकेर उज्वल भविष्यको खोजीमा तिम्रा यादहरुलाई एउटै सुटकेसमा चाबी लगाएर तिम्रो न्यानो काखलाई त्यागेकी थिएँ । हुन त मैले कसैको करकापमा तिम्रो मायालाई त्यागेकी होईन । म आफ्नै ईच्छाले पाईला अघि सारेकी हुँ ।

सुनसानमा तिमीसँग एक्लै गफ गरिरहँदा समय बितेको पत्तो हुँदैनथ्यो । तिम्रो काखमा बसेर सुन्दर भविष्यका कहानी रच्दा मलाई छुट्टै ग्रहमा पुगेको आभास हुन्थ्यो ।
देशको केन्द्रमा छु । मैले चाहेका हरेक कुरा सिक्न सक्छु । आफूले चाहेको विषय पढ्न सक्छु । तर म जे पढे पनि जहाँ काम गरे पनि तिमीलाई मिस गरिरहेकी हुन्छु ।

जब म सुन्दरीजल पुग्छु, तिमीसँग डेभिज फल्स घुमेको याद आउँछ । तिम्रै आँखा अगाडि डेभिज फलमा किनेको मालाले त्यो याद झनै गाढा बनाइदिन्छ ।जब यहाँको ह्वाइट गुम्बा पुग्छु, मलाई चाईनिज गुम्बाले बोलाएजस्तो लाग्छ ।

जब नगरकोटमा म एक्लै रुमलिन्छु, सराङकोटको चिसो बतासले हानेजस्तो लाग्छ ।
हरेक मान्छेले जीवनमा एउटा न एउटा कुरा मिस गरिरहेका हुन्छ रे । कसैले परिवार, कसैले आफन्त, कसैले प्रमी अनि कोहिले प्रमिका । म भने सधैँभर तिमीलाई मिस गरिरहेकी हुन्छु ।  आई मिस यु पोखरा ।

स्कुल पढ्दा काठमाडौँ  देशको राजधानी हो भनेर पढेँ । ठूलो भएपछि काठमाडौँ अवसरहरुको खानी हो भनेर बुझें । त्यहाँ गएर पढ्न सके आफ्नो करिअर उज्वल हुन्छ भन्ने बुझे ।

जब कसैले तिम्रो घर कहाँ हो ? भनेर सोध्छन् त्यतिबेला म तिमीलाई मिस गर्छु अनि ङिच्च दात देखाएर भन्छु पोखरा ।प्राकृतिक सौन्दर्यले भरिपूर्ण पोखराको बयान जति गरे पनि अपूरै हुन्छ । फेवातालको आँगनमा रहेको माछापुच्छ्रेको छायाँले मेरो मन सधैभर उतै तानिरहेको हुन्छ ।  

पढाई सकेर उतै फर्किने बाचाको साथ यो मनलाई बुझाउँछु । यहाँको धुवाँ, धुलो , मान्छेहरुको भिड के थाहा तिमीलाई ? म आएर सबै कहानी तिमीलाई सुनाउँनेछु । उफ ! एकदिन पानी पर्दा हिलाम्मे भएर गाडिएको मेरो खुट्टामा बसेको डाम छिटै देखाउँछु तिमीलाई । 

बिहान उठेदेखि बेलुकीसम्म खोई किन हो मेरो मन शान्त रहँदैन, सायद तिमीले दिने गरेको स्वच्छ हावाकोे सास लिन नपाएर हो कि ? मनमा कता कता छट्पटी चलिरहन्छ । सायद तिम्रो साथदेखि टाढा भएर हो कि ? म मात्र होईन, पोखराका अन्य साथी पनि यस्तै भन्छन् । बाँच्न गाह्रो भइरहेको कहानी सुनाउँछन् । तिनीहरुसँगै म छिटै पोखरा फर्किनेछु ।

जब कोही भन्छन्, ‘त्यति सुन्दर पोखरा नगरी छोडेर किन काठमाडौँ आयौ ?’ त्यतिबेला पनि म तिमीलाई मिस गर्छु । अनि भन्छु, ‘पढाईका लागि ।’बाटोमा गाडीको जाम टिँ...टिँ. बज्ने हर्नको आवाज कहिलेकाहीँ त फर्किँदा तिम्रो बोली नसुन्ने हुन्छु कि जस्तो लाग्छ । यहाँको धुवा धुलोले तिम्रो प्रकृतिक सौन्दर्यलाई नदेख्ने भएर फर्किन्छु कि जस्तो अनुभव हुन्छ ।

देशका विभिन्न भेगबाट आएका मान्छेहरुले आफ्नो ठाउँलाई मिस गरेको कुरा गर्दा म भने तिमीलाई मिस गर्छु । आइ मिस यु पोखरा । 

-आदर्श समाज दैनिकमा प्रकाशित