sabita sapkota. Powered by Blogger.
महिला राष्ट्रपतिका नाममा...


छोरो पाउने निहुँमा  चार छोरीकी आमा बनिसकेकी तल्ला घरकी काकीलाई अझैपनि छोरो पाउने दबाब छ। दिनभर काम गर्ने र रात परेपछि रक्सी धोकेर आउने उनका श्रीमानले दिनहुँ छोरी पाएको निहुँमा उनीमाथि अत्याचार गरिरहेका छन्। तल्ला घरे काकी एक प्रतिनिधि पात्र मात्र हुन्। खोज्दै जाने हो भने उनीजस्ता नारी यो समाजमा कैयौं भेटिन्छन।
छोरोलाई अन्नपानीको दाता, बुढेसकालको सहारा अनि मरेपछि पिण्ड दिने सन्तानको रुपमा स्वीकार्दै आएको हाम्रो समाजले अझैपनि छोरीलाई न्याय दिन सकेको छैन। छोरो पाउने निहुँमा एउटी छोरीलाई बढन नपाउँदै, गर्भमै निमोठेर फाल्न विवश छन् यो देशका नारी। आखिर के दोष त्यो सानो बालकको, जसलाई समाजले,  दुनियाँले अनि यहाँका मान्छेले गर्भपतनको नाम दिएका छन्, सजिलै स्वीकारेका छन् अनि छोरो पाउने निहुँमा दिनहुँ हजारौं महिलाको घुइचो छ, ती प्राइभेट क्लिनिक अनि मेरी स्टोप सेन्टरमा।
बारीमा रोपेको बिरुवा सुक्दा कति दुःख लाग्थ्यो हाम्रा हजुरबालाई, तर आजको आधुनिक जमना र  युगका मानिसले पेटमा हुर्कदै गरेको नवजात शिशुलाई निमोट्छन, चिमोट्छन अनि सजिलै हत्या गरिदिन्छन। विचरा छोरी हुनुमा उसको के दोष, तर दोष दिन्छ यो समाज, परिवार अनि  मान्छे।

एउटा कुखुराको पोथी आफ्नो चल्ला कोरली सकेपछि कसैले छोयो भने ठुग्न जान्छ तर आजका मनिस कुखुरासंग तुलना गर्न पनि लायक रहेनन।
समाज बदलियो, युग बदलियो तर बदलिन सकेन छोरीलाई कमजोर ठान्ने त्यो सोच।

देशको सबैभन्दा अग्र स्थानमा महिला पुग्दा समेत गर्भपतन दिनहुँ बढ्दै गएको छ। एक सन्तान जन्माइ सकेपछि अर्को सन्तान पेटमा रहँदा छोरो हो या छोरी भनी भिडियो गरी हेर्ने प्रवृति शिक्षित वर्गमा समेत देखिने गरेको छ। अरुलाई ज्ञान दिँदै हिँड्ने तर आफू नै त्यो कुरालाई जीवनमा लागु नगर्ने शिक्षित वर्गको शिक्षा बालुवामा हराएको पानी जस्तै  बनेको छ।
एउटा मात्र होइन सातवटा छोरा जन्माएका बाबुआमा समेत गाउँको घरमा एक्लै बसिरहेका छन्। छोराले बुहारी लिएर बजार झरेपछि एक्लो जीवन गुजारिरहेका ती बाबाआमाले पनि ठूलो सपना सजाएका थिए होलान्। बुढेसकालको  साहरा ठानेका थिए होलान्।
के छोरामात्र सबथोक हुन र ? होइन भने किन हुन्छ गर्भपतन अनि किन गरिन्छ बढ्दै गरेकी  भ्रुण छोरीको हत्या?

राम्रो शिक्षा र अवसर दिने हो भने छोरीले पनि आफ्नो खुट्टामा उभिएर आफ्नो जीवन आफैं धान्न सक्छन्। छोरीलाई बिहे गरेर अरुको घरमा पठाउन पर्ने भएकाले पनि धेरै बाबुआमा छोरा नै चाहन्छन्। अरुको घरमा जाने भएपनि के छोरीको बाँच्ने अधिकार छैन ररु छ भने छिटै कम होस् मेरी स्टोप सेन्टर अनि हस्पिटलमा लाग्ने त्यो भीड।
महिला राष्ट्रपति भएको देशमा हुर्कन नपाउँदै छोरीले ज्यान गुमाउन नपरोस्। छिटै अब देशमा महिलाहरुको आफ्नो हक र अधिकार सुनुश्चित होस्। महिला राष्ट्रपति भएको देशमा महिला छोरीहरूको गर्भ मै हत्या नहोस्।
- सेतोपाटिमा प्रकाशित