sabita sapkota. Powered by Blogger.
सपनाकी बेहुली


छोरी भएर जन्मिसकेपछि पराईको घरलाई आफनो सम्झेर जानुपर्ने विधाताको नियमलाई कसैले पनि हत्कडी लगाउन नसक्दो रहेछ । रातो साडी, रातै चुरा सबै रातो पहिरनमा सजिएर बेहुलीबन्दा सबैको मुहार मोतिझँै चम्केको देखिन्छ । बाबा आमाको न्यानो काख र मायामोहलाई त्यागेर पराइको अँगालोमा रमाउनुपर्ने नियमले साथीभाई, आफन्त सबैलाई बिरानो बनाउँदो रहेछ ।  

लामो यात्रामा अदम्य साहास बटुलेर एक्लै होमिएको मेरो मन निकै नै चिन्तित थियो । सधँै बसमा सँगै यात्रा गर्ने साथीको यादले एउटा पिडा थियो भने खाली रहेको सिटमा कस्तो मान्छे पर्ला भन्ने अर्को पीर थियो ।

कोहिसँग चाहेर पनि जीवन बिताउन नपाउने र कोहिसँग नचाहँदा नचाहँदै पनि जीवन जीउनु पर्ने दैवको खेल देख्दा पनि अचम्म लागेर आउँछ , मन भारी हुन्छ र म सुस्केरा हाल्न पुग्छु । केही बेरको समयपछि मेरो छेउको खाली सिटमा एउटा अर्धबैंसे युवक आइपुग्यो र यो सिट खाली हो भनी बस्यो । 

बषौँसम्म सँगै साथ बिताएकी साथीको बिहेमा जान आँटेकी म मनमा धेरै कुरा खेलाउँदै थिए । रहर भनूँ वा बाध्यता, पराईको अँगालोमा बेरीएर हाँस्नुपर्ने कठोर जीवनलाई म आफ्ना कल्पनाको किताबमा पाना पल्टाउदै थिए ।

घरमा सधैँ पढनु छ भन्दै खाएको थालमा चुठ्ने बानीले मनमनै आफैलाई गिज्याईरहेको थियो । यो जाडो याममा चिसो पानीले भाँडा माझ्दै गरेको सम्झिँदा पनि मन नै बरफ भएर आएको थियो । ओहो ! अरुका बाबा आमाले कस्तो व्यावहार देखाउने हुन् । सबै मानिस एकै हुँदैनन् । हुनत हाम्रा हातका ५ औला त बराबर हुँदैनन् । कतिपय घरमा बुहारीलाई नोकर नै सम्झन्छन् भने कोहि घरमा माया र स्नेहले सजाएर राखेका हुन्छन् । 

यो सबै भाग्यकै खेल हो जस्तो लाग्छ । आफ्नो भाग्यमा जे लेखेर आएको छ त्यो भोग्नैपर्छ र ढिलो या चाँडो जहिले भएपनि पराईको घरमा जानैपर्छ । भाग्यको खेललाई न इरेजरले मेटाउन मिल्छ, न त कटरले नै चुच्चो बनाउन । उफ ! यो चिसो मौसममा कसैले पनि विवाह नगरोस् । मेरो सोच पनि कस्तो त्यो भन्दैमा विवाहको लागि उपयुक्त मानिने मंसिर महिनामा लगन जुरेपनि बिहे नै नगरी बस्नु त ।

बिहेको दिनमा रातो पहिरनमा सजिँदा मोतिजस्तै टल्किन्छन सबै बेहुली । विधाताको नियमलाई न कसैले बाध्न सक्छ  न त कसैले रबर चुटाए जसरी चुटाउन । जुनसुकै केटिलाई पनि आफ्नो भावी श्रीमान असल परोस् , आफ्नो भावना बुझोस, दुखसुखमा साथ दिओस् , लक्ष्य चुम्न मद्दत गरोस् भन्ने लाग्छ । पुरुषको मस्तिष्क त म पढ्न सक्दिनँ, त्यहिपनि मैले सुने अनुसार पुरुषहरुलाई पनि आफनी श्रीमति अरुभन्दा स्मार्ट होस भन्ने लाग्छ रे । सम्मान भन्ने चिज दुवैले दुवैलाई दिनुपर्छ जस्तो लाग्छ ।

कहालीलाग्दो यो जीवन देखेर पनि यो मन त्यसै भारी भएर आउँछ । हातमा हतगडी र नेल सरह चुरा लगाउनुपर्ने, घाँटीमा गाई , गोरुलाई दाम्लो बाधे सरह पोते लगाउनुपर्ने, सिउँदोदेखि लिएर आँखा , ओठ सबै सजाउनुपर्ने ।  मन नलागेर भएपनि रातो पोसाकमा आफूलाई सजाउनुपर्ने । के एक नयाँ बन्धनमा बाधिन मैले यि सबै गर्नुपर्ने हो र ? के मेरो जिन्दगीको गन्तव्य यही हो ?

यसरी मैले नचाहेर भएपनि उसलाई साथ दिनुपर्छ भनेर सबैले सिकाउँछन् । छोरी भएर यो धर्तीमा जन्म लिएपछि आफ्ना इच्छा आकांक्षालाई एकातिर कुजाएर जिन्दगी नै अरुको निम्ती तर्पन गर्नुपर्दा मन नै बरफ जमेजसरी चिसिन पुग्छ ।  जीवनको लामो यात्रामा एकल जीवन जीउने यात्रीहरु पनि यो दुनियाँमा छन् । के उनीहरुले यी सबै सपना सजाएका हुँदैनन ?

विविध सोचहरुको भुमरीमा डुब्दै म त सपनीमा आपूmुलाई बेहुलिको रुपमा सजाउन पुगेछु । आफ्नै नजिक बसेको युवकलाई बेहुलाको भेषमा उसँगै रातो साडीमा सजिएर हिडेको सपनी देखेछु ।  बिहेको लागि कुनै सोच नबनाएको योे  मनले अचानक बेहुली बनेको सपना देख्दा म झसङ्ग भए ।  के बिहे पुर्व कुनै मोडमा  सबै नारीले यस्तै सपना देख्छन् र ? 

खाजा खाने ठाउँमा बसको बे्रक सँगै बिउँझिएकी म आफूलाई पाइन्ट टिर्सटमा पाउँदा झसङ्ग भए ।  खोई कस्तो दिवासपनामा रुमलियो मेरो मन । म त दिनमा सुत्ने र रातमा ब्यँुझिने उल्लूजस्तै भएछु ।

-कान्तिपुरको साप्ताहिकमा प्रकाशित