sabita sapkota. Powered by Blogger.
मायाको हाटबजारमा गुलाबको फुल




बिहानको ८ बजिसक्यो कति बेर सम्म सुतेकी , छिटो उठ छोरी मान्छे भएर यस्तो अबेर सम्म सुत्नु राम्रो होइन । आमा कराउँदै ढोका ढकढक गर्नुहुन्छ । रातलाई छिचोलेर बिहान किन हुन्छ ? आँखा मिच्दै ढोका खोल्छु । यो केटिले के गरेर खाली ? बिहे गर्ने उमेर भैसक्यो अझै ८ बजेसम्म सुत्छे । भोलिपर्सि सासूले झगल्टा रिङ्गाउदा चेत पाउँछे । अहिलेदेखि छिटो उठने बानी गरभन्दा कानमा तेल हारेर बस्छे । पढाई बाएक अरु केहि कामको ढङग छैन । 

भर्खर निन्द्रबाट बिउझिएकोले केहि बोल्ने साहस नै थिएन । कहिलेकाँही दुईचार शब्दले गाली गर्नु बाबा आमाको अधिकार हो जस्तो लाग्यो । जन्माउनु भयो , हुर्काउनु भयो , आफूले खान मन लागेको गास समेत नखाई मेरो पालन पोषण गर्नुभयो । आफ्ना सन्तानका आवश्यकतालाई साकार पार्न स्वदेशमा मात्र नभएर बिदेश होमिने अवस्था आयो ।

अझै बोल्न छाडनुभएन, छोरी मान्छे भएर बिहानै उठने , चोखोेपानी राख्ने , पूजापाठ गर्ने काम पो गर्नुपर्छ । त्यसमै बाबाले साथ दिनुहन्छ । के काम गर्थाे यसले, अस्तिको बिदामा गाउँ जादा गोबर फाल छोरी भनेको त हातमा प्लाष्टिक लगाएर फाल्न थालेकी थिई । हाम्रो पालामा फाटेको चप्पल लगाएर बिद्यालय जानु पर्दथ्यो । आजकलका केटाकेटी धेरै सुविधा पाएर बिग्रेका । 

के साँच्चै अहिलेको युवापुस्ता धेरै सुविधा पाएर बिग्रेका हुन त ? आज घरदेखि टाढा छु , बिहान छिटो उठाउने पनि कोहि छैन र १० बजेसम्म सुत्दासमेत किन यत्रो अबेरसम्म सुतेकी भन्ने पनि कोहि छैन । विगतका गाली सुन्दा रमाइलो लाग्छ र अझैपनि कोहि आएर गाली गर्दियोस् जस्तो लाग्छ । नराम्रो काम गर्दा तिमीले गर्ने लागेको काम गलत छ भने हुन्थ्यो जस्तो लाग्छ र राम्रो काम गर्दा ठीक छ अगाडि बढ भनेर हौसला प्रदान गरिदिए हुन्थ्यो जस्तो लाग्छ ।

अहिलेको जमानामा धेरै युवा पुस्ताको हातहातमा मोबाइल फोन छ , इन्टरनेटको पहुँच छ । धेरै ज्ञानगुनका कुरा तेहिबाट प्राप्त गर्ने सक्छन् । आफ्नो छुटटै दुनिया बसाउन मन लाग्छ । प्रायः होटलको कुनाकप्चामा बसेर चुरोटको धुवासँगै आफ्ना जीवनका रङ्ग उडाइरहेका हुन्छन् । अबेरसम्म सुत्दा गाली गर्ने मेरी आमालाई यसरी केटा, केटी मिलेर चुरोट तानेको देख्दा कस्तो लाग्दो हो ? आफ्नो पालामा बिहे भएको दुई महिनापछि मात्र बाबासँग बोलचाल भएको अवस्थामा अहिलेको युवापुस्ता अङ्गालो हाल्दै हिड्दा कस्तो लाग्दो हो ? सिनेमाको सिन जस्तो माइक्रो बसको अगिल्लो सिटमा बस्दा समेत चटक देखाउन नछोडने जोडि देख्दा, देखावटी माया कतिन्जेल टिक्छ जस्तो लाग्छ । 

दिवास्पनामा रुमलिएर खाली ठाउँ र पार्कमा , मायाको विज्ञापन देखाउदै हिडने युवापुस्ताले भित्राएको विकृति देख्दा अचम्म लाग्छ । मायाको नाममा दिइने गुलाबको पूुलपनि बनावटी जस्तै लाग्छ । आफ्नो संस्कारलाई बिर्सिएर पिश्चिमी संस्कारमा रुमलिएर हिडने युवापुस्ताको मायामा आत्मियता भन्दा पनि धेरै आक्रशण देख्ने गर्छु । आज एउटा सँग हिडछन भने भोली नै अर्काेको हात समातेर हिडेको देख्ने गरिन्छ ।

अहिलेका युवापुस्ताले गर्ने यो माया होकि देखावटि पन ? भ्यालेटाइन डे सँगै हप्ताभर मनाइने रोज डे , किस डे , हग डे , प्रमिस डे , प्रपोज डे , चकलेट डे, टेडि डेमा सामाजिक संजालका भिताहरु रङ्गिएका थिए । साथीले एकअर्कालाई जिस्काउदै र विभिन्न सामाग्रिहरु आदानप्रदान गर्दै यी दिन मनाए । धेरै पसलहरुमा व्यापार पनि टन्नै बढयो र नेपालले भारतबाट ४० लाखको गुलाब समेत आयात गर्याे । 

भोकमरीले देश रोएको समयमा सबै युवाले गुलाबको हाटबजारमा खर्च गर्ने पैसाले दीन दुखिलाई सहयोग गर्दा कस्तो हुन्थ्यो होला ? माया भन्ने चिज मनदेखि गर्ने हो , एकदिन मायाका नाममा प्रचार गरेर केहि हँुदैन । साँचो मनले गर्ने मायामा देखावटीपन हँुदैन र कसैले याई लब यू , यू आर बिउटीफुल, लोएल भन्दैमा माया बस्दैन ।
-आदर्श समाज दैनिकमा प्रकाशीत