sabita sapkota. Powered by Blogger.
सोचेजस्तो हुन्न जीवन


जीवनमा सबैभन्दा बढि आँसु झरेको दिन, पागल बनि बेसहारा भएको त्यो पल । तीन महिनाको लामो पर्खाईपछि आएका थियौ तिमी । सोचेभन्दा फरक र सीमा रेखा नै पार गरेर आयौ । तिम्रै निम्ति मैले मेरो बाबाआमाको धेरै पैसा रित्याए । आफूभन्दा ठूलाले दिने डरले गर्दा तिम्रा हरेक पाठ र पानाहरु सबै रटे । कुनै पाठ बुझेर रटे र कुनै नबुझि । हो त्यतिबेला म पागल झैँ रोएकी थिएँ । आजपनि सम्झिँदा मन भारी हुन्छ अनि आँखाभरि आसुँले सागर बनाउँछ । 
यो भन्दा पहिले तिमीले ममाथि यस्तो घात कहिल्यै गरेका थिएनौ । जीवनको सबैभन्दा महत्वपूर्ण घडिमा आएर तिमीले मलाई पासो लगाएर मरु कि भन्ने अवस्थामा पुर्यायौ । आफ्ना साथीभाई अनि आफन्तलाई म झुट बोल्न बाध्य भए ।
अझैँ पनि मन सन्तुष्ट छैन र त कहिलेकाँहि सपनीमा जिस्काउन आइरहन्छौ । जीवनमा अगाडि नबढी म तिम्रै पछि धाईरहन्छु । साथीहरुले धेरै प्रगति गरिसक्दा पनि म भने तिम्रै पूर्ण अभ्यास गरिरहेको सपना देख्छु । किन होला है मलाई मात्र दैवले ठगेको ? हुन त मेरो भाग्यमै त्यहि लेखेको थियो होला ।
हुन त म त्यति धेरै जान्ने र मेधावी केटी पनि होइन । तर, तिमीले म भन्दा नजान्ने अरुलाई अगाडि पारेको देख्दा कहाँ म आफ्नो मन थाम्न सक्छु र ? सबैको मप्रतिको आशालाई निराशामा रुपान्तरण गरिदियौ तिमीले ।
सबैको अगाडि बस्दा तिमीलाई याद गर्ने कठिन हुन्छ भनि एकान्तमा गईगरेका यादहरुलाई गोली ठोकेर मारिदियौ तिमीले । डिस्टिङसन होप गरेर बसेकी म फ्रष्ट डिभिजन मात्र आएर ७० प्रतिशत पनि नकट्दा कस्तो भयो होला मन ?
एसएलसीको नतिजालाई तिमी सम्बोधन गरेर लेखेकी हुँ, कुनै प्रेमीको लागि होइन । त्यो पल अनि त्यो समय आज ४ बर्ष बितिसकेछ । सायद त्यतिबेला नै पासो लगाएर मरेको भए आजको यो रङगिन दुनिया देख्दिनथे होला । तर, मैले सबैलाई ढाँटेर भएपनि आफ्नो मन सम्हाले । आफूलाई सम्हाले, अनि पाइलाहरु अगाडि बढाए । 
सबैले फलामे गेट भनेर मन भारी बनाइदिन्थे र भन्थे कम प्रतिशत आयो भने भविष्य डामाडोल हुन्छ । ठूलो मान्छे बनिँदैन, जागिर पाउन गाह्रो हुन्छ । तर मलाई ति कुरा पत्यार लाग्दैन आज । हुन त म अझैँ पनि पढ्दै छु, धेरै कुरा सिक्दै छु र धेरै जान्न बाँकी नै छ । तर, यो ४ वर्षमा थोरै प्रतिशत आएको कारण कहिँकतै पनि तल्लो स्थतमा बस्नुपरेको छैन् ।
डिष्टिङसन आएको भए सायद म विज्ञान बिषय पढ्थे होला अनि अहिले इन्जिनियरिङ या नर्सिङ पढ्दै हुन्थे होला । बेरोजगारको घर बनाउँदै होमिन्थे होला । तर, मैले शिक्षा संकाय रोजे र अहिले मानविकी । म जे पढ्दै छु, त्यसमा सन्तुष्ट छु र खुसी पनि । आफूले गरेको मेहनतअनुसारको फल नपाउँदा जोकोही पनि दुःखी हुन्छ । त्यसैले मपनि दुःखी भएकी थिएँ । मेरो गल्तीले कम अंक आयो या कपी चेक गर्नेको लापरबाहीले ।
 त्यो त म जान्न सक्दिन तर यसको दोसी म आफैँ छु र आफ्नै भाग्यलाई दिन चाहन्छु । एसएलसीपछि पनि धेरै परीक्षा दिए, तर त्यसपछि भने आजसम्म नराम्रो नतिजा आएको छैन् । सायद एसएलसी भनेर धेरै रटिए अनि कम अंक आयो भन्ने पनि लाग्छ कहिलेकाहिँ । परीक्षामा रटिएर पढ्नभन्दा पनि हुन्छ किनकी धेरै पढे सोचेजस्तो अंक आउँदैन भन्ने भ्रम म आफूमा पैदा भएको छ । अझै धेरै परीक्षाहरु दिनै बाँकी छ । आशा गर्छु, अबको परीक्षाको नतिजा एसएलसीको जस्तो नभई अन्य परीक्षा जस्तै हुनेछ ।
विज्ञान विषयलाई पहिलो स्तरमा राख्ने हाम्रो समाज र व्यवस्थापनलाई दोस्रो दर्जा दिने समाजका अभिभावकहरुले आफ्नो इज्जतको लागि भएपनि सन्तानलाई यिनै विषय पढाउन चाहन्छन् । अझैँ कतिपय परिवारमा आफ्ना छोराछोरीको इच्छा विपरीत यिनै विषय पढ्न बाध्य गरिन्छ । तर, मलाई लाग्दै विज्ञान र व्यवस्थापन पढेका सबैले राम्रै ठाउँमा जागिर पाएका छन् । सबै प्रतिष्ठित भएका छन् र नाम कमाएका छन् ।
पहिले शिक्षा संकायलाई घृणा गर्ने कति मानिसहरुपछि गएर शिक्षक बनेका छन् । सजिलै शिक्षक बन्न पाइने हाम्रो देशमा जीवन धान्नको लागि अगाडि बढेको छ शिक्षण पेसा । जुन विषय लिएर पढेपनि शिक्षक बन्न पाइने कारणले गर्दा पनि शिक्षा संकायप्रति सबैको वितृष्णा बढेको हो जस्तो लाग्छ । शिक्षा संकाय पढेकाहरुले मात्र शिक्षण गर्ने पाउने व्यवस्था कढाइका साथ लागु गरी शिक्षा संकायलाई पनि विज्ञानमा विद्यार्थाीहरुलाई दिनभर रटाए जस्तैगरी पढाउन सके नेपालमा शिक्षकको योग्यतासँगै स्कोप पनि बढ्थ्यो होला ।
आफ्नो इच्छाले पढेको विषयमा नै सफलता र खुसी प्राप्त गर्ने सकिन्छ । राम्रो गर्नेसके सबै विषयमा स्कोप छ । त्यसैले भर्खर एसएलसी दिएर बसेका सबैजनालाई आफ्नो इच्छा र क्षमता अनुसारको विषय लिएर पढ्न आग्रह गर्दछु ।