sabita sapkota. Powered by Blogger.
कहिलेसम्म डराएर हिड्ने नारी ?


बाँच्ने रहर कसलाई नहोला र ? गिट्टी कुट्ने मानिस पनि बाँच्नकै निम्ति हातमा ठेला उठाएर काम गर्छन् । बालुवा चाल्ने रहर कसलाई होला र ? दुई छाक टार्नकै निम्ति कष्ट गरिरहेका छन् । इज्जत,सम्मान र प्रतिष्ठा प्राप्त गर्न कसलाई मन नहोला र ? आफ्नो परिवार त्यागेर खाडी मुलुकमा पसिनाको धारा बगाउदै काम गर्ने रहर कसलाई होला र ?

तर पनि विवश छौं हामी नेपाली, जीवन चलाउनकै निम्ति बिदेश होमिएका छौं । हुन त देशमा बसेर आज के खाउँ, भोली के गरौं, महङगी बढ्दो छ , कसरी दुई छाकको जोहो गरौं भन्ने चिन्ता मात्र छ । समाजका हुने खाने वर्गलाई यो चिन्ता नहोला तर हुँदा खानेलाई यो निकै ठूलो समस्या हो । पढेर सर्टीफिकेट हातमा थुपार्याे रोजगारीको अवसर छैन । अवसर नपाएपछि मान्छेको दिमाख खाली हुन्छ ।

काम नपाएपछि दिमाखमा नकारात्मक सोचहरु पैदा हुन थाल्छ र आफ्नो इच्छा पुर्तिका लागि मानिस पशुजस्तो व्यवहार देखाउन थाल्छ ।योग्यता र चाहना अनुसारको काम नपाएपछि हिंस्रक कार्य गर्नपनि पछि पर्दैन, मान्छे । आत्मा सन्तुष्टि र केही समय मनोरञ्जन गर्ने चाहले मानिस यति निच बन्छ कि, न उसले पाँच वर्षकी बालिकालाई चिन्छ न त ७० वर्षकी वृद्धा ।

कलिला बालिकादेखि वृद्ध महिलासम्म त्यस्ता निच पुरुषको शिकार हुन पुग्छन्, जसलाई भनिन्छ बलात्कार । जसरी एउटा बिरालो मुसा भेट्टायो भने त्यसको पछाडि लाग्छ र सकेसम्म मारेरै खान्छ । त्यस्तै किसिमको प्रवृत्ति हो यो । सायद मान्छेको मासु खान मिल्थ्यो भने त्यो मृत शरीर पनि बाँकी राख्दैन थे होला ति निच पुरुषहरुले ।
बलात्कारीलाई विभिन्न देश अनुसार बेग्ला बेग्लै सजाय छ । हाम्रो देशमा केही समयको जेलजीवन पश्चात बलात्कारीले मुक्ति पाउँछ ।

एउटा मानिस भएर अर्काे मानिसको ज्यान लिने हिंस्रकलाई बेइजत गरेर मारिनु पर्ने हो तर त्यो सजाय हाम्रो देशको कानुनमा छैन । बलात्कृत महिलाले भने बलात्कारीलाई मार्न पाउने नेपालको कानुनमा उल्लेख छ । तर बलात्कृत महिलाले यसरी ज्यान गुमाएपछि त्यो कानुनको के औचित्य ? बलात्कारीले केही रकम तिरेर आफूले उन्मुक्ति पाउँछ । तर बलात्कार भएका महिलाको इच्छा, चाहाना र बाँच्ने अधिकार के पैसाले फिर्ता ल्याउँछ ? एकपटक उम्किएका बलात्कारीहरु फेरी अर्को अपराधमा संलग्न हुन्छन् ।

नेपाल प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष ०७०÷ ७१ मा देशभर जबर्जस्ती करणी तथा करणी उद्योगका एक हजार तीन सय २६ घटना भए । जबकि, आर्थिक वर्ष ०६९ /७० मा देशभर ६ सय ७७ मात्रै बलात्कारका घटना भएका थिए । केहि दिन अघि पर्यटकीय स्थल पोखरामा ४० वर्षीय सरस्वती लिम्बुको हत्या भयो । उनको हत्या कसले गर्याे र के कारणले भयो भन्ने थाहा हुन नपाउदै अर्की २१ वर्षीया किशोरी योरुना पुनको हत्या भयो ।

कलिलो उमेरसँगै केहि गर्ने जोस , जाँगर भएका युवतिहरुको हत्या हुनु निन्दनीय कार्य हो । उनीहरुले गुमाएको जीवन त प्राप्त गर्न सक्दैनन् नै त्यो सँगै त्यस्ता घटनाले अरु महिलाका लागि त्रासपूर्ण अवस्था सृजना गरिदिएको छ । पुरुष प्रधान नेपाली समाजमा नारीलाई घरबाट बाहिर निस्किन कठिन भईरहेको यो समयमा यस्ता घटनाले आगोमा घिउ थप्ने काम गरिरहेको छ ।

बलात्कारीले उम्किने मौका पायो भने फेरि पनि अर्काे अपराध नगर्ला भन्न सकिन्न । क्षणिक यौन इच्छा साकार पारेर फेरि पनि अर्की युवतिको ज्यान जान सक्छ । थुप्रै नारीले घरबाट बाहिर निस्किदा परिवारका अन्य सदस्यको आलोचना खेप्नुपर्छ , भाषण सुन्नुपर्छ । जसले गर्दा नारीहरुको क्षमता विकसित हुन पाउदैन र जीवनभर अरुको सहारमा बाँच्न बाध्य हुन्छन् ।सधै नारीलाई आफ्नो अधिनमा राख्न खोज्ने पुरुषले नै नारीमाथी अत्याचार गरिरहेका छन् । एउटा अत्याचारी पुरुषले उम्किने मौका पायो भने अन्य पुरुषहरुका लागि उ हौसलाको पात्र हुन सक्छ । समाजमा फेरिपनि बलात्कार जस्तो जघन्य अपराध दोहोरिरहन्छ ।

यो घटनाले निर्धक्क भएर हिड्न कठिन भएको छ । नारीलाई हक र अधिकार दिइएको छ भनिए पनि समय समयमा घट्ने यस्ता घटनाले हक र अधिकार मात्र नभएर सुरक्षाको समेत आवश्यकता महसुस भएको छ । यो बिषयमा मेरो एउटै प्रश्न कहिलेसम्म डराएर हिड्ने नारी ?
- कास्की  आवाज दैनिकमा प्रकाशीत