sabita sapkota. Powered by Blogger.
पीडामाथि पीडा थप्नु भन्दा एकैपटक जलाइदेऊ



भारतले अघोषित रुपमा दुई महिना भन्दा बढी समयदेखि नेपालमाथि गरेको नकाबन्दीको अहिले सर्वत्र विरोध भएको छ । भारतले छिमेकसँग गरेको यस्तो अमानवीय व्यवहारको नेपालमा मात्र विरोध भएको छैन । विश्वभरी भरी नै भारतीय पक्षले नेपालमाथि गरेको खुला हस्तक्षेपको कडा विरोध भएको छ । संयुक्त राष्ट्र संघले खुलेरै भारतले नेपालमाथि गरेको अमानवीय व्यबहारको विरोध गरेको भने अमेरिका लगायतका देशले पनि विरोध गरेका छन् ।

विश्वका धेरै देशमा भारतीय हस्तक्षेपको विरोध गर्दै नेपालको राष्ट्रिय झण्डा फहराएका समाचार पनि अहिले दिनहुँ सञ्चार 
माध्ययममा प्रकाशन र प्रशारण हुने गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भ्रमण गरेका देशमा समेत उनी स्वयमले देख्ने गरी भारतीय हस्तक्षेपको विरोध भएको छ । तर मोदी सरकार अहिले पनि कानमा तेल हालेर बसेको अवस्था छ ।

छिमेकी प्रधानमन्त्री मोदी जति–जति कठोर बन्दै गएका छन् त्यतित्यति गरिब र निमूखा नेपाली जनताको चुलो चिसो बन्दै गएको छ । पैसा हुनेहरु ‘ब्ल्याक’ मा इन्धन किनेर राजधानीका फुस्रा सडकमा चिल्लो कारमा गुडिरहेका छन् । तर, थोरै जोहो गरेर दुःखले किनेका साधनमा ‘ब्ल्याक’ को इन्धन खरिद गर्न नसक्ने भएपछि साधन थन्कयाएर सडक नाप्न बाध्य छन् ।


सरकारले ‘सबैका लागि शिक्षा’को नारा घन्काई रहेको छ । 

तर, अहिले त्यही नाकाबन्दी र इन्धन अभावका कारण   बालबालिका बिधालय जान र शिक्षाको अधिकारबाट बञ्चित भएका छन् । हजारौँ जनता अहिले अस्पतालमा औषधि अभावका कारण टिठ लाग्दो अनुहार लिएर शरीरमा रोग बोकेर बस्न बाध्य छन् । वैदेशिक रोजगारीमा गएर खरको छानामा टिन हाल्ने र छोरा–छोरीलाई राम्रो शिक्षा दिने हजारौँ युवाको सपना नाकाबन्दीले खोसेर लगेको छ । कृषिप्रधान देश नेपालमा किसान अहिले नकाबन्दीकै कारण मल–विऊको अभावमा खेतवारीमा अन्न होइन झार हेरेर अमिलो मन बनाउँन बाध्य छन् ।

तर, जनताले भरोसा गरेका राजनीतिक दलले अहिलेसम्म जनतालाई सन्तुष्ट हुने खालको भरपर्दो विकल्प दिन सकेका छैनन् । सरकारले ‘वैकल्पिक उपाएको खोजिमा छौँ’ भन्ने रटान लगाएको दुई महिना पुग्न लाग्यो तर अहिलेसम्म कुनै पनि विकल्प दिन सकेको छैन । अझ दुर्भाग्य त के छ भने जनताको सकसमा मल्हम लगाउनु पर्नेमा नेपालका राजनीतिक दलहरु आन्दोलनतर्फ अगाडि लम्किरहेका छन।

भूकम्पको पीडाबाट थिलथिलो भएका नेपाली जनतामाथि फेरि नकाबन्दी र तराई–मधेस आन्दोलनको पीडा थपिएको छ । अहिले त्यहि पीडामा पिल्सिरहेका नेपाली जनताले बन्दको थप मार खेप्नु पर्ने बिडम्बना छ । अहिले आम नेपालीले प्रश्न गर्न थालेका छन् । के एउटा गाडी जलाउँदैमा नकाबन्दी हटन सक्छ ? नाकाबन्दीको बिरोधमा सडकमा जनतालाई उतार्दैमा नेपाली जनताले भोग्दै आएको सास्ती कम हुन्छ ?  मेरो पनि आम नेपालीकै जस्तो प्रश्न छ ।

आन्दोलन गर्दैमा नेपाली जनताको चुलो तातो बन्छ भने म भोलिदेखि अध्ययन र मेरो नियमित काम छाडेर आन्दोलनमा सहभागी हुन्छु । के म आन्दोलनमा जाँदा सबै समस्या समाधान हुन्छ ? मलाई लाग्छ हुँदैन । त्यसैले बन्द गर्नु भनेको नेपाली जनतालाई थप सास्ती दिने काम मात्र हो ।

राजनीतिक दलका नेताहरु मुलुकलाई आर्थिक संवृद्धिको दिशामा अघि बढाउने भाषण गर्दैछन् । तर देश आर्थिक दू्रावस्थातिर उन्मुख भैरहेको छ । देशको अर्थतन्त्र दिन–प्रतिदिन खस्किदोँ अवस्थामा गइरहेको छ । तर अहिले यो वा त्यो बाहनामा आन्दोलनका नाममा ‘बलेको आगोमा ध्यू थप्ने काम भएको छ । यसले देशको समस्या समाधान होइन झन्–झन् विकराल बन्ने निश्चित छ ।

मेरो सुझाव छ । सक्ने भए नाकामा गएर भारतीय नकाबन्दीको विरोधमा आवाज उठाउन मेरो आग्रह छ । होइन भने के का लागि नेपालबन्द ? ‘नेपाली जनतालाई पीडामाथि पीडा थप्नु भन्दा एकैपटक जलाइदेऊ’ अहिले आम नेपालीको एउटै आवाज उठ्न थालेको छ । सरकार जनताको आवाज सुन्ने कि मोदी जस्तै कानमा तेल हालेर बस्ने ?