sabita sapkota. Powered by Blogger.
म बाटोमा धेरै पटक लडदै कलेज पुगेको छुः युवराज थापा


कक्षा ९ मा अध्ययन गर्दैगर्दा अपाङ्ग बनेका युवराज थापा भोजपुर जिल्लाको एक सामान्य परिवारमा जन्मेका व्यक्ति हुन्  अहिले करिब दुई दर्जन अपाङ्गता भएका बालबालिकालाई आश्रय दिदैँ आएका थापाको जीवन बुझ्ने सबैका लागि उनी मर्मस्पर्शी कथाका पात्र जस्ता देखिन्छन् ।
केही दिन अघि राजधानीमै भेटिएका थापाले आफ्नो कहाली लाग्दो जीवन कथा खोतल्दै गर्दा उनका आँखा निकै रसाएका थिए । अपाङ्गता भएर पनि हिम्मत नहारेका थापा विगतको भोगाई अभिब्यक्त गर्दा निकै पटक भाबुक बने । ‘म कक्षा ९ मा अध्ययन गर्दै गर्दा अपाङ्ग भए,’ उनी त्यसो भन्दै गर्दा विगतमा एकछिन हराए र भने, ‘गाउँको जडिबुटी र औषधिले निको हुन्छ भन्ने अन्धविश्वासले म अपाङ्ग भएँ ।
सायद समयमा उपचार भएको भए म यस्तो अवस्थामा हुने थिइँन ।’ आफु अपाङ्ग भएपछि उनी आफनै बाबु–आमाको नजरमा पनि उचित ठहरिएनन् । उनी अरु सन्तानको तुलनामा अपहेलित भए । ‘बुबा–आमाले पनि अरु सन्तानलाई काखा र मलाई पाखा गरेजस्तो व्यवहार देखाउन थाल्नुभयो,’ उनले भने, ‘तँ खुट्टा नचल्ने व्यत्तिले के नै गर्ने सक्छस् भनेर बाबाले मलाई झपार्नुहुनथ्यो ।’
परिवारबाटै अपहेलित भएपछि थापाको साहरा कोही भएनन् । कति पटक त उनले जीवन बाँच्नुको कुनै अर्थ छैन भन्नेसमेत सोचेँ । ‘फेरि विचार गरेँ, आत्महत्या गर्यो भने त सक्किगयो नि जीवन बाँचेपछि सबैथोक हुन्छ,’ यहि सोचेर मर्ने निर्णयलाई पर सार्दै आएँ ।’ उनले आफु अपाङ्ग भएपछि अपाङ्हरुको पीडा बुझे । अहिले त्यहि भएर उनी अपाङ्गता भएका बालबालिकाको पिता बनेका छन् र उनी खुशी पनि छन् । अपाङ्गता नभएकाहरुको समेत प्रेरणा बनेका थापालाई अहिले धेरैले एक समाज सुधारक र प्रेरणाका पात्रका रुपमा चिन्ने गरेका छन् । शारीरिक रुपमा हेर्ने हो भने उनका दुबै खुट्टा चल्दैनन् । झट्ट हेर्दा उनलाई धेरैले शारीरिक रुपमै यस्तो अपाङ्गता भएको ब्यक्तिले के गर्ला र भन्ने भ्रम पर्नसक्छ ।
तर, उनको अदम्य आँटबाट सबै चकित छन् । कुनै बेला उनी ह्विलचेयरको साहारा बिना सामान्य हिडडुल पनि गर्न सक्दैनथेँ । अहिले लट्ठीको साहाराले उभिन सक्ने भएका छन् । ‘मेरो बाँकी जीवन सहाराबिहीन बालबालिकाको सेवामा खर्च गर्न चाहन्छु,’ उनले त्यसो भन्दै गर्दा फेरि उनका आँखा रसाए,’ उनले आँसु लुकाउँदै भने, ‘ अहिले मेरो साहरा मसँगै रातदिन रहने ह्विलचेयर र यीनै अपाङ्गता भएका बालबालिका हुन् ।’
विस्तारै खुल्दै गएका थापा एकपछि अर्को गर्दै आफ्नो जीवनको दर्दनाक कथा खोतल्दै गए । ‘जुनसुकै क्षेत्रमा पनि एउटा मानवलाई अर्को मानवको सहयोग चाहिन्छ । त्यस्तै गरी मेरो जीवनमा पनि धेरै मानिसहरुले सहयोग र सदभावको भावना व्यक्त गरे,’ सहयोग गर्ने सबैलाई धन्यवाद दिदैँ उनले भने, ‘नयाँ ठाउँ र नयाँ परिवेशमा मेरो जीवन धेरै नै कठिन थियो । सबैको साहराले मैले जीवन बाँच्न सिके ।’
‘हुने बिरुवाको चिल्लो पात’ भनेझैँ उनी सानै उमेरदेखि लगनशील थिए । आफनो बाबुसगँ काठमाडौँ जाने प्रस्ताव राख्दा नदिएपछि उनी आफैँले काठमाडौँ आउने खर्च जुटाउन शुरुमा साना चल्ला किनेर हुर्काउन शुरु गरे । ‘मलाई काठमाडौँ गएपछि केही गर्न सकिन्छ भन्ने आँट थियो,’ उनले भने, ‘त्यहि भएर खर्चको जोहो गर्न चल्ला पाल्ने निधो गरेको हुँ । नभन्दै ती चल्ला बिस्तारै हुँर्कदैँ गए । चल्ला जतिजति हुँर्कदैँ जान्थे उतिउति थापाको काठमाडौँ जाने रहर पनि हुर्कदैँ गयो । ‘कुखुराले अण्डा पा¥यो, चल्ला कोरल्यो,’ मेरो काठमाडौँ जाने रहर पनि अण्डाबाट चल्ला कोरलिए जसरी नै गाउँबाट शहरतिर अघि बढ्दै गयो ।’
बेला–बेला साहित्यिक पारामा प्रस्तुत भएका थापाले कुराकानीकै क्रममा काठमाडौँको यात्रा तय गर्न तासले पनि सहयोग गरेको रोमाञ्चक कथा सुनाए । उनले त्यति बेलै ‘नखेल्नु जुवा र तास धनको नास जीवनको बर्बात’ भन्ने लय सुनेका थिए । तर, दिन गुजार्ने उपाय पनि त थिएन । उनको तासमा एक समय लत नै बस्यो । ‘म आफनो दिन गुजार्न साथीहरु जम्मा गरेर तास खेल्ने गर्दथे,’ उनले रोमाञ्चक पारामा प्रस्तुत हुँदै भने, ‘म मात्रै त्यस्तो अपवाद भएँ जहिल्यै तासमा जिते मात्र हारिनँ ।’ कहिले काँही त उनले दिनमा १५ रुपैँयासम्म जितेको कथा सुनाए ।
तासबाट जितेको पैसा पनि उनको काठमाडौँ आउने खर्च बन्यो । ‘त्यतिबेला रामकृष्ण राई हाम्रो गाउँको राजनितिज्ञ हुनुहुनथ्यो । भाग्यबस गाउँ आउने क्रममा मेरो उहाँसग भेट भयो,’ थापाले भने, ‘मैले मेरो समस्याको पोको उहाँ समक्ष फुकाए । त्यसपछि उहाँले मलाई काठमाडौँ लैजाने बचन दिनुभयो ।’ उनले जीवनदेखि टाढा भाग्ने रहर जागिसकेको आफ्नो मनमा रामकृष्ण राईले आशा जगाएको बताए । ‘पहिलोपटक काठमाडौँ जानसाथ उहाँले मलाई वीर अस्पताल लग्नुभयो । मेरो रोगको उपचार संभव नहुने डाक्टरहरुले सल्लाह दिए । त्यसपछि म नेपालको पहिलो सुधारकेन्द्र खगेन्द्र नवजीवन केन्द्रमा गएँ । त्यहाँ अपाङ्गता भएका ब्यत्तिहरुलाई राख्ने गरिन्थ्यो ।’
उनले आफ्नो कथा अघि बढाउँदै गए । ‘त्यहाँ बस्ने मात्र सुविधा थियो । केन्द्रमा खानाको लागि कुनै सुविधा थिएन । त्यसैताका मैले नेपालगन्जमा हुने स्वास्थ्य शिविरको बारेमा जानकारी पाएँ । पछि त्यहिँबाट मलाई एउटा ह्विलचेयर प्राप्त भयो । त्यसले मेरो जीवनमा केहि हदसम्म रङ्ग भर्ने काम गर्यो ।’
उनले कठिन समस्यालाई पनि पार लगाउँदै एसएलसी दिए । उनी दोस्रो पटकमा पास भए । कलेज अध्ययन गर्दा भोग्नु परेका पीडाका खात पनि उनीसँग पन्छाइ नसक्ने थिए । उनले पार लगाउँदै गए । ‘म बाटोमा धेरै पटक लडदै कलेज पुगेको छु,’ फेरि उनी भक्कानीए, ‘ एकैपटक लड्दा त्यति धेरै पीडा हुदैन होला जुन पीडा पटक पटक लडदा हुन्छ । लडदै, उभिदै , संघर्ष गर्दै बल्लतल्ल ३ वर्षमा मैले स्नातक तह उर्तिण गरे ।’
मुहारमा केही चमक देखाउँदै उनले फेरि आफ्नो कथा जोडे । ‘जो मान्छे लडछ त्यसले नै सफलता प्राप्त गर्छ भनेझैँ आज मैले गरेको सफलता देख्दा सबै पीडा भुल्छु ।’ उनले केही साथीहरु मिलेर संस्था गर्दात गरेको सुनाए । त्यतिबेला दर्ता भएको ‘नेपाल कनफिलक्ट भिकटिम एण्ड डिजेबल सोसाइटी’ मा अहिले ९ जना स्टाफ र भोलेन्टरहरु छन् । उनले त्यति संस्थामार्फत अहिले सडक र अपाङ्गता भएका बालबालिकाहरुको सुधारमा जुटेको बताए ।
बालबालिकाहरुको हेरचाहसहित फिजियो थेरापी सेवा, स्वस्थ्य परिक्षण लगाएतको काम त्यो संस्थाले गर्दै आएको छ । नेपाली उत्पादनहरु जस्तै नोट बुक, झोला, कार्ड लगाएतका सामाग्रीहरु बनाउन सिकाई बेच्ने गरेको पनि उनले बताए । संस्थाले अन्य जिल्लाहरुमा सीपमुलक तालिमहरु दिदँै आएको पनि उनले बताए । ‘जो मानिस सपना देख्छ त्यो निदाउन सक्दैन भनेझै मैले पनि एकदिन यो समाजको सेवा गर्ने सपना देखेको थिए,’ छुट्ने बेलामा उनले भने, ‘मेरो सपना विस्तारै साकार हँुदै आएको छ ।’