sabita sapkota. Powered by Blogger.
अपाङ्ग भनेर नहेप, बाँसुरी बजाउन सबैलाई उछिन्न सक्छु


कोही मानिस टाढैदेखि बासुरीको धुन सुनेर उनलाई हेर्न जान्छन् । कोही नजिकै आएर उनले बजाएको बासुरीको धुन सुन्ने गर्छन् ।उनले बासुरीमा विभिन्न गीतका धुनहरु बजाउने गर्छन् । उनले बजाएको बासुरीको धुन सुनेरै मानिसहरुले पैसा दिने गर्छन् ।
उनले बाँसुरी बजाउने कला बजाउँदा बजाउँदै आफैँ सिकेको हुन् । ‘एकजना दाईले बासुरी बजाउँथे, मलाई पनि एकदिन बजाउन दिए,’ उनले भने, ‘केही दिन बजाएपछि मैले आफै विभिन्न गितको धुन निकाल्न थालेँ ।’
राजधानीको सुन्धारास्थित काठमाडौं मल अगाडिको बाटो फूटपाथ पसल थाप्नेदेखि मागेर गुजारा चलाउनेहरुको आश्रय थलो हो । यहाँ व्यापार गर्नेेदेखि मुरली, मादल बजाएर पैसा संकलन गर्ने मानिस देखिन्छन्  । सडकलाई खुल्ला घर सम्झेर दिन बिताउने मानिसहरु पनि त्यहीँ छन् ।
कसैलाई गन्तव्य बनेको सडक कोही मानिसको मागि खाने ठाउँ बनेको छ । कोही गीत गाएर पैसा संकलन गरिरहेका हुन्छन्, कोही केटाकेटीलाई एउटा लेमिनेटेड कागज बोकाएर पैसा संकलन गरिरहेका हुन्छन् ।
सुन्धाराको व्यस्त सडकमा मुरली बजाएर बसिरहेका रामप्रसाद बास्तोलालाई एकै छिन भेटौं । उनी एउटा हातले मुरली बजाउँदै थिए । जन्मजात अपाङ उनी १८ वर्षका भए । खोटाङ घर भएर पेप्सीकोलामा बस्दै आएका उनको परिवारमा ५ जना छन् ।  राम्रो खाने र लाउने उमेरमा उनी १० वर्षदेखि त्यही सडकको छेउमा बसेर मुरली बजाउँदै आएका छन् । उनले राम्रोसँग आँखा देख्दैनन् । दुईवटै खुट्टा लुला छन्  ।
उनका भाईबहिनी स्कुल जान्छन् । उनलाई पनि स्कुल गएर पढ्न मन लाग्छ । तर उनी हिँडेर जान सक्दैनन् । जन्मदै अपाङ्ग भएका उनको उपचारमा बाबुले धेरै खर्च गरेको उनले बताए ।बिहान ८ बजेदेखि बेलुकी ३ बजेसम्म उनी त्यही सडकमा बस्ने गर्छन् । बेलुका ४ देखि ५ बजेसम्म उनले हारमोनियम बजाउन सिक्ने गरेका छन् ।
उनलाई एक जना आफन्तले त्यस ठाउँमा ल्याएर राखिदिन्छन् । बेलुका घरसम्म पुर्याउने गर्छन् । पैसा दिएपछि उनलाई व्यापारीले खाजा त्यहीँ ल्याइदिने गर्छन् । मुरली बजाउन उनले आफैँ सिकेका हुन् । मुरली बजाएर उनले दिनमा ५ सय जती जम्मा गर्छन् ।
ज्यामी काम गरेर उनका बाबाले परिवार धान्दै आएका छन् । त्यही परिवार धान्नकै लागि आफूले जम्मा गरेको पैसा प्रयोग गर्ने गरेको उनले बताए । आमा दमको रोगी भएकाले घरमै बस्ने गर्छिन् ।
उनी निकै टाठो छन् । पढ्न पाएको भए केही गर्न सक्ने उनी बताउँछन् । पढ्न पाएको भए के बन्ने मन थियो ? हास्दै उनले भने, ‘आजसम्म केही अक्षर पढेको छैन् ।
पढ्न पाएको भए शिक्षक बन्ने मन थियो ।’ आफूले पढ्न नपाए पनि भाइबहिनीलाई पढाएर ठूलो मान्छे बनाउने ईच्छा रहेको उनले बताए । महिनाको एक हजार तिरेर हारमोनियम सिकिरहेका उनले पछि हारमोनियम बजाएर संगीतका धुनहरु सिर्जना गर्ने चाहना रहेको बताए ।
यसरी बाटोमा बस्दा आजसम्म कसैले पनि नराम्रो व्यवहार नगरेको कुरा उनले खोले । बाहिरी दुनियामा रम्न नपाए पनि सडकमा बस्दा धेरै मानिसको बोलेको हिँडेको चाल उनी सुन्न सक्छन् । आफूजस्तै अपाङ्गता भएकाहरुका लागि स्कुलको व्यबस्था भए उनले पढ्ने चाहना व्यक्त गरे ।