sabita sapkota. Powered by Blogger.
होस्टेलकी आन्टी


आन्टी म एकछिन बाहिर गएर आउछु । हस, बाबा छिटै आउनुस ल खाना खाने बेला हुन लागेको छ । अरुभन्दा फरकपन छ उनीमा , सबैलाई रिजाउन सक्छिन् । एकजनाको बोलि होइन होस्टेलमा बस्ने सबैको प्रश्नको उतर झर्को नमानी दिन्छिन । सानो कुरामा रिस उठ्ने आफ्नो बानीलाई निहाल्छु र सोच्ने गर्छु के आन्टिलाई कहिल्यै पनि रिस उठ्दैन ?

 घरदेखि टाढा रहेर यो सहरमा आफ्नो भविष्य उज्वल बनाउने आशामा होमिएका केटिहरुका लागि खोलिएको होस्टल हो । त्यहि होस्टेल चलाउँदै आएकी सबैकी प्यारी आन्टी हुन तारा आन्टी । घर छोडेर हिँड्दा डेरा लिएर बस्ने सोच थियो । केहि दिन डेराको खोजीमा भौतारियो । तर कहाँ सहज थियो र डेरा पाउन । बल्लबल्ल भेटिएका रुम पनि अध्यारा थिए । कुनै साङग्रा थिए , दुईवटा खाटपनि नअटाउने । फल्याट भने भेटिएको थियो तर आवश्यक थिएन । गलितो रुम भएको ठाउँमा पानीको समस्या । कोठामा बस्नेलाई अनगिन्ती समस्याहरु छन यहाँ ।

 त्यसैले रुममा बस्ने सोच बदलिएर होस्टल परेको थियो रोजाईमा । आमाबाबाको न्यानो काख सँगै छोडेको आफ्नो घर अनि बिस्ताराले सँधै बोलाए जस्तो लाग्थ्यो । होस्टल बस्ने भन्नासाथ सबैले खाना नमिठो हुन्छ भनेर आनाकानी गर्ने थालेका थिए । तर रुममा पनि कसरी बस्नु एक जार पानी उचालेर हाल्ने तागत थिएन । महिनामा एकपटक पैसा बुझाएपछि आनन्द , न त तरकारीको तनाब, न पानीको न कुनै सामान किन्ने झन्झट । अरुले जेसुकै भनेतापनि केहि प्रवाह नगरी होस्टल बुझ्न हिडियो । 

आन्टिसँगको पहिलो भेट अनि कुराकानीमा नै मन फुरुङग भो , चङगाजस्तै गरि । हुन त पहिलोपटक बुझ्न आउदा सबैले आफ्नो गुणगान गाउछन् । नराम्रा पक्ष लुकाएर राम्रा मात्र देखाउन थाल्छन् । कतै उनको बोलि पनि त्यस्तै होकि भन्ने मनमा नलागेको कहाँ हो र । पानीको समस्या काठमाडौंमा जताततै छ । त्यो आफैले बुझ्नुपर्छ तर खानाको लागि कुनै चिन्ता गर्नुपर्दैन । हामी जुन भाडाको खान्छौ हाम्रो होस्टेलमा बस्नेलाई पनि त्यहि भाडाको दिन्छौ । जीवनमा पहिलोपटक होस्टेल बस्ने निर्णय थियो ।

 केहिदिन पछि होस्टेलको जीवन सुरुवात भयो र आज एक वर्ष बितिसकेछ । बितेको एक वर्षमा आन्टिको नराम्रो बचन कहिल्यै सुनेकी छैन । नेपालको बिभिन्न भेगबाट आएका बेग्लाबेग्लै मुहारहरुलाई झेलेर सँधै आफ्नो मुहारमा हासो छर्ने उनी हौसलाकी खानी हुन् । समयसमयमा दुःखका कुरा सुनाउछिन अनि सबैलाई राम्रोसंग पढेर आफ्नो खुटटामा उभिने सुझाब दिन्छिन । जति नै बुझ्ने भएपनि लोग्नेमान्छेको जात ठुलै प्रवितीको हुन्छ । 

आफ्नी श्रीमतीलाई सहयोग गरौ उनलाई पनि गाह्रो हुन्छ भन्ने भाव केबल एका दुई श्रीमानमा हुन्छ । यस्तै कुरा हुन्छन्, कहिलेकाहिँ । त्यहि होस्टेलमा बसेर कोहि डाक्टर भए , कोहि इन्जिनियर त कोहि पत्रकार अनि शिक्षक । चुलो चौकोमै सीमित महिलाहरुको जीवनले होस्टेल बसेपछि मुक्ति पाउँछ । तर, सबैलाई पकाएर खुवाउने आन्टी कहिलेकाही गुनासो गर्छिन्, मलाई पकाएर दिने कोहि छैन । 

एकदिन घरदेखि बाहिर निस्किदा मम्मी म गए भन्दा जा जतासुकै मोर भन्ने मेरी आमा र कतै जादा बेलुकी छिटो आउनुस् ल बाबा भन्ने आन्टीले गर्दा नै कहिलेपनि होस्टल छोडेर टाढा नजाउ जस्तो हुन्छ । आफन्तको घर त परै जावोस्, आजसम्म एकदिन पनि होस्टल छोडेर साथीभाईकोमा समेत गएकी छैन । सबैको ख्याल राख्ने माया, ममता र स्नेहले सबैलाई सहि मार्गमा हिडन निर्देशन गर्ने आन्टिको हातमा साचैनै लक्षिण छ । 

हात मिठो भयो भने खाना आफै मिठो हुन्छ रे । त्यस्तै लाग्छ आन्टिले पकाएको खाना खादा र जोकोहि पनि खाएपछि लोभिन्छन् । सबैको बिचार र बानी बेहोरा एउटै हुदैन त्यसैले त सबै होस्टेल एउटै हुदैन । माया, ममता र स्नेहको सर्गम भनेर नै प्यारी लाग्छ होस्टेलकी आन्टी । पसलमा भेला भएर गफ गरिरहेका महिलाहरु देख्दा लाग्छ उनीहरुले पनि तारा आन्टि बाट केहि पाठ सिकुन् र आफूले केहि गरुन ।

 नेपाली महिलाहरुको जीवनस्थर उकासियोस् । केबल श्रीमानको कमाईमा मात्र अल्झिएर नबसुन् । थोरै भएपनि आफ्नै आम्दानी होस, आफ्नो पहिचान होस र सबैले आदार र सम्मान गरुन । अफिसमा जागीर गर्नु, टेम्पु चलाउनु , नर्स भएर अस्पतालमा डिउटी गर्नुमात्र पेसा होइन । आत्मानिर्भर बन्नका लागि धेरै कार्यहरु गर्ने सकिन्छ । तारा आन्टिको जस्तै होस्टेल चलाउनु पनि कुनै अफिसमा गरेको जागीर भन्दा सानो कुरा होइन । 
- रातोपाटीमा प्रकाशीत