sabita sapkota. Powered by Blogger.
कस्तो होला भगवानको घर?

बेग्लै लाग्छ मलाई मेरो जीवन भोगाई, बेग्लै छन् मेरा जीवनमा आईपरेका ती कठीन परिस्थितिहरू, सामान्य परिवारमा हुर्ककी मेलै सानै उमेरदेखि सुखको आवास गर्न पाइन। पहाडी जीवनमा हुर्किए तर पहाड जस्तै अग्लिन सकिनँ। जीवनमा सपनाहरु धेरै बुने तर पूरा गर्न सकिनँ। गल्ती मेरो भाग्यलाई दिऊ या म आफैँलाई, म कुनै निष्कर्ष निकाल्न सक्दिनँ।
सानैमा मातृस्नेह गुमाएकी मैले कहिलेपनि आमाको माया पाउन सकिनँ। ममता र स्नेहको कमि ममा जीवनभर खडकिरहयो। बाबाको मायालाई पनि कसैले खोस्यो मेरो जीवनबाट, असाध्यै माया गर्न बाबुको मन पनि परिवर्तन हुन थाल्यो घरमा सौतेनी आमाको आगमन भएपछि।
सबैको नजरमा आँखाको कसिंगर हुन थालेँ। जीवनदेखि नै हार लाग्न थाल्यो। गाली गर्न मन लाग्यो मेरी आमालाई, जन्माउने दिनमा कति पीडा सह्यौ। तर, मलाई छोडेर जानुभन्दा पहिले एकपटक पनि सोधिनौ आखिर किन आमा? मेलै तिमीलाई सानोमा धेरै दुःख दिएर हो या म छोरी भएर? काखमा छोरो खेलाउने तिम्रो सपना, केबल सपना मात्र रह्यो आमा, छोरी भएपनि छोरा जस्तै बन्ने प्रयास राखेँ तर सकिनँ, हरेक पलमा ठक्कर खाए अनि बाध्य भए आफ्नो शरीर आफैले बेच्न, रहर नभइ बाध्यता थियो।
पढ्ने समयमा सौतेनी आमाको गालीले मेरो मस्तिष्क भरियो अनि भाग्न मन लाग्यो घरदेखि टाढा, बसाउन मन लाग्यो आफ्नो बेग्लै संसार, छुट्टयाउन सकिन के सहि हो के गलत? बल्ल आज आएर आभास हुन्छ समयलाई चिन्न नसकेको परिणाम, समयसगैँ हिड्न नसकेको परिणाम, गल्ती गरे मैले ऊसँग घर छोडी भाग्नाले, मेरा सबै इच्छा आकांक्षा पुरा हुन्छन भन्ने पापी सोच राख्नाले, केही दिन त रमाइलो भएको थियो।
आफूले आफैलाई भाग्यमानीको दर्जामा राखेकी थिएँ। छोटो समयमै खोसेर लग्यो मेरो खुसी कसैले, उडाइ लग्यो हावाले, देख्न सकेन पापी दैवले मेरो मुहारको खुसी, आफ्नो बनाएको केही दिनमै उसले मलाई लगातार गयो। बिच बाटोमै छोडेर गयो, सुरू भए फेरि दुःखका दिनहरू, जागीर खानको लागि न मसँग कुनै डिग्री पास गरेको सर्टीफिकेट थियो न कुनै एक्सपिरियन्स, डिग्री पास गरेर समेत जागिर नपाउनेको संख्या सहरमा बढ्दो थियो।
बाँच्नको लागि केही उपाए नपाएर बाध्य भइ शरीरको व्यापार गर्न थालेँ, चिनिन थाले समाजमा बेस्याको नामबाट, दोस्रो पटक गरियो मेरो न्वारान, त्यसपछि पैसाको अभाव खडकिन छोड्यो। रमाउन थाले आफ्नै संसारमा, बन्न थालेँ नँया साथी, भेटिन थाले नँया मानिस हाकिमदेखि ठूलाठूला पदका मानिससम्म। पैसाले भरिपूर्ण भएँ।
 सायद मेरो क्षमताभन्दा बढी कमाए क्यार, किने एउटा दुईतले घर पोखराको पृथ्वीचोकमा, अलिकति बैंक ब्यालेस पनि भयो। त्यसपछि बिस्तारै छोडन मन लाग्यो त्यो पेसा जुनले मलाई पैसा दियो सँगसँगै रोग पनि दियो। म एचआइभी भाइरसदेखि संक्रमित भए। अहिले म सँग पैसा छ तर मेरो जवानी छैन अनि जोस जागर छैन। यो संसारमा अब म बाचेर केही अर्थ छैन जस्तो लाग्छ। दिक्क लाग्छ यँहा बाँच्न, बनावटी लाग्छ यो सबै संसार, स्मृतिका पाना पल्टाउदैँ गर्दा लाग्छ म भन्दा अभागी यो दुनियाँमा कोही छैन।
अब आफूसँग भएको केही पैसा दिन दुःखीहरुलाई दिने विचार छ अनि मन छ यो दुनियाँबाट टाढा जान, धेरै टाढा......जहाँ कुनै हुरी नआओस, घामले पोल्न  नसकोस, बाटोमा दौडिँदा समेत ठेस नलागोस्, भगवानको घर।
मानिसहरु भन्ने गर्छन् राम्रो काम गरे स्वर्ग पुगिन्छ नत्र नर्क, मैले त राम्रो र मानिसको भलाई हुने कार्य केही गरेकी छैन। थाहा छैन म कुन घरमा पुग्छु त्यहीपनि मलाई जान्न मन छ कस्तो होला भगवानको घर?
(कसैको जीवन वास्तविक भोगाइलाई म पात्र बनाएर लेखिएको कथा।)
-सेतोपाटिमा प्रकाशित