पातलो कम्मलको आशामा बितेको अँग्रेजी वर्ष
अँग्रेजी वर्ष २०१६ को आगमनसँगै धेरै नेपालीको दैनिकीमा नयाँ रङ आयो । कतिले नयाँ ठाउँको भ्रमण गरे, कतिले केक काटे र कोहीले हयाप्पी न्यु एअर भन्दै सामाजिक सन्जालमा फोटो पोष्ट गरेर नयाँ वर्षको स्वागत गरे । युवापुस्ताको जमात मात्र नभएर जवानीले डाँडा काटेकासमेत रमझममा व्यस्त भए । नेपाली नयाँ वर्षमा चासो नराख्ने मानिस समेत वाइनको ग्लास लिएर ‘चेयर्स’ भन्दै नयाँ वर्ष मनाए ।
काम गर्नुपर्दा अल्छी मान्ने कतिपय नेपाली न्यु एअर इभ मनाउन रातको १२ बजेसम्म जागाराम रहे । शुभकामना र सन्देश आदानप्रदान गरे । नेपाल टेलिकम र एनसेललको राम्रै आम्दानी भयो । भूकम्प र नाकाबन्दीले देश रोएको समयमा समेत आधुनिक सभ्यताको खोक्रो मादल बजाउन छाडेनन् नेपालीले । जानिनजानी भए पनि हिन्दी र अँग्रेजी गीतमा हात हल्लाउन छाडेनन् । आधुनिक बन्ने निउँमा आफ्नो संस्कारलाई चटक्कै माया मारेर अरुको संस्कारलाई अँगालो हालेर हर्षोत्साहित बन्न छाडेनन् नेपाली ।
यो नेपालको सहरी क्षेत्रको दृश्य हो । भूकम्पले घर ढलेर सानो टिनको झुपडीमा चिसो मन लिएर बाँच्ने गाउँका मानिसको पीडा बेग्लै छ । केही दिनअघि मात्र मैले सिन्धुपाल्चोक जाने अवसर पाएकी थिएँ । घर सबै धुलोमा परिणत भएको त्यो ठाउँको जनजीवन निकै नै कष्टकर थियो । सानो टिनको घरलाई महल सम्झेर मानिसहरु बसिरहेका थिए । पातलो कम्बललाई सिरक सम्झेर ओढिरहेका थिए ।
संविधानको अर्थसमेत थाहा नपाएका मानिस भूकम्पलाई दैवको खेल सम्झेर आफनो मन बुझाइरहेका थिए । न्यु इयरबारेमा केही थाहा छैन उनीहरुलाई । केबल दुई छाक टार्ने पाए पुग्छ । कसले के लिएर आउँछ भन्ने आशामा आफना आँखाहरु डुलाएर बस्न बाध्य थिए । एकसरो कपडामा रमाउँदै बालबालिका विद्यालय गहिरहेका थिए । एउटा सर्टले मात्र आफनो जाडो भगाइरहेका थिए । भूइँमा बसेर खुशी हुँदै पढ्दै गरेका बालबालिका भविष्यमा ठूलो मानिस बन्ने सपना सजाइरहेका थिए ।
त्यही समय सानी बहिनीको याद आयो, एकदिन घाँटीमा लगाउने टाइ नपाउँदा विद्यालय जान नमान्ने उनको जीवनशैली र त्यो ठाउँका बाबुनानीको कष्टकर जीवन देखेर मन भारी भएर आयो । सर्ट, स्कर्ट, टाइ, बेल्ट, मोजा, जुत्ता र दुई चुल्ठीमा रिबन बाटेर बिद्यालय जाने सहरी परिवेसका बालबालिका सम्झे । आखिर सबै ज्ञान आर्जन गर्ने विद्यालय जाने हुन तर सहरी परिवेसको झकिझकाउ र जाडोमा स्वीटरसमेत नभएका गाउँले बाबालिकाको जीवनशैली देख्दा कुनै अर्को ग्रहमा पुगेको भान भयो । ब्युटीपार्लर धाएर मुहार चम्काउदै हिँड्ने सहरी परिवेसका युवती र काखमा बच्चा च्यापेर एउटा पातलो कम्बल पाउने आसामा बसेका त्यहाँका युवतीको पर्खाइमा बेग्लै दृश्य थियो ।
राजधानीदेखि केही घण्टा मात्र टाढा रहेको गाउँको अवस्था त दयनीय छ भने नेपालको विकट ठाउँको अवस्था के होला ? देशको मेरुदण्ड मानिने शिक्षामा समेत सुधार नभएको अवस्थामा देशको भविष्य के होला ? भोलिका देशका कर्णधार मानिने बालबालिकाले भूइँमा बसेर लिएको शिक्षाले देशलाई कुन बाटोमा डोर्याउला ? भूकम्प गएको आठमहिना बितिसक्दासमेत निर्माण हुन नसकेको विद्यालयको भौतिक संरचना कहिले निर्माण होला ? यस्तै प्रश्नको भूमरीमा डुबुल्की मार्दै सहर फर्केँ ।
फेरि उही नयाँ वर्षको रौनक देखियो सहरमा । आफूलाई झकिझकाउ बनाएर हिँड्नेको भिडसँगै ठोकिन पुगेँ सहरमा । नयाँ वर्ष मनाउन साथीहरुको जम्काभेट र त्यही भेटमा आधुनिक सभ्यतालाई अँगाल्न पुगे सहरमा ।