sabita sapkota. Powered by Blogger.
थण्डर ब्वाईको हाकिम


म्यासेजमा लेखिएको थियो– आज किन ढिलो आएकी? बाटो हेर्दाहेर्दै ३ कप कफी सकियो। 

म्यासेज उही फन्टुसको थियो। को हो ? कहाँ बस्छ ? के गर्छ ? केही थाहा छैन। एसेप्ट नगरेको फ्रेन्ड रिक्वेष्टमा म्यासेज गरिरहन्छ। 

लाग्छ, उ जासुस हो र हरेक केटीको जासुसीमा कुदिरहन्छ। ‘आफ्नो काम गरेर खानु नि केका लागि केटीको पछि पर्छन् यी केटाहरु! जातै बैगुनी।’ रुबीले मनमनै सोची। 

म्यासेजमा भन्नुपर्ने कुरा धेरै थिए तर उसले दिमागलाई थप बोझिलो बनाइन। कामको थकान, घरबेटीको किचकिचले उसको दिमाग त्यसैपनि भारी भएको थियो। त्यसमा थपिएको थियो अपरिचतको फेसबुक म्यासेज। 
फेरि उसको मनमा म्यासेज पठाउनेका  बारे कुरा खेल्न थाले। 

कुनै कुनामा बसेर चियो चर्चा गर्ने मानिस होला। फेसबुकमा नाम पनि कस्तो– थण्डर ब्वाई। उसले आफ्नो फाटो भने राखेको थिएन।

दिनहुँ उसले एउटा न एउटा म्यासेज गरेकै हुन्थ्यो। बाहिरी स्वरुपको बारेमा लेख्ने गर्दथ्यो। एकदिन उसले  साेध्याे– किन त्यति लामो नङ पालेकी ? यो प्रश्नको जवाफ लेख्न मन लाग्यो रुबीलाई। फूलमा भमरा आर्कषित भएजस्तै उ पनि त्यो प्रश्नमा आर्कषित भई। 

उसले थप्यो –अलिकति लामो भएको त सुहाउँछ तर त्यो धेरै लामो भो। हेन्सम पार्लरमा काम गर्छाै कि के हो?
रुबीले पहिलो पटक म्यासेजको रिप्लाई दिई। उताबाट एकलहरको हाँसो आयो मानौं उ रुबीको म्यासेज देखेर हाँस्दा हाँस्दै भूईंमा पल्टिएको थियो। 

‘घरमा केही काम गर्नुपर्दैन कि के हो ?’ थण्डर ब्वाईको अर्को म्यासेज थियो।

रुबीले लेखी –लामो नङ पाल्दैमा काम नै नगरी बस्ने भन्ने हुन्छ र ? 

साँच्चै भन न केको लागि पालेकी नङ? उस्ले सोध्न छोडेन। 

एकदिन थण्डर ब्वाइले भेटने प्रस्ताव राख्यो, ‘तिमीलाई सधैँ देख्ने गर्छु किनकी तिम्रो अफिस जाने बाटोमा मेरो अफिस छ। अफिस पुग्ने समय भन्दा केही मिनेट अगाडी आउन, धेरै समय मागेको त छैन।’ रुबीले थण्डर ब्वाईको  प्रस्ताव नकार्न सकिनँ।  

बाटोमै पर्ने भए  एकचोटी भेटिदिउँ भन्ने लाग्यो रुबीलाई। मनमा धेरै कुराहरु खेले। नाम जस्तै थन्डर छ कि उ। कताकता मनमा काउकुती लाग्यो आखिर को हो त ? 

अफिस जाने समयमा तयार भई। केही मिनेट पहिले नै हिँडेकी थिई। उसले भनेको ठाउँमा पुगी र अफिस बाहिरबाट नै नियाली झसंग भई, छाँगाबाट खसेजस्तै गरी। चिनेको मुहार थियो तर बिल्कुलै फरक स्वरुपमा। पहिले सिम्पल सर्ट पाइन्टमा हुन्थ्यो भने अहिले कोट पाइन्ट सजिएको थियो। दुई वर्ष पहिले सँगै कलेज पढेको उसको साथी पो रहेछ थन्डर ब्वाई। 

आफूले झर्केर बोलकोमा, वास्तवीकता लुकाएकोमा लज्जित भई  रुबी। 

थण्डर ब्वाइले कफी मगाइसकेको थियो। दुवैले कफीको चुस्किसँगै पहिलेका केही स्मृतिहरुलाई जोडे। पहिलो दिनको भेटघाट यतिमै सिमित भयो। 

रुबी दिनभर आफ्नो काममा व्यस्त हुन्थी। बिहान कलेज, कलेज पढेर अफिस आउन धौधौ नै हुन्थ्यो। बेलुकी ७ बजेसम्म उसकाे काम हुन्थ्याे अफिसमा।

दिउँसो एकछिन खाजा खान निस्कन्थी। अफिस नजिक भएकोले खाजा खान निस्किदा कतै थन्डर ब्वाई आइपुग्छ कि भन्ने आशा मनमा हुन्थ्यो। फेसबुकमा कुराकानी हुने क्रम बढदै गएको थियो।  सामान्य कुराकानी हुन्थ्यो, पढाईको बारे, एकअर्कोको अफिसको बारे र आआफ्नो हाकिमको बारे।कहिले रुबीले आफ्नो हाकिमले थर्काएको कुरा गर्थी भने कहिले थन्डर ब्वाइले।

एकदिन खाजा खान निस्किदा अकस्मात दुई जनाको भेट भयो। रुबी एक्लै थिई भने थन्डर ब्वाईको साथमा एकजना मानिस थियो। उ त्यही हाकिम थियो जसको बारेमा उनीहरु च्याट गर्थे।

हेर्दा गोरो वर्णको, दारी जुङगा राम्रोसँग काटेको, कपाल ठडाएको, कोट पेन्ट शरिरमा टम्म मिलेको, हेन्डसम नै थियो  । मेरो नाम रविकर शर्मा उसले आफनो परिचय दियो। रुबीले पनि आफनो पूरा नाम भनी। थन्डर ब्वाईले थप्यो– उनी मेरी कलेज पढ्दाकी साथी। शर्मा देख्दा जेन्टल देखिएपनि धेरै नबोल्ने खालका रहेछन्। पहिलो भेट भएर हो या लजालु स्वभावका हुन त्यो दैव जानुन् या केटी देखेर अप्ठ्यारो मानेका हुन। त्यो दिनको खाजाको बिल थन्डर ब्वाईले नै तिर्यो। 

आफू धेरै बोल्ने भएरै हाेला नबोल्ने मानिस रुचाउने भएकाले उसलाई पहिलो भेटमा नै शर्मा आकर्षित लाग्न थाले। उसलाई लाग्यो दिनहुँ थन्डर ब्वाई हाकिमलाई लिएर खाजा खान आओस् र उसको नबोल्ने बानीलाई सधैँ मौनताले नै चिर्ने  पाओस् र नजिकबाट नियालेर आँखाभरि सजाउन पाओस्। तर सोचेजस्तो सबैकुरा कहाँ हुन्छ र। जीवनमा आफूलाई मन पराउनेहरु रोजाइमा पर्दैनन र रोजाइमा पर्नेहरुले वास्ता गर्दैनन्।

फेसबुकमा नखोजेकी होइन रुबीले थण्डर ब्वाईको हाकिमलाई तर भेटिन। दिनहुँ उसको नबोल्ने बानी र त्यो मुहार झुल्किदैनथ्यो। सायद उ फेसबुकमा उदाएको थिएन या दिक्क लागेर अस्ताएको थियो। 

थन्डर ब्वाईसँग सोध्ने आँट थिएन रुबीकाे। एकदिन सोध्छु भन्ने आँटले म्यासेज लेखेकी थिई। फेरि मेटाई। उसलाई भित्रभित्रै डर लाग्यो साथीले नराम्रो ठान्छ कि भनेर। वा कतै जिस्काउछ कि भनेर। उसको ठाउँमा थन्डर ब्वाई हुन्थ्यो भने सोध्थ्यो–तिमीसँग आएकी साथीको फेसबुक आइडी के हो ? या उसको नम्बर दिन मिल्छ। मनमा लागेको विचार प्रस्तुत गर्ने हिचकिचाउछन् केटीहरु, कुनै कुरा भन्नु या गर्नुभन्दा पहिले धेरै सोच्ने गर्छन्। आफनो मनभित्र दबाएर राख्छन, हतपत बाहिर निकाल्न डराउँछन्। 

पहिलो भेटमै आर्कषक लागेको शर्मालाई उसले अब खाजा खाँदा कहिल्यै नभेटने भई किनकि उनीहरुको अफिस अन्त कतै सर्ने जानकारी थन्डर ब्वाईले दियो।

उसले लेखेको थियो –म तिमीलाई दिनहुँ अफिस आउँदा देख्न नपाउने भएँ।

रुबीलाई उसकोभन्दा पनि जीवनमा पहिलो पटक मन पराएको मानिसलाई देख्न नपाउने कुराले चिन्तित बनायो। 
उनीहरुको फेसबुकको च्याट यथावत् नै थियो। एकदिन थन्डर ब्वाईले फोटो राख्यो जसमा शर्मा पनि थिए तर फरक स्वरुपमा, दुबोको माला र बेहुलीको साथमा। थण्डर ब्वाइले स्टाटु लेखेकाे थियाे- हयाप्पी म्यारिड लाइफ।

पहिलो पटक जीवनमा मन परेको मानिस त्याे पनि पहिलो भेटमा। भारी मन बनाएर रुबीले फोटोको मुनी  कमेन्ट गरी –बधाई, दाम्पत्य जीवनको शुभकामना! 
-सेतोपाटीमा प्रकाशीत