sabita sapkota. Powered by Blogger.
म पनि सहयोगको अपेक्षा राख्दै पत्र लेखुँ कि ?


प्रेम पत्र त धेरै लेखियो । कसैले ऐसेप्ट गरे भने कसैको झापड पनि खाईयो । कोही निष्टुरीले पढ्दै नपढी आगोमा जलाइदिए अरे । आज एउटा खबर आयो । जनतालाई समृद्ध बनाउने भन्दै भूमिगत आन्दोलनको तयारी गरिरहेको भनिएको नेकपा (माओवादी) जसलाई विप्लब समुह पनि भनिन्छ, का कार्यकर्ताले सहयोगको अपेक्षा राख्दै विभिन्न कम्पनी र कर्पोरेट हाउसहरुमा पत्र लेखे भनेर । मलाई तिनै प्रेमपत्रहरुको झझल्को आयो र म पनि सहयोगको अपेक्षा राख्दै पत्र लेखु कि भन्ने लाग्यो ।
बाटोमा छरपष्ट छरिएका हातेपर्चा देखेर स्कुलमा पढ्ने बालकले प्रश्न गर्छ । यी पेपरहरु किन बाटोमा फालिएको हो ? के यी पेपरहरु सित्तैमा आएका हुन् ? मलाई किताबको मलाई माया लाग्छ । त्यसैले पहिलेदेखिका पुस्तकहरु जतन गरेर राखेको छु । तर किन उनीहरुलाई यसको माया लाग्दैन । के यी पेपरहरु सित्तैमा आएका हुन् ? केही समयअघि भएको कांग्रेसको महाधिवेसनको समयमा बाटोभरि छरिएका पर्चाहरु देखेर उसले प्रश्न गरेको थियो । ऊ बुझ्दैन् राजनीति र यहाँका कार्यकर्ताको चन्दा उठाउने परिपाटी पनि । म चुपचाप उसलाई डोर्याएर आफ्नो बाटो लागें ।

हिजो मात्र एकजना काकाले विप्लबका कार्यकर्ताले चन्दा मागेर हैरान गरे भन्दै हुनुहुन्थ्यो । अस्ति भर्खर नयाँ अफिस खोलेको एउटा साथीले पनि कार्यकर्ताले चन्दा मागेर हैरान गरे भन्दै थियो । भर्खर युएसबाट ग्य्राजुएसन गरेर फर्किएको ऊ नेपाल आएको केही दिनमै दिक्क मान्दै थियो । यो नेपालमा केही गर्ने वातावरण छैन । ‘बेलैमा राजनीति गर्न जानिएन’ भन्दै दुखेसो पोख्दै थियो  ।
कसरी हुन्छ देशमा बिकास ? कहिले हुन्छ देशमा प्रगति ? कहिले मुक्त हुन्छ देश बन्द र हडतालबाट ? कहिले सुख पाउलान् नेपाली जनताले ? यी अनि यस्तै प्रश्नहरु च्याउ जस्तै उम्रिन्छन् मनमा ।  राजनीतिक दलका प्रमुखहरुको भाषणले मात्र सिंचाई गरेको नेपाली भूमिमा जन्मिदै गरेका विभिन्न राजनीतिक दलहरुको क्रियाकलापले नेपाली जनतालाई सास्ती दिएको छ । बढ्दो महंगी, भ्रष्टचार, बेरोजगारीलगायतका समस्याले मात्र नपुगेर समय समयमा आफ्ना अराजक गतिविधिबाट जनतालाई सास्ती दिँदै आईरहेका छन् विभिन्न दलका कार्यकर्ताहरु । यो बन्द हडताल अनि चन्दा उठाउने कार्य कहिलेसम्म ?
जनताको भलाईको निम्ति गरेको राजनीति भन्दै विभिन्न कम्पनी र कर्पोरेट हाउसमा सहयोगको अपेक्षा राखेर चिठ्ठी पठाउने कार्यकर्ताहरुले के साँच्चिकै देशको प्रगति चाहेका होलान् त ? नेपाली जनताले आफूलाई दुःख पर्दा सहयोगको अपेक्षा राखेर कसलाई लेख्ने पत्र ? बेलाबेलामा बिज्ञप्ति छपाएर सहयोगको अपेक्षा माग्ने संस्कारले जरो गाडेको छ नेपाली समाजमा ।
यस्तो लाग्छ कहिलेकाही म पनि आफ्नो पढाई र काम छोडेर पार्टोतिर लागौं । एउटा पत्र लेखेर पैसा आउँछ भने किन आफ्नो दिमाग र मेहेनत खर्चिएर आफ्नो समय वर्वाद गरुँ । दिनभर चौरमा चिया पिएर गफिने कार्यकर्ताको हुलमा मिसिएर समय समयमा जनताको पैसाले महाधिवेशन गरुँ । सबै नेपाली जनताहरुले यस्तै बाटो रोजे भने भोलिको नेपाल कस्तो होला ?