देख्नासाथ आहा ! कति राम्री ! भन्नेहरुलाई प्रेम होईन,उसको यौवनको खाँचो छ
काठमाडौंको शिल्पी थिएटरमा मञ्चन हुँदै गरेको नाटक माधवीको चर्चा पत्रपत्रिकादेखि अनलाईन मिडियामा चलिरहँदा मलाई पनि हेर्ने रहर जागेर आयो। फेसबुक र ट्यीटरमा साथीहरुले राखेको स्टाटसले नै मेरो मन लोभिसकेको थियो । त्यहींमाथि एक जना गुरुले तिमीले हेर्नै पर्ने नाटक छ भनेपछि त झन मन थाम्नै सकिनं।
बेलुकी ५ बजे थिएटरमा भिंड लाग्ने भएकोले माधवी हेर्न अलि असहज नै थियो । शनिबारको दिन २ पटक सो हुने भएकोले शनिबार मेरो रोजाईमा परेको थियो। अन्य नाटकहरु जस्तै सजिलै टिकट पाईन्छ होला भनेर अघिल्लो साता ढिला पुग्नाले मनको रहर जलाएर फर्किनु परेको पीडा मेट्ने धोको पूरा हुँदै थियो। माधवी नहेरी फर्किदा मन काँचो भूई कटरजस्तो टर्रो भएको थियो ।
यो साता भने अग्रिम टिकट बुक गरेर निर्धारित समयमा नै पुगेँ । अन्तिम दिन भएकाले भिंडभाड नै थियो। नाटक राम्रो भएकोले सुरुका केही दिनबाहेक यस्तै घुईचो छ भन्ने आवाज गुनगुनाएको थियो।
हातमा टिकट परेपछि लामो समयपछिको नाटक हेर्ने तिर्खा अनि भोक दुवै मेटिदै थियो । नेपाली साहित्यका पाठक मदनमणि दीक्षितको ‘माधवी’ उपन्यास मैले पढेकी भने थिइन्। पढ्दा कठिन हुन्छ भन्ने टिप्पडी धेरैको थियो।
जुन कुरा लेख्न सजिलो छ, त्यो व्यवहारमा लागू गर्न उस्तै कठिन छ। कसैलाई रीस उठेको समयमा मार्छु भन्नु र वास्तवमै मार्नुमा भिन्नता भएजस्तै नारीलाई सम्मान दिने कुरा गर्नु र दिनुमा भिन्नता भेट्छु म।
पौराणिक विषयवस्तुलाई लिएर नाटक मञ्चन गरिए पनि लैङगीक असामनताको खाडल अझैपनि समाजमा छ। सहर, गाउँ, बस्ती, चोक, गल्लि, समुदाय, अफिसलगायत सबै ठाउँमा नारी पुरुषकै सिमामा बाँधिएर बस्नु परेको छ। ययातिले आफू दानवीर कहलिनको लागि आफ्नै छोरी माधवीलाई दान दिदाँ मेरो मनमा प्रश्न उब्जियो। के ययातिले आफ्नो छोरा भएको भए दान दिन सक्थे होलान ?
सम्पतिको लागि आफ्ना सन्तान बेचेको खबर यदाकदा सुन्नमा आउँछ। प्राचीन कालमा दानसँग जोडिएको यो कथा आज आएर पैसासँग जोडिएको छ। गालबलाई गुरु दक्षिणा चढाउन आठ सय अश्वमेधी घोडा जुटाउने साधन बनेकी माधवीको भूमिकाले मेरो मन जित्यो। समग्र नारीको प्रतिनिधी पात्र बनेकी माधवीले सिङगो राष्ट्रको प्रतिनिधित्व गरेकी छिन्।
यौन र सौन्दर्यका भोगी पुरुषहरु केबल आफ्ना स्वार्थ पुर्तिकै लागि प्रेम गर्ने सत्यता पनि नाटकमा झुल्किएको छ। देख्नासाथ आहा! तिमी कति राम्री ! तिम्रो कपाल राम्रो ! ओठ राम्रो ! आँखा राम्रो भन्नेहरुलाई प्रेम होईन, उसको यौवनको खाँचो छ। गालबलाई आफ्नो गुरु दक्षिणा चुक्ता गर्नुछ। एकातिर मायारुपी भाव र सदभाव देखाउदँै आफ्नो स्वार्थको पछाडि ऊ दौडदैछ। पुरुषको स्वार्थ यहीबाट प्रष्ट हुन्छ।
कोमल हृदयको नारीमन अर्थात माधवीलाई आफ्ना बाबुले दान गरे। नचिनेको युवकसँग सम्बन्ध जोडेर गुरु दक्षिणा पुरा गर्ने साधन बनेकी माधवी विचरा ! बाँझो खेतमा हराभरा बनाउने आशामा लागेकी थिई। समाजमा सुन्दै आएको कथनसँग मिल्दो–जुल्दो लाग्यो। पुरुषहरुका हरेक आवश्यकतापुर्ति गर्ने तयार नारीको चित्रण छ, उसमा। बिहेपछिको नारीको जीवन। माधवीले एउटा पुरुषको सपना पुरा गर्न चार जनासँग सम्भोग गर्नुपर्याे। यही अवस्था सबै नारीमा नहोला तर हरेक टोल, गल्लि, चोक, समाज अनि परिवारमा दबिएर बस्न बाध्य नारीका पीडाकी प्रतिनिधि पात्र हुन्, माधवी। आफ्ना ईच्छालाई एकातिर बिट मारेर पुरुषकै खुशीको लागि आफू जल्न तयार छन्,नारीहरु हाम्रा समाजमा ।
सन्तान जम्माएर छोडनुपर्दाको पीडामा छटपटिएकी माधवी अनि गालबको धम्की । तिमी नारीहरु एउटा काममा अल्झिएपछि अर्काे काममा हात हाल्न सक्दैनौ र निर्णय लिन सक्दैनौभन्दा तिमी पुरुषहरु आफूले गरेको बाचा आफँै पुरा गर्ने सक्दैनौ भनेर चिच्याउन मन थियो।
तर म शान्त नाटक हलभित्र थिए। जसले आफ्नो गुरु दक्षिणा पुरा गर्ने एउटी नारीलाई साधन बनाएको छ, उसको कत्रो धम्की। यसरी दिनरात धम्की खेप्न बाध्य छन् नारी। आफ्नो शरीर पीडामा जलाएर जन्माएको सन्तान अनि सन्तान जन्माउँदा केही कर्तव्य निर्बाह गर्ने पुरुषको कठोर पुरुष हृदय।
छोराको आशामा राजगद्दिमा बसेका राजाहरु अनि छोरालाई सबैथोक थान्ने यो समाज । यदाकता समाजमा पनि छोरो नजन्मिएकाले अर्काे बिहे गर्ने चलन छ ।
यौनमा मायाको महल टड्याउने गालब र आफ्नो सपनाको पछाडि दौडिएकी माधवी । सँगै जिउने आशामा आतुर नारीको मन अनि यौनसग जोडिएको गालबको सोच । यो सोच गालबको मात्र होईन समग्र पुरुषहरुको हो जस्तो लाग्छ । किनकी हाम्रो समाजमा ३० वर्ष पुगेको युवकले बिहेको लागि १८ वर्षकी केटिको घर ताकेको हुन्छ ।
एउटा पुरुषले मन लाग्ने गरी जतिवटी युवतिसँग भोग गर्दापनि उ साधु , सन्त ठहरिन्छ तर नारी भने यौवन रित्तिएकी , छाला च्वाउरिएकी बुढि कहलिन्छे ।
मानिस स्वार्थो प्राणी हो । आफ्रनो स्वार्थपुर्तिकै लागि दनिरात दौडधुप गरिरहेको हुन्छ । अरुको बिचार, भावना र मनसँगको नाटक मानिसका चरित्रमा झुल्किने गर्छ । स्वत्रन्तत्रा खोज्दै मृत्युको मुखमा पुगेको गालबसँग जोडिन पुगेकी माधवी, नारी हो । हरेक पुरुषको सफलताको पछाडि नारीको हात हुन्छ भन्ने कुराको प्रमाण नाटकमा छ । नारी र पुरुष, समाजका दुई भिन्न पात्र हुन । दुवैविना सृष्टि असम्भव छ ।
विभेदबिचको खण्डन जतिनै गरेपनि अपुरै हुन्छ । समाजलाई अगाडि बढाउन दुवैसँगै मिलेर अगि बढ्न जरुरी छ । यौवन र सौन्दर्यसँग दाजेर नारीलाई साधन बनाउने सोच पनि बदल्न जरुरी छ ।
कमजोरी पुरुषमा मात्र होईन नारीमा पनि छ । सौन्दर्यमा भुलेर पुरुषको मन जित्न खोज्दा साधन बन्न पुग्छन् नारीहरु। केहिक्षणको आर्कशणमा रुमलिएर ठूला सपनाको महल ठडयाउँछन् । आफ्नी श्रिमतीसँग सन्तुष्ट हुन नसकेर तिर्खाएको कागलाई पानी पिलाउँछन् उनीहरु। एउटी नारीको जीवन जलाउने प्रयास अर्को नारीबाट नै हुने गर्छ।
समाज बदल्न दुवै मिलेर अगाडि बढन जरुरी छ । एकले अर्कोलाई दोसारोपण भन्दापनि दुवैले एकअर्कालाई सम्मान दिन जरुरी छ। आजको दुनियामा संसार अगाडि बढिसक्दा नारी पुरुषको असामनताको खाडलमा जमेर बस्नु समयको बर्बाद गर्नु हो जस्तो लाग्छ।