sabita sapkota. Powered by Blogger.
एसएलसी, र ‘साइन्स फोबिया’ !


सन्तान जन्मने बितिकै बाबा र आमाको मनमा आशाका टुसाहरु पलाउन थाल्छन् । छोरीभन्दा पनि छोरालाई बढि प्राथमिकता दिने हाम्रो समाजमा , बाबु तिमी ठूलो भएपछि पढेर डाक्टर बन्नुपर्छ भनेर सिकाइन्छ । सन्तानले कस्तो पढ्छ, उसको रुचि के हुन्छ भन्ने कुराको मध्यनजर धेरै अभिभावकले गर्दैनन्  । काचो माटोलाई जस्तो आकार दियो त्यस्तै बन्छ । बिचरा बालबालिका पनि त्यस्तै हुन । के थाहा उनीहरुलाई डाक्टर पढन कति कठिन छ । बनेपछि जागिर खान कति कठिन छ ।

बिशेषगरी धनी वर्गका सन्तान जसले बाबुआमाको पैसामा रबाफ देखाउछन् उनीहरुलाई बाध्यता छ डाक्टर पढ्न  । निम्न वर्गीय परिवारका सन्तान चाहादा चाहादै र तेजिलो दिमाग  हुँदाहुँदै  पनि पढ्न पाउंदैनन । गरिबीको रेखामुनि रहेका अभिभावकले पनि आफ्ना सन्तान डाक्टर बनेको हेर्ने चाहान्छन् होला । कसैले रहर हुदाँ हुदै पनि पढन नपाउने अवस्था छ भने कोहि करकापमा पढिरहेका छन् ।

केहि समयअघि  एकजना तराईमा घर भएका अङकललाई भेटेकी थिए । पोखरा बसेर डाक्टरी पढदै गरेको छोराको सुसार गर्नेका लागि आफ्नो ठाउँ छोडेर पोखरामा डेरा लिएर बसेका रहेछन् । एमबिबिएसमा धेरै ब्याक लाएपछि छोरोले राम्रोसंग पढेन भनेर उनी छोरासंगै बस्दै आएका रहेछन् । जति पैसा खर्च गरेर छोरालाई डाक्टर पढाएपनि बिहेमा सम्पति आइहाल्छ भन्ने कुरामा उनी बिस्वस्त छन् । तराईमा रहेको दाइजो प्रथा पनि तराई बासीका लागी डाक्टर पढनैपर्ने बाध्यता हुन सक्छ । समाजमा उपल्लो स्थरका थानिने डाक्टर, इन्जिनिएर पढाएपछि त्यहि अनुरुपको दाईजो पाईन्छ भन्ने मानसिकता रहेको पाइन्छ ।

एसएलसी पक्षात सबैको पहिलो प्रश्न हुन्थ्यो कुन बिषय पढेकी , साईन्स ? होइन भन्यो भने म्यानेजमेन्ट ? र अन्त्यमा भन्थे मानविकी र शिक्षा संकाय । दिउसोभर संचालन हुने बिज्ञान संकायका कलास र बिहानीमा केहि घण्टा मात्र संचालन गरिने अन्य संकाय । समाजले बुझेको उच्च स्थरको बिषय अनि तल्लो स्थरका थानिने संकायहरुबिचको विवेद मानिसको मानसपटलमा छ । एसएलसीपछि तयारी कक्षाका नाममा गरिने ब्रिज कोर्स जाने फेसननै चलेको छ । सन्तानको इच्छा बिपरीत करकापमा बिषय पढ्न लगाईन्छ ।

के बिज्ञान बिषय मात्र रोजगारको घर हो ? के बिज्ञान बिषयले मात्र ठूलो हो ? अभिभावकको इज्जत धान्नकका लागि डाक्टर , ईन्जिनियर र नर्स नै पढनुपर्ने हो ?  एसएलसीमा धेरै प्रतिशत आउंनेबित्तिकै  बिज्ञान बिषयनै पढनुपर्छ भन्ने धारणा छ । हुनत कलेजहरुमा पनि प्रतिशतकै आधारका बिद्यार्थी छनोट गर्ने गर्दछन् । के धेरै प्रतिशत ल्याएर उर्तिण हुनेले अरु बिषय पढनुहुदैन र ?

अहिले नक्कली प्रमाणपत्रका आधारमा बिभिन्न अस्पताल र क्लिनीकमा कार्यरत डाक्टरहरुलाई समातेको खबरले टोल, गल्ली अनि बजार तातेको छ । आफ्नो इज्जतको लागि जबरजस्ति डाक्टर पढाउन खोज्ने अभिभावकका लागि यो ठूलो प्रेरणाको स्रोत बन्न सक्छ । बिरामीले भगवान सम्झने डाक्टरले राम्रोसंग उपचार गर्ने सकेनन भने देश नै बिरामी हुन्छ । एउटा डाक्टरको लापरबाहीले हजारौको ज्यान जान सक्छ ।

भुकम्प र नाकाबन्दिले बिरामी परेको देशमा नक्कली डाक्टर थपिदा नेपाल आमालाई कति पीडा भयो होला ? देश र जनता दुवैको अवस्था नाजुक छ । आशा छ भोलिका दिनहरुमा नक्कली डाक्टर भेटिने छैनन । नेपाल आमाले फेरी पनि आसु झार्ने दिन आउने छैन ।